|

याँ वर्षको सन्दर्भमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। म एउटी राजनीतिक कार्यकर्ता हुँ। राजनीतिक कार्यकर्ताको हिसाबले मसँग राजनीतिक सपनाहरू नै छन्।

हामीले लामो समयको मिहिनेत र निकै दुःख गरेर संविधान बनाएका छौं। लामो संघर्ष गरेर गणतन्त्र ल्याएका छौं। त्यसलाई दिगो र संस्थागत बनाउनका लागि हामीले यस संविधानको सफल र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ।

संविधान कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ भित्र तीन तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ। ती निर्वाचनमध्ये अागामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्दै छौँ। दुई दशकदेखि हुन नसकेको स्थानीय सरकारको निर्वाचन गर्दै छौं।

यही वर्षभित्रै हामीले प्रादेशिक तह र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्नुपर्छ। एक वर्षभित्र हामीले यी तीनैवटा निर्वाचन कुशलतापूर्वक सम्पन्न गर्न सक्यौँ भने यो संविधान कार्यान्वयन हुन्छ। संविधान कार्यान्वयन भएमा हामी सबैका लागि निकै ठूलो उपलब्धि हुनेछ। हामी सबैको चाहना पनि यही हो।

म नेकपा एमालेको केन्द्रीय सदस्य पनि भएकाले स्थानीय तहको निर्वाचनसँगै तीनै तहको निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउन सफल भयो भने नेकपा एमालेले जुन हिसाबले यो मुलुकको नेतृत्व गरिरहेको छ र गर्ने सपना देखेको छ, त्यसलाई अझ धेरै सहयोग पुग्न सक्छ भन्ने लाग्छ।

हामीले अब देशलाई समृद्ध बनाउनुपर्छ भनेका छौं। स्वाभिमानी हिसाबले राष्ट्र निर्माण गर्नुपर्छ भन्‍ने हिसाबले जुन कुरा गरेका छौं हामीले, त्यसलाई कार्यान्वन गर्न सकिन्छ भन्‍ने लाग्छ। यो राजनीतिक हिसाबले नेकपा एमालेको कार्यकर्ताको हिसाबले मेराे एउटा चाहना हो।

हामी सबै नेपालीले देखेको सपनाको समुच्च रूप यो संविधान र यसको सफल कार्यान्वयन हो। देश कस्तो हुनुपर्ला? यसको शासकीय स्वरूप कस्तो हुनुपर्ला ? यसको राज्यसत्ता कस्तो हुनुपर्ला? समावेशीका हिसाबले यो मुलुक कस्तो हुनुपर्ला? यो सम्पूर्ण सन्दर्भमा अब मुलुक कुन बाटोमा हिँड्नुपर्ला भन्‍ने सन्दर्भमा हामीले संविधानमा नै केही प्रावधान बनाएका छौं। यो संविधान सम्पूर्ण नेपालीको एउटा समुच्च उपलब्धि पनि हो। 

हामीले देशलाई संघीयतामा लगेका छौं। देशलाई संघीयतामा लाने सन्दर्भमा कतिपय बाधा, अवरोध, डर, त्रासहरू पनि छन्। यो संघीय व्यवस्था कुशलतापूर्वक अगाडि बढ्न सक्छ कि सक्दैन? नेपाली धर्तीमा यो व्यवस्था प्रभावकारी हुन सक्छ कि सक्दैन? संघीयता किन भन्दाखेरि जनताले विकासका लागि, समृद्धिका लागि, सेवा सुविधा सजिलो होस् भन्नका लागि भनेर जुन हिसाबले हामीले मुलुकलाई संघीयतामा लगेका छौं, त्यसमा उचित हिसाबले यसलाई सफल बनाउने कुराले नै देशलाई राम्रो बनाउँछ भन्‍ने मलाई लाग्छ। 

संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ। तीन तहको सरकारमार्फत् जनता र सरकार नजिक होऊन्, सेवा सुविधा सहज रूपमा प्राप्त होऊन्, राज्य नजिक होस् भन्‍ने जुन सपना छ, त्यो जनताले प्राप्त गर्न सक्नुपर्छ।

तीनै तहले यी अधिकारहरूलाई अभ्यास गर्न सक्ने हैसियत आफूले निर्माण गर्न सके भने त्यो अधिकारले निर्माण गर्ने देश नै हाम्रो सपनाको देश हुनेछ।

स्थानीय तहको निर्वाचनका लागि जुन स‌ंरचना छ, यो स‌ंरचना हेर्दाखेरि समाज यस्तो देखियोस् भन्ने देखिन्छ। स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य भनेका छौं। यो हाम्रो लामो समयदेखिको सपना हो।

अब महिलाहरू भोटर मात्र रहेनन्। अब महिलालाई भोट बैंकको रूपमा मात्र हेरेर भएन। महिलाहरूलाई संविधानले नै स्वीकार गरिसक्यो। अब पार्टीहरूले पनि त्यसैअनुसार ल्याउनुपर्‍यो भन्‍ने कुरा आउनुपर्‍यो नि! 

यो व्यवस्थालाई स्थायी बनाउने हो भने अब राजनीतिक परिवर्तनले मात्रै होइन, राजनीतिक परिवर्तन सँगसँगै सामाजिक, आर्थिक, सांस्कृतिक जति पनि परिवर्तनहरू भनेका छौं, त्यो पनि जनताले देख्ने र बुझ्नेगरी सँगसँगै हामी हिँड्न सक्नुपर्छ। 

यसको सङ्केत भनेको अब समाजमा महिला र पुरुष सँगसँगै होऊन् भन्ने हो। हरेक क्षेत्रमा महिला र पुरुष सँगसँगै देखाउन खोजेको हो। राजनीति पुरुषको मात्र होइन, महिलाको पनि हो भन्ने सन्देश पनि हो यो। घरभित्रको संसार पनि महिला र पुरुषको, घरबाहिरको संसार पनि महिला र पुरुषको भन्न खोजेको हो। 

त्यसपछि स्थानीय तहको प्रत्येक वडामा एक जना दलित महिला अनिवार्य भन्‍ने व्यवस्था गरेका छौं। यसले पनि हामीले खोजेको समाज कस्तो हुने? देश कस्तो हुने भन्‍ने सन्देश दिन्छ। समाजमा आजसम्म जो मूलधारमा आउन सकेनन्, जो मूलधारमा आउन नसकेर छुटेका छन्, ती पनि सँगसँगै हिँड्नुपर्छ है मुलुकमा भन्न खोजेको हो। अबको मुलुकमा कोही मान्छे सुविधाका ठूल्ठूला राजमार्गहरूमा दौडिरहने र कोही मान्छेले गोरेटो पनि नभेट्ने भन्ने हुँदैन। 

मुलुकका हरेक मान्छे सँगसँगै। हरेक मान्छे जताततै। हरेक मान्छे राज्यका सबै अंगमा भन्ने कुरा जसरी संविधानले परिकल्पना गर्‍यो, त्यो हिसाबले अबको मुलुक पनि अगाडि बढ्नुपर्छ। 

अर्को महत्त्वपूर्ण विषय भनेको नेकपा एमालेलगायत अन्य दलहरूको स्वीकारोक्ति के हो त भन्दा राजनीतिक परिवर्तनका हिसाबले हामीले मुलुकलाई राजतन्त्रबाट गणतन्त्रमा ल्यायौँ। ००७ सालमा प्रजातन्त्र प्राप्त गर्‍यौं, २०१७ सालमा खोसियो। फेरि ३० वर्षसम्म पञ्चायती व्यवस्था रह्यो। हामीले लडेर २०४६ सालमा प्रजातन्त्र पुन: प्राप्त गर्‍यौं। फेरि त्यो व्यवस्था पनि हामीले टिकाउन सकेनौं।

अब हामीले राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रमा पुगेका छौं। यो व्यवस्थालाई स्थायी बनाउने हो भने अब राजनीतिक परिवर्तनले मात्रै होइन, राजनीतिक परिवर्तन सँगसँगै सामाजिक, आर्थिक, सांस्कृतिक जति पनि परिवर्तनहरू भनेका छौं, त्यो पनि जनताले देख्ने र बुझ्नेगरी सँगसँगै हामी हिँड्न सक्नुपर्छ। 

अब विकास काठमाडौंमा मात्रै होइन, विकास विकेन्द्रित हुनुपर्छ। विकेन्द्रित भनेको प्रत्येक प्रदेशमा कलेज, हस्पिटल, यातायात, सिँचाइ, जस्ता अाधारभूत कुराहरू हुनुपर्छ। शहरकेन्द्रित र राजधानीकेन्द्रित विकासलाई गाउँवस्तीसम्म पुर्‍याउनुपर्छ भन्ने हो।

ठूल्ठूला राष्ट्रिय योजनाहरूको कार्यक्रम आएको छ। यसलाई कार्यान्वयन गर्न सकियो भने हामीले आज जतिसुकै घनघोर बादल जस्तो देखे पनि थोरै मात्रै मिहिनेत गर्नेबित्तिकै त्यहाँ चाँदीको घेरा भेटिहाल्छौं।

त्यसकारण कम्तिमा हामीले यो वर्ष ठूला राष्ट्रिय योजनाहरू, सुरुआत गरेका आयोजनाहरू केही मात्रामै मात्रै पूरा गर्ने हो भने पनि धेरै परिवर्तन हुनसक्छ। जस्तो: अपर तामाकोसी यो वर्ष पूरा गर्ने हो भने भोलिका दिनमा लोडसेडिङ अन्त्य हुनेछ। अहिले लोडसेडिङ अन्त्य भयो भनेका छौं, तर हामीले भारतसँग बिजुली किनेको भएर न अन्त्य भएको छ अहिले। हामीले आफूले उत्पादन गरेर त भएको छैन। महङ्गोमा बिजुली किनेका छौं। यो एक वर्षभित्र अपर तामाकोसी सम्पन्न हुने हो भने हामी कसैसँग नकिनेरै आफैँ आत्मनिर्भर हुन सक्छौं। 

२/४ वटा मात्रै हाइड्रोपावर बनाउने हो भने हामी बिजुली बेच्न थाल्छौं। त्यो बाटोमा हामी धेरै अगाडि छौै। ठूला राष्ट्रिय आयोजनाहरू छन्। मध्यपहाडी लोकमार्ग छ, फास्ट ट्र्याक छ, सिँचाइका योजनाहरू छन्। यी कुरालाई कार्यान्वयन गर्न सक्ने हो भने हामीले देख्दादेख्दै धेरै कुरा परिवर्तन गर्न सक्छौं।

राजनीतिक स्थिरताको बीजारोपण तीनै तहको निर्वाचन सम्पन्न भएपछि मात्र हुनेछ।निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचनपछि बनेको एउटा सरकार पाँच वर्ष टिक्ने स्थितिको बन्यो भने नेपालमा विकास, समृद्धिको ठूलो योजनाको सुरुआत हुनेछ। 

नेकपा एमालेले वैधानिक हिसाबले महिलालाई कार्यकर्ताको रूपमा मात्रै होइन, नेताकै रूपमा विकास गर्नुपर्छ भनिरहेको छ। अहिले नै एमालेका तलका कमिटीदेखि केन्द्रीय कमिटीसम्म पदाधिकारीमा महिलाको राम्रै उपस्थिति छ। अहिले राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमाले उपाध्यक्ष हुनुहुन्थ्यो। 

एमाले पनि यही समाजको उत्पादन हो। यो समाजमा जेजे विषयहरू भेटिन्छन्, नेकपा एमालेभित्र पनि ती सबै विषय भेटिन्छन्। तर एमालेभित्र महिलाहरूलाई विशेष हिसाबले योजनावद्ध हिसाबले नेतृत्वमा विकास गरेर लैजानुपर्छ है भन्‍ने खालको सचेत पहलकदमी भने छ।

देशैभर एमालेका महिलाहरू कतिपय जिल्लाको नेतृत्व तहमा पनि हुनुहुन्छ। क्रमशः नेतृत्वको तहमा आउँदै पनि हुनुहुन्छ। थुप्रै संख्यामा गाउँपालिका, नगपालिकाको प्रमुख भएर आउने सम्भावना पनि देखिन्छ।

भर्खरै स्ववियुको निर्वाचन सम्पन्न भएको छ। २५ प्रतिशत कलेजमा मात्रै निर्वाचन सम्पन्न हुँदा पनि अनेरास्ववियुले सभापतिको उम्मेदवार बनाएर १४/१५ महिलालाई जिताउन सफल भएको छ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा देशैभर एमाले पहिलो शक्ति थियो। त्यो बेला एकै पटक देशैभरबाट एमालेका २० हजार महिला निर्वाचित भएका थिए। आज पनि त्यतिबेला एमालेबाट जितेका महिलाहरूको क्रियाशीलता जारी छ। समाजमा राजनीतिबाहेक अन्य संस्था छन्, ती सबैमा नेतृत्व गरिरहेका महिलाहरू कुनै न कुनै रूपमा एमालेसँग जोडिनुहुन्छ। त्यो सबै हिसाबले हेर्दा यसपटक पनि एमालेले महिलाहरूलाई प्राथमिकताका साथ निर्वाचित गरेर ल्याउँछ भन्ने लाग्छ।

२१औं शताब्दीमा आएर हाम्रो देशले महिलाहरूलाई कार्यकारी हिसाबले राजनीतिक तहमा प्रतिनिधित्व गराउँदै छ। अहिले महिलाहरूको सुरक्षा, चेतना, महिलाप्रतिको सम्मानको हिसाबले हाम्रो समाज धेरै अगाडि छ। यो हाम्रा लागि सकारात्मक कुरा हो।

नेपालको राजनीतिमा युवाहरू कहिल्यै पनि प्रयोग मात्रै भएका छैनन्। युवाहरू प्रयोग मात्र भए भन्‍ने कुरासँग भने मेरो असहमति छ। असहमति किन भन्दा, जस्तो: अनेरास्ववियुले जहिले पनि पार्टीलाई एजेण्डा सेटिङसम्ममा पनि सहयोग गरेको छ। पञ्चायतविरुद्धको आन्दोलन संयुक्त हुनुपर्छ, एक्लाएक्लै सकिँदैन भनेर विद्यार्थीहरू पहिले एक ठाउँमा आएर लडे। त्यसपछि दलहरू आएर लडे अनि पञ्चायतको अन्त्य भयो। त्यसकारण कहिले पनि युवाहरू प्रयोग मात्र भएका छन् भन्‍ने बुझ्नुहुँदैन। हामीले त देशलाई कहाँ लैजाने भनेर डोर्‍याएका छौं र पार्टीहरू समेत हाम्रो कुराप्रति सकारात्मक छन्। 

कतिपय आफूलाई योग्य ठान्ने युवाहरू राजनीतिबाट टाढा बसेर राजनीतिलाई गाली गरेपछि आफ्नो दायित्व पूरा भयो भन्‍ने पनि छन्। उनीहरूप्रति भने मेरो गुनासो छ। त्यो पङ्क्तिलाई राजनीति नै समाजको मूल नीति हो भन्‍ने कुरा कति थाहा छ? 

२१औं शताब्दीमा आएर हाम्रो देशले महिलाहरूलाई कार्यकारी हिसाबले राजनीतिक तहमा प्रतिनिधित्व गराउँदै छ। अहिले महिलाहरूको सुरक्षा, चेतना, महिलाप्रतिको सम्मानको हिसाबले हाम्रो समाज धेरै अगाडि छ। यो हाम्रा लागि सकारात्मक कुरा हो।

अहिले जसरी समावेशीका कुराहरू आइरहेका छन्, यसलाई सबैले हार्दिकताका साथ स्वीकारिरहेको अवस्था छ। 

संविधानले यति धेरै समावेशी नेपालको कल्पना गर्‍यो। नयाँ-नयाँ कुरालाई हामीले कति चाँडै ग्रहण गर्छौं। मुलुकलाई संघीयतामा लैजाने कुरालाई हामीले कति चाँडै ग्रहण गर्‍यौं। नेपाली समाज धेरै कुरा भएको समाज छ। यसलाई कसरी उपयोग गर्ने भन्ने कुरामा आज हामीसँग क्षमता छ। हामीभन्दा नेताहरू अयोग्य भए भन्‍ने ठान्नेहरूले नयाँ-नयाँ कुराहरू ल्याएर पार्टीहरूलाई 'फिडब्याक' दिनुपर्छ र राजनीतिलाई हस्तक्षेप गर्नुपर्छ। 

हाम्रो काम गर्ने शैलीको कुरा गर्दा एउटा त हामी काम कम गर्छौं। हामीसँग श्रमबजार छैन। अर्को कुरा, हामीसँग कामलाई सम्मान गर्ने संस्कृति छैन। हामी कामलाई सानो र ठूलो भन्छौं। जस्तो: अमेरिकामा राष्ट्रपति हुने मान्छेले कुनै निश्चित दिन राष्ट्रपतिको क्याम्पेनिङको बेला उसले जुत्ता पोलिस गर्छ। किन भन्दा काम सानो वा ठूलो हुँदैन भन्ने कुराको म्यासेज दिन हो नि! हामीले सुधार गर्नुपर्ने सबैभन्दा पहिले सानो होस् वा ठूलो होस कामलाई सम्मान गर्न सिक्नुपर्छ। 

पढिसकेपछि शारीरिक हिसाबले श्रम गर्नुपर्‍यो भने हामीले आफूलाई सानो भएको ठान्छौं। अफिसमा एक जना प्रमुख हुन्छ। आफूले खाने चिया पकाएर खान सक्दैन। आफू बस्ने कुर्सी उसले सफा गर्न सक्दैन। आफू बसेको कोठा उसले सफा गर्दैन। 

विकसित देशबाट हामीले सिक्ने भनेको आफ्नो काम आफैँ गर्ने र कामको सम्मान गर्ने हो। कामलाई सानो ठूलो नभन्ने। यो कुरा नसिक्ने हो भने हामीले विकास गर्न सक्दैनौं। 

विदेशबाट फर्किएका दाजुभाइ दिदीबहिनी भेट्दा त्यहाँ गर्नेजति दुःख गर्ने हो भने त यहीँ बनिन्थ्यो होला भन्नुहुन्छ। त्यहाँ त यति धेरै कामलाई महत्त्व दिइन्छ कि उनीहरूले यत्तिकै त पैसा दिँदैनन् नि! त्यसकारण मिहिनेतपूर्वक दिलदेखि काम गर्ने कुरा र कामप्रति समर्पित हुने कुराको ठूलो महत्त्व हुन्छ। 

हामीसँग श्रमबजार छ कि छैन? मान्छेलाई हामी श्रमबजारमा पठाउन सक्छौं कि सक्दैनौं? म बिहान क्याम्पसमा क्लास लिन्छु। क्लास लिइसकेपछि बचेको मेरो तीन घण्टा काम गरेको पैसाले मेरो पकेट खर्च चलाउँछु भनेर मैले सोचेँ भने मेरो लागि त्यो श्रमबजार त्यति सजिलो छैन। हामीले त्यो बजार भेट्दैनौं। श्रमबजारको निर्माण गर्ने र श्रमबजारको निर्माणका लागि पनि श्रमलाई व्यवस्थित गर्ने कार्य राज्यले गर्नुपर्छ।

हामी कामको सम्मान गर्दैनौं। हाम्रो अध्ययनले श्रमप्रति सम्मान गर्नुपर्ने बनाउनुपर्ने हो। तर हामी त पढेपछि हलो जोत्न, भाँडा माझ्न अप्ठ्यारो मान्ने गर्छों। यी कुरालाई सुधार्नुपर्छ। 

खासगरी हामी के राजनीतिक काम, के व्यक्तिगत काम, छुट्याएर कसरी समयको व्यस्थापन गर्ने भन्‍ने नै छैन। समाज जस्तो छ, हामी पनि त्यस्तै छौं। 

म अहिले नेपाल ल क्याम्पसबाट स्नातकोत्तर गर्दै छु। यो वर्षभित्र मेरो स्नातकोत्तर पूरा हुन्छ। थेसिसमा म मेहनत गरिरहेकी छु। राम्रो थेसिस लेखौं भन्‍ने छ। त्यो म यस वर्ष पूरा गर्छु। 

राजनीतिक हिसाबले आफ्नो जिम्मेवारी जे छ, त्यसलाई म राम्रोसँग सम्पन्न गर्छु। यसबीचमा तीनै तहका निर्वाचन सम्पन्न हुँदै छन्। उस्तै परिस्थिति भयो भने निर्वाचनमा आफैँ पनि उम्मेदवार बन्न सकिन्छ भन्‍ने गरी हाम्रो पुस्ता तयार हुनुपर्छ। किनभने अब हाम्रो पुस्ता त्यो दाबी गर्ने ठाउँमा पुगेको छ। पारिवारिक कुरा अन्य कुराहरू त सकेसम्म राम्रो गर्ने भन्‍ने नै हो। यसबीचमा स्वास्थ्यलाई अलि बढी ध्यान दिनुपर्छ भन्‍ने लागेको छ।

प्रस्तुति: देविका घर्तीमगर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.