|

लहान : स्वतन्त्र मधेस गठबन्धनका सीके राउतलाई सिरहा जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। इलाका प्रहरी कार्यालय लहानले राज्य विरुद्धको संगठित अपराध अन्तर्गत चैत २१ गतेदेखि जिल्ला अदालतमा मुद्दा राउत विरुद्ध मुद्दा चलाएको छ।

राउतको बयानसँगै दुवै पक्षका कानुन व्यवसायीहरुको थुनछेक बहसपछि अदालतले बिहीबार धरौटी माग गरेको जिल्ला अदालतका रजिष्ट्रार विनोद खतिवडाले जानकारी दिए।

सिरहा जिल्ला अदालतका न्यायधीश ध्रुवप्रसाद सापकोटाको इजलाशले राउतको बयान, थुनछेक बहसपछि अदालतले राउतसँग १० हजार रुपैयाँ धरौटी माग्नुका साथै उनको रिहाईको मागसहित सिरहा र लहानबाट पक्राउ गरी मुद्दा चलाइएका अन्य नौ जनासँग भने जनही पाँच पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ।

रजिष्ट्रार खतिवडाका अनुसार सिरहा र लहानबाट पक्राउ गरिएका आठ जना विरुद्ध पनि राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दा चलाइएको छ। अदालतले सिरहा को मिर्चैया नगरपालिका ३ का रुपेश साह, सिरहा नगरपालिका ७ का विपिन यादव, सनहैठा गा.वि.स.१ राजकुमार यादव, मझौरा ९ रामशंकर यादव, सनहैठा ४ का सुरेशप्रसाद यादव, ३ का रोशनकुमार यादव र संजय यादव तथा इँटाटार २ का अशोक कुमार यादव, औरही गाउँपालिका इँटाटार घर भएका सिकेन्द्र यादवसँग जनही पाँच-पाँच हजार रुपैयाँ माग गरेको हो। उनीहरु विरुद्ध पनि प्रहरीले राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दा चलाएको छ।

धनुषाको जनकपुरमा पक्राउ गरी सिरहा ल्याएर पहिलो पटक गत माघ २१ गते राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा अदालत उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि पहिलो पटक अदालतले १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो।

त्यसपछि दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन, चौथो पटक फागुन २२ गते २० दिन र अन्तिम तथा पाँचौं पटक चैत ११ गते १० दिनको म्याद थपेको थियो। त्यसपछि चैत २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो।

राउतलाई रुपन्देही लगिंदै

सिरहा जिल्ला अदालतले राउतलाई धरौटमिा रिहा गर्ने आदेश दिनु पहिले नै ‘केही विषयमा अनुसन्धान गर्नुछ’ भन्दै रुपन्देही प्रहरीले सिरहा प्रहरीलाई सीके  राउतलाई बुझाउन आग्रहसहित पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय सिरहा का डिएसपी विश्वमणि पोखरेलले बताए।

राउत सिरहा जिल्ला अदालतले माग गरेको धरौटी बुझाएर रिहा भएपछि पुनः पक्राउ गरी रुपन्देही पठाउने तयारी भइरहेको छ। राउत विरुद्ध गत फागुन ५ गते नै रुपन्देहीमा राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दर्ता भएको थियो।

अदालतको कार्यालय समय समाप्त हुन केही मिनेट बाँकी रहँदा उनका समर्थक राजेन्द्र भन्ने व्यक्तिले राउतसहित नौ जनाको ५५ हजार रुपैयाँ धरौटी बुझाएपनि राउतलाई अदालतबाट बाहिर निकालिएको छैन।

सिरहा को हेमनारायण चोक, इमली चोक, जिल्ला अदालत अगाडिको सडकमा जम्मा भएका राउत समर्थकहरुले अवरोध गर्न सक्ने देखिएपछि सशस्त्र र नेपाल प्रहरी तैनाथी बढाइएको छ। उनका समर्थकलाई तितरबितर गरेर साँझसम्म राउतलाई बाहिर लैजाने तयारी अन्तर्गत प्रहरीले उनका समर्थकहरुको निगरानी गरिरहेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.