'राजीनामा गर्नुहुन्छ भन्ने विश्वास छ'

|

संसदमा अविश्वास प्रस्तावमा पहिला छलफल गर्ने कि बजेट सम्बन्धी आश्रित विधेयकमा छलफल गर्ने भन्नेमा दलहरुबीच विवाद जारी रहेका बेला गतिरोध अन्त्यका लागि भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले 'प्याकेज प्रस्ताव' ल्याएका छन्। सभामुख र प्रमुख दलका शीर्ष नेता सहभागी बैठकमा नेता पौडेलले बजेट आश्रित विधेयक पारित गर्ने, अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजीनामा दिने, नयाँ प्रधानमन्त्रीको चुनाव गर्ने लगायत विषय समेटेर सहमतिको प्रस्ताव ल्याएपछि उनको प्रस्तावका बारेमा राजनीतिक वृत्तमा चर्चा चलेको छ। यसै सन्दर्भमा थाहाखबरका लागि माधव दुलालले नेता पौडेलसँग कुराकानी गरेका छन्। प्रस्तुत छ पौडेलसँगको कुराकानीः

दलहरुबीचको छलफलमा तपाईँले नयाँ प्रस्ताव पेश गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउन यस्तो प्रस्ताव गर्नुभएको हो?  

होइन। मैले सम्मानजनक निकास होस् भनेर यो प्रस्ताव गरेको हुँ। माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री बहुमतमबिनाको अवस्थामा हुनुहुन्छ। यो अवस्थामा एउटा सहज र सम्मानजनक निकास होस् भनेर मैले प्याकेजमा एउटा सहमति गरौँ भनेर प्रस्ताव ल्याएको हुँ। 

पहिला बजेट पारित गर्नुपर्ने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने कुन चाहिँ हो तपाईँको प्राथमिकता?

प्याकेजमा हो। सबै एकैचोटी गररेदेखि सबैको इज्जत रहन्छ। 

तर एक नम्बर बुँदामा, दुई नम्बर बुँदामा अघि बढ्ने भन्ने त हुनुपर्ला नि?

होइन, समझदारीबाट दलहरुले ल अब यो यो कुरा गर्ने भनेर सहमति भएपछि जुन बुँदा अगाडि गरे पनि केही फरक पर्दैन। तर मेरो भनाई के मात्रै हो भने अहिलेको अवस्थामा संविधान कार्यान्वयन गरेर देशलाई स्थायित्व दिनुपर्ने छ, एउटा व्यवस्था निश्चत गर्नुपर्ने देशमा। त्यसो भएकोले ठूला पार्टीहरुबीच ज्यादै 'बिटरनेश' पनि नबढोस्, परिवर्तन हुँदा पनि अलि सहज रुपमा होस् भनेर सत्ता परिवर्तनलाई सहज बनाउन मैले यो प्रस्ताव राखेको हुँ।

स्पष्ट भन्दिनुस् न पहिला अविश्वासको प्रस्ताव फिर्ता लिने तपाईँको प्रस्ताव हो कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने?

राजीनामा दिनुपर्ने भन्ने कुराको 'अन्डरस्ट्यान्डिङ' भएपछि अविश्वासको प्रस्ताव फिर्ता लिए भैहाल्यो नि। 

समझदारी होला भन्नेमा विश्वास छ तपाईँलाई? प्रधानमन्त्रीमाथि विश्वास छ तपाईँलाई?

उहाँले राजीनामा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। किनभने देशलाई निकास दिने र आफूलाई पनि सम्मानजनक बाटो खोज्नु उहाँको लागि बुद्धिमानी हो। उहाँले निकास दिनुहुन्छ भन्ने मलाई लाग्छ। 

अविश्वासको प्रस्ताव फिर्ता लिइसकेपछि राजीनामा दिनुभएन भने त सरकार ६ महिना टिक्यो नि होइन?

त्यस्तो पनि कहीँ हुन्छ? झुक्याएर जाने कुरा त गर्नुभएन नि। त्यो त पक्काक्की तरिकाले गर्नुपर्‍यो नि। 

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि पनि संविधानमा नयाँ सरकार बन्ने ठाउँ छैन भन्ने ब्याख्या गरेर प्रधानमन्त्री सरकारमै बसिरहनुभएको छ। राजीनामा दिनुभएको छैन त?

मलाई के लाग्छ भने उहाँहरुले सानातिना केही कुरालाई लिएर 'प्रेस्टिज इस्यु' बनाउनुभएको छ। 

के रहेछ त्यो 'प्रेस्टिज इस्यु'?

हामीले ल्याएको प्रस्ताव तिमीहरुले पास नगर्ने, तिमीहरुले भन्ने बित्तिकै राजीनामा किन दिने अथवा सरकार किन फेर्ने वा सदनको प्रक्रिया किन अघि बढाउने, पहिला हाम्रो प्रस्ताव पास गरौँ अनि सदनको प्रक्रिया अघि बढाउँ भनेर उहाँहरुले इज्जतको सबाल बनाउनु भएको छ। त्यसलाई एकैचोटी गरौँ भनेपछि इज्जतको सवाल पनि समाधान भैहाल्यो नि।

नयाँ सरकार बन्ने बाटो खुल्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ उसोभए?

बाटो खोल्न साथीहरुबीच कोसिस भैरहेको छ। 

त्यो प्रस्ताव तपाईँले त्यतिकै त लानु भएन होला। केही न केही संकेत पाएरै लानुभयो होला होइन? 

अलिअलि तर्क वितर्क भैरहेकै बेला थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो कि अविश्वासको प्रस्ताव नल्याएको भएदेखि त म राजीनामा गरिहाल्थेँ नि। तपाईँहरुले अविश्वासको प्रस्ताव ल्याउन किन हतार गर्नुभयो? म राजीनामा गरिहाल्थेँ भनेर भन्नुभयो उहाँले। उसोभए ठिक छ अविश्वासको प्रस्ताव फिर्ता लिउँ राजीनामा गर्नुस्, सम्मान हुन्छ भनेर मैले यो प्रस्ताव ल्याएको हुँ।

राजीनामा र अविश्वासको प्रस्ताव एकैचोटी हुन सक्छ त?

एकैचोटी गर्ने हो।

तर तपाईँहरुबीच समझदारी बन्यो भने मात्रै? 

हो। लिखित सहमति हुन्छ नि त।

पहिला भएका सहमति त कार्यान्वयन नभएको अवस्थामा सत्ता छोड्ने कुरा तत्काल कार्यान्वयन होला भन्ने लाग्छ तपाईँलाई?

लिखित हुनुपर्‍यो नि। लिखित र कानुनी रुपमा मिलाउनुपर्‍यो नि त। संवैधानिक प्रक्रिया मिलाउनुपर्‍यो। 

अब केपी शर्मा ओलीको सरकार हटेर नयाँ सरकार बन्ने बाटो खुल्छ भन्ने संकेत हो तपाईँको प्रस्ताव?

त्यो त हो नि त। पूरानै कुरा गरेर त कहाँ हुन्छ र?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.