प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

बिस्केटमा रमाउँदै उपत्यकाका नेवार समुदाय
SHARES

चैत ३०, २०७३

    विक्रम संवत्अनुसारको नयाँ वर्षको स्वागतका लागि तयारी भइरहँदा काठमाडौं उपत्यका र वरपरका नेवार समुदायलाई बिस्केट जात्राको चटारो छ। भक्तपुर, थिमि (ठिमी), नगदेश, बोडे र काठमाडौंको टोखालगायत क्षेत्र अहिले बिस्केटको माहोलमा रमाइरहेको छ। यी क्षेत्रमा मात्र नभई नेवारी बस्ती रहेका नजिकका गाउँ सहरहरूलाई पनि बिस्केटको रन्को लागेको छ। 

    भक्तपुरबाहेक उपत्यकाका टोखा र उपत्यकाबाहिरका कतिपय स्थानमा पनि बिस्केट मनाउने चलन छ तर अन्य स्थानमा बिस्केटको त्यति रौनक देख्न पाइँदैन। थिमीका संस्कृतिकर्मी श्रीगोपाल प्रजापति भन्छन्, ‘अरू समुदायलाई दशैं, तिहारको जस्तै भक्तपुरका नेवार समुदायलाई बिस्केटको विशेष महत्त्व हुन्छ।’ उनका अनुसार परम्परागत घर भए कमेरो लगाउने, सफासुग्घर गर्ने, छोरीचेली बोलाउने, भोज खानेलगायत गरेर हर्ष र उल्लासका साथ बिस्केट जात्राको तयारी गरिन्छ।

    नेवारहरूको सम्पूर्ण चाडपर्व, जात्रा-मात्रा चान्द्रमानको पात्रोअनुसार चल्ने नेपाल संवत्अनुसार नै चल्ने गर्छन्। तर हरेक वर्ष चैतको अन्तिम र बैशाखका सुरुका दुई दिन मनाइने बिस्केट जात्रा भने सौर्य पात्रोअन्तर्गतको विक्रम संवत्अनुसार चल्छ। बिस्केट जात्रा ठाउँ हेरी तीन दिनदेखि नौ दिनसम्म मनाइन्छ। 

    भक्तपुरमा आठ दिन नौ रातसम्म चल्ने बिस्केट मध्यपुर थिमीमा भने तीन दिन मात्र मनाइन्छ। ‘बिस्केट पहिले-पहिले चैत मासान्त र बैशाख संक्रान्ति गरी दुई दिन मात्र मनाउने चलन थियो’, संस्कृतिविद् सत्यमोहन जोशी लेख्छन्, ‘पछि भैरव र भद्रकालीका रथयात्रा गाभी नौ दिनसम्म मनाउन थालिएको हो।’ विजय उत्सवको रूपमा मनाउने भए पनि भक्तपुर, थिमी, नगदेश र बोडेमा मनाइने बिस्केटका आफ्नै मौलिकता छन्। संस्कृतिकर्मी प्रजापति भन्छन्, ‘भक्तपुरका जात्राको आकर्षण रथ तानातान गर्ने, लिंगो ढाल्ने भएजस्तै थिमीको जात्रामा रथयात्रा र सिन्दूर जात्राको छुट्टै महत्त्व छ।’

    भक्तपुरको बिस्केटमा नव वर्षको चार दिनअघि टौमढीको न्यातपोल मन्दिरअगाडि राखिएको भैरवनाथको रथ तान्ने प्रक्रियासँगै जात्रा सुरु हुन्छ। वरिपरिका टोलका बासिन्दा र तलेजु नाइकेले भैरवको रथमा खड्ग लगेर विशेष पूजा गरेपछि भैरवको रथ तानातान सुरु हुन्छ। भक्तपुर सुकुलढोकाकी सरिना श्रेष्ठ भन्छिन्, ‘वर्षको अन्तिम दिन उठाइएको लिंगो अर्को वर्षको पहिलो दिन ढालिन्छ।’ उनका अनुसार बैशाख १ गते अपराह्न हुने रथ र लिंगो तानातानको दृश्य अाकर्षक हुन्छ। 

    चैतको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो र साँझपख योसिँखेल (भेलुँखेल) मा बाजागाजासहित विधि विधानले पूजा गरी ५५ हाते लामो लिङ्गो उभ्याइन्छ। बिस्केट जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्षको पहिलो दिन बैशाख १ गते लिंगो ढालिन्छ। अष्टमातृकाको प्रतीक मानिने लिंगोमा नाग-नागिनीको प्रतीक स्वरुप ‘हलिंपत’ ध्वजा बाँधेर फहराइन्छ। त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथ जुधाउने परम्परा रहिआएको छ।

    भक्तपुरमा जात्रामा हुलदंगा हुने र ज्यानै जानसक्ने घटना हुने गरे पनि थिमीमा मनाइने जात्रा भने शान्तिपूर्ण हुने गरेको छ। चैतको अन्तिम दिन सुरु हुने जात्रा बैशाखको २ गतेसम्म चल्छ। चैत मासान्तका दिन बिहान र बैशाख १ गते बेलुकी स्थानीय देवीदेवताका मन्दिरमा सामान्य जात्रा चल्छ। ‘विभिन्न देवीदेवतालाई यात्रा गराउने मुख्य दिन बैशाख २ गते नै हो’, स्थानीय पत्रकार प्रदीप श्रेष्ठ भन्छन्। उनका अनुसार बालकुमारीमा जात्रा गर्न पहिले-पहिले ३२ देवीदेवताका खट ल्याउने चलन थियो। थिमी भेगका सबै देवीदेवतालाई खटमा राखी प्रमुख शक्तिपीठ बालकुमारीमा परिक्रमा गराउने चलन छ। 

    यो दिन थिमी भेगका सर्वसाधारण अरू सबै काम छोडेर जात्रामा सहभागी हुन्छन्। काँय, भूस्या, धिमे आदि नेवारी मौलिक बाजाको धूनसँगै आकर्षक बत्तीको ज्योति, देवताका खट र कलात्मक छाता घुमाउँदै विशाल जनसमुदाय सिन्दूर खेल्दै जात्रामा सरिक हुन्छ।

    थिमीमै बैशाख १ गते हुने सिद्धिकालीको जात्रा पनि यहाँका स्थानीयका लागि कम महत्त्वपूर्ण छैन। मध्यपुर नगरकै नगदेशमा पनि बिस्केट जात्राको छुट्टै रौनक हुन्छ। आफ्नो क्षेत्रमा रहेका विभिन्न देवीदेवताको रथयात्रा गर्दै नगदेशका बासिन्दा पनि आफ्नै किसिमले बिस्केटमा रमाइरहेका हुन्छन्। २ गतेको जात्रामा पहिले-पहिले यहाँबाट पनि रथ बालकुमारीमा लैजाने चलन थियो।

    बोडेमा मनाइने बिस्केटको शैली छुट्टै किसिमको छ। थिमीमा जस्तै चैत मासान्तमा महालक्ष्मीको मन्दिरअगाडि लिंगो ठड्याएर जात्रा सुरु हुन्छ। यहाँको मुख्य आकर्षण भनेको जिब्रो छेडाउने कार्य हो। थिमीमा सिन्दूर जात्रा सकिएपछि बोडेमा जिब्रो छेड्ने सुरुसार हुन्छ। स्थानीय पाचो गणेशको प्रांगणमा जिब्रो छेडाउने गर्दछन् । यससँगै महादीप बोकेर स्थानीय मन्दिरको परिक्रमा गर्ने चलन छ। परिक्रमापछि जिब्रो छेडिएको सियो झिकी महालक्ष्मी मन्दिरको उत्तरपट्टिको पाटीमा ठोक्ने गरिन्छ।

    आठ वर्षपछि यो पटक बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेड्दै छन्। यसअघि चार पटक जिब्रो छेडिसकेका उनी भन्छन्, ‘जिब्रो छेडाउँदा गर्नुपर्ने भोजभतेरलगायतका काम खर्चिला छन्। संस्कृति संरक्षणका लागि गर्नैपर्छ।’ संस्कृति संरक्षणका लागि सरकार सधैँ उदासीन रहने गरेको उनी बताउँछन्।

    काठमाडौंको टोखामा पनि मनाइन्छ, बिस्केट जात्रा। स्थानीय देवीदेवता सपनतीर्थ, चण्डेश्वरी, पिगन्द्यलगायतको रथयात्रा, सिन्दूर जात्रा गरी यहाँ बिस्केट मनाउने चलन छ। यहाँ बैशाख ३ गते मनाइने पाँच खटको जात्रा विशेष महत्त्वको हुन्छ। यहाँको जात्राको विशेष आकर्षण सपनतीर्थ त्रिवेणीको स्नान हो। यहाँ स्नान गर्नाले ठूलो पुण्य मिल्ने विश्वास गरिन्छ। भक्तपुर, थिमीलगायतका स्थानमा देखाइने बिस्केटलाई सञ्चार माध्यमले विशेष स्थान दिए पनि आफूहरूको जात्रालाई ओझेलमा पारेको टोखाका बासिन्दा गुनासो गर्छन्।

    जात्रा हुने स्थानैपिच्छे बिस्केटबारे छुट्टाछुटै किंवदन्ती चलेको पाइन्छ। भक्तपुरमा चल्ने जात्राका विषयमा राजकुमारी र उनको नाकबाट सर्प निस्केर युवकहरूको मृत्यु हुने कथा जोडिएको छ। यता थिमी क्षेत्रमा मनाइने जात्रामा भने गुरु शेखर आचाजुको कथा जोडिएको पाइन्छ। विश्वकेतु ध्वजा फहराएर गरिने जात्रा भएकाले बिस्केट रहेको पनि कति संस्कृतिकर्मीहरू बताउँछन्। संस्कृतिविद् ओम धौभडेलका अनुसार बिस्केटजात्रा लिच्छवीकालमा सुरु भएको हो। उनका अनुसार 'विश्वयात्रा'को नाममा सुरु भएको संस्कृति अपभ्रंश हुँदै 'बिस्केट जात्रा'मा परिणत भएको हो।

    dhitalramprsad@gmailcom

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]