|

पर्सा : सरकारको अव्यावहारिक नीतिले सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेर गएको छ। कोरोनाको कारण मात्र नभई नेपाल सरकारको अव्यावहारिक नीतिले पनि यहाँको होटल तथा पर्यटन क्षेत्रमा गरेको लगानी डुब्ने खतरा बढेर गएको हो।

‘पर्यटन फष्टाउनका लागि पर्यटकको आगमन प्रमुख कुरा हो। यसमा नेपाल सरकार उदासीन छ’ होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भने। विना परीक्षण सीमाबाट बग्रेल्ती मानिस आउजाउ भइरहँदा पर्यटकका सवालमा सरकार असहज वातावरण बनाउन उदत् हुनु राम्रो संकेत होइन उनले थपे। मुलुकको प्रमुख स्थलमार्ग भएर आउने पर्यटकका लागि सरकारले पर्यटक आकर्षक योजना ल्याउनु पर्ने होटल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्सेली सञ्‍चारकर्मीसँग अन्तरक्रिया गरी सुझाव दिएको छ। 

भारतीयका भरमा पर्यटन क्षेत्र

सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसाय छिमेकी पर्यटकका भरमा चलेको घामझैं छर्लंग छ। मुलुकको प्रमुख पर्यटकीयस्थल पोखरामा समेत पछिल्लो समयमा गोरा पर्यटक पुग्न छोडेपछि भारतीय पर्यटककै भरमा पोखराले पनि यो क्षेत्रलाई केन्द्रमा राखिसकेको छ।

पोखराका होटल तथा पर्यटन व्यवसायी पटक–पटक वीरगन्ज आएर ‘जाउँ है पोखरा’ भन्दै भारतीय पर्यटक लक्षित कार्यक्रम बढाउनु त्यसैको उदाहरण भएको संघको भनाइ छ। 

तथापि नेपाल सरकार भने पर्यटक छिर्छन् कि भनी उनीहरूको सवारीलाई मात्र सीमामा रोकिदिने नीति लिनु गलत भएको यो क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको तर्क छ।

सीमा नाकामा यात्रु र पर्यटकले पैदल हिँडेर सीमा कट्दा सबैलाई छुट छ। तर, पर्यटकका सवारी भने नेपाली भन्सारसम्म छिर्न नपाउँदा पर्यटक हच्केका छन्। मानिस भने जो कोही र जहाँबाट आएको भए पनि सीमा काट्न बन्देज छैन। त्यही भएर होटल तथा पर्यटन व्यवसायी संघ पर्साले यही मुद्दालाई लिएर प्रधानमन्त्रीसँग पनि भेट गर्ने तयारी गरिरहेको जनाएको छ। 

सवारीबाट कोरोना सर्दैन : अध्यक्ष पन्त

सवारीबाट कोरोना सर्ने त्रास हो भने पर्यटकका सवारी मात्र नभई अन्य मालवस्तु ओसारपसार गर्ने सवारीलाई पनि सीमा बन्देज गरिनु पर्ने अध्यक्ष पन्तले तर्क गरे। नेपाल आउने भनी भारतबाट नेपाली सीमासम्म आएका पर्यटकका सवारीका लागि कोरोनाको जोखिम ठानिएको छ।

‘त्यसो हो भने मालबस्तु ढुवानी गर्ने सबै सवारी सीमा वारीपारी गर्न रोक्नु पर्‍यो’ उनले भने। सुरक्षाको विशेष मापदण्ड बनाई त्यो मापदण्ड पूरा गरेर नेपाल आउने स्थलमार्गका पर्यटकलाई आफ्नो सवारीमा सीमावर्ती शहरसम्म साविकमाझैँ आउन दिनुपर्छ उनले सुझाव दिए।

‘भारतको विभिन्न ठाउँबाट आफ्नै सवारीमा आएका पर्यटकलाई उनीहरूका सवारी सीमा पारी नै छोडेर मानिस मात्र आऊ भन्दा त्यो व्यावहारिक पक्ष भएन’ संघले भन्यो। ‘कोरोना त मानिसबाट मानिसमा सर्ने विश्वव्यापी मान्यता छ। अनि पर्यटकका हल्का सवारीलाई भन्सारसम्म आउन नदिनु ठिक भएन’ पर्साका सञ्‍चारकर्मीहरूसँग होटल तथा पर्यटन व्यवसायीले एक स्वरमा भने।  

ठोस मापदण्ड बनाई अवसर दिऔं : संघ

ठोस मापदण्ड बनाई अन्य मानिससरह पर्यटकलाई सीमामा पाहुना सम्झेर व्यवहार गर्दा मुलुकको पर्यटन व्यवसाय पनि तग्रिन्छ। अनि उनीहरूले फर्केर गई आफ्नो ठाउँमा नेपालको गलत प्रचार नगर्दा थप पर्यटक नेपाल आउने सम्भावना रहन्छ उनीहरूले बताए।

सीमापारि नै जता पायो त्यतै आफ्नो सवारी छाडेर आउनुपर्ने बाध्यता भएपछि धेरै पर्यटक नेपाली सीमासम्म आएर पनि फर्केको उदाहरण अध्यक्ष पन्तले दाबी गरे।

भारतीय पर्यटक नेपाल आउन नपाउँदा सीमा क्षेत्रका होटल तथा व्यवसायको लगानी सबै डुब्ने सम्भावना बढेर गयो होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र थापाले भने। अरू केही दिन हेरेर यस्तै अवस्था भइरहे अब होटल नै बन्द गर्न बाध्य हुनुपर्ने दिन आइसक्यो उनले थपे। ६० प्रतिशत जनशक्ति कटौति भइसक्यो।

बैंकको ब्‍याज, बिजुली, पानी र होटलको भाडाले कतिपयले होटल बन्द गरिसके। सीनेमा हलसमेत खुल्न थालेको समयमा अब सीमा नाकाका पर्यटकका सवारीमा मात्र कडाइ गर्नु हुँदैन होटल तथा पर्यटन व्यवसायी संघले सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.