|

नुवाकोट : नुवाकोट साहित्यिक प्रतिष्ठानद्वारा नुवाकोटमा आयोजित कार्यक्रममा नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानका लागि हेटौँडाकी स्रष्टा अप्सरा तिम्सिनालाई ‘नारी स्रस्टा सम्मान, २०७३’ बाट सम्मानित गरिएको छ। सोही कार्यक्रममा तिम्सिनाको एकल कवितावाचन पनि गरिएको थियो।

नेपाली कांग्रेका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा स्रष्टा तिम्सिनालाई सम्मान गर्दै समाज परिवर्तनका लागि साहित्यको भूमिका अतुलनीय रहेको कुरा बताए। जीवनको अनुभूति र यथार्थसँग जोडिएर आउने कल्पनाको अभिलेख नै साहित्य हो भन्दै सांसद लामाले साहित्य चिन्तन र कलाको समष्टिगत अभिव्यक्ति रहेको धारणा राखे। उनले भने, ‘साहित्य जीवन र समाजका लागि हुने हुँदा साहित्यकारहरू गम्भीर हुनुपर्छ।’

सम्मानीत कवि तिम्सिनाले अस्वस्थ अभिभावक, सन्तान, भान्से, अभिलाषा, अमरप्रेम, म त भान्से, जीजिबिषा, जेब्राक्रस, छरिएका अस्थिपञ्जरहरू र आमाको शिशु कक्षामा गरी जम्मा १० थान कविता वाचन गरेकी थिइन्। 

वाचित कविताको समीक्षा तथा विश्लेषण समीक्षकद्वय शिवसुन्दर पुडासैनी र बद्रीवृन्द गजुरेलले गरेका थिए। कार्यक्रममा विशेष अतिथि साहित्यकार मुना अर्यालले साहित्यलाई कुनै बन्धनले नछेक्ने बताउँदै नेपाली साहित्यमा नारी स्रष्टा जुनकीरीझैँ बल्नुपर्ने धारणा राखिन्। नुवाकोट सहित्य प्रतिष्ठानका सभापति श्रीराम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न स्रष्टाले सम्मानित स्रष्टा तिम्सिनालाई बधाई र शुभकामना दिएका थिए। 

कार्यक्रममा सामुदायिक कल्याण केन्द्र नुवाकोटद्वारा भैरवी सेवा नुवाकोट सीप विकास प्रशिक्षण केन्द्र तथा कोसेली घरलाई एक थान कम्प्युटर र पुष्कर सुनार, विनीता बोगटी र विशाल खड्कालाई जनही नगद १५ सय रुपैयाँका दरले छात्रवृत्तिसमेत बितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.