|

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चुनाव चिह्न नदिने भए वर्तमान संसद विघटन गरेर संसदको निर्वाचन गराउन माग गरेका छन्।

२९ गते बसेको चुनाव चिह्न नपाउने दलहरुको बैठकका निर्णय सार्वजनिक कार्यक्रममा भट्टराईले पुरानो जनमतका आधारमा आफू राष्ट्रिय पार्टी भएको दावी गर्ने भए संसद विघटन गरेर तत्काल निर्वाचन गराउन माग गरेका हुन्।

'निर्वाचनमा नै भाग लिन नदिने भन्ने कहीँबाट मिल्दैन। उहाँहरु पुरानो संविधान सभा निर्वाचनको दुहाइ दिइराख्नुभएको छ त्यो त नयाँ निर्वाचनले पो कुन दल राष्ट्रिय अराष्ट्रिय अथवा सानो दल भन्ने छुट्याउँछ', भट्टराईले भने, 'उनीहरुलाई आँट छ भने यो संसद विघटन गरुन् र अर्को संसदीय निर्वाचन गराउन्। त्यसपछि हामी हेर्छौं।'

लोकतान्त्रिक देशमा निर्वाचनमा भाग लिनबाट बञ्चित गर्न नहुने भट्टराईको भनाइ थियो। चुनाव चिह्न नदिए आन्दोलन जारी राख्ने भन्दै भट्टराईले भने, 'पुरानो गइसकेको म्यान्डेटको जगमा टेकेर लोकतन्त्रमाथि कुल्चने र अरुको अधिकार हनन गर्ने जुन दुष्कर्म भइराख्या छ यसको प्रतिवाद हामी गर्छौं र अन्तिम सम्म गर्छौं।'

सरकारले दलहरुलाई चुनाव चिह्न दिन नचाहेको आरोप भट्टराईले लगाएका छन्। 'चाह्यो भने अहिले अध्यादेश लिएर भोली नै सच्याउन सक्छ। तर १७ गतेदेखि हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौं', उनले भने, 'आन्दोलनमा पनि गयौं तर उनले सुन्नै चाहेका छैनन्। नियोजित ढंगले नै देश अलोकतान्त्रिक दिशातिर गइरहेको छ।'

त्यस्तै भट्टराईले ठूला तीन दल सत्ताको भागबण्डामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। उनले भने, 'ठूला दलले माघ ८ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको कामलाई अघि बढाउन चाहेका छैनन्।'

स्थानीय तहको निर्वाचनका लागि चुनाव चिह्न नपाएका ६८ दलले केन्द्रीय र स्थनीय तहका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। जसमा रिले अनशन, विरोध सभा, साँस्कृतिक कार्यक्रम, विभिन्न सरकारी कार्यालय घेराउ गर्ने र निर्वाचन कार्यतालिकामा अवरोध पुर्‍याउने रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.