|

काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन बिथोल्ने षडयन्त्र सुरु भएको बताएका छन्।

थाहाखबरसँग कुरा गर्दै सिटौलाले निर्वाचन मिति सार्ने वा हुन नदिने षडयन्त्र सुरु भएको बताए। ‘यो वा त्यो बहानामा निर्वाचन हुन सक्दैन भन्ने निष्कर्ष निकालिन खोजिदैछ’, थाहाखरसँग कुरा गर्दै नेता सिटौलाले भने ‘निर्वाचन नगर्ने दबाबले वर्तमान सत्ता समिकरण भत्कने र संविधान कार्यान्वनय नहुने दुवै खतरा देखियो।’

उनले २०६२-६३ को  जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि निर्वाचन आवश्यक रहेको बताए। निर्वाचन नभए संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा उनले गरे। ‘निर्वाचन नगर्ने अवस्थामा सरकार गए कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने साथीहरुले सरकारमा बस्ने वा नबस्ने भनेर निर्णय गर्ने बेला आएको छ।’

नेपाली कांग्रेसका शीर्ष नेताहरु भने यतिबेला क्षेत्रीय आमसभा तथा देश-दौडाहामा व्यस्त छन्। कांग्रेसले ७ नम्बर प्रदेशको अत्तरियामा चैत २७ गते, ५ नम्बर प्रदेशको तुलसीपुरमा चैत २८ गते, ५ नम्बर प्रदेशकै र भैरहवामा चैत २९ गते तथा पोखरामा चैत ३० गते आमसभा गरेको थियो। 

पार्टीका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, नेता सिटौलासहित देश दौडाहामा व्यस्त छन्।

कांग्रेस नेताहरु देश-दौडाहामा व्यस्त रहेका बेला सरकारले संसदमा संविधान संशोधनको विधेयक दर्ता गराएपछि वातावरण बिग्रिएको एक नेताले बताएका छन्। 

सरकारले साढे पाँच महिनाअघि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गरी नयाँ संशोधन विधेयक बुधबार संसद सचिवालयमा दर्ता गरेको थियो।

दोश्रो पटक सचिवालयमा पेश गरेको विधेयकप्रति मधेसी मोर्चाले कडा आपत्ति प्रकट गरेको छ। मोर्चाले निर्वाचनमा भाग नलिने सार्वजनिक घोषणा गरिसकेको छ।  

दुई नम्बर प्रदेशका नेता र सांसदले दबाब दिने

कांग्रेसका २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद् र जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई मधेस समस्याका विषयमा ध्यानाकर्षण गराउने भएका छन्।

सभापति देउवासँग २ नम्बर प्रदेशका नेता र सांसदले बिहीबार पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम राखेका थिए। तर, पार्टी सभापति देउवा पोखराबाट जहाज आउन ढिलाइ भएको भन्दै सो अन्तरक्रियामा सहभागी भएनन्।

त्यसैले शनिबार बिहान अन्तरक्रिया गरिने कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले थाहाखबरलाई बताए। उनले तराइ-मधेसको समस्या समाधान गर्न पार्टी नेतृत्वले सहमति, सहकार्य र एकताको बाटोलाई अवलम्बन गर्नु पर्ने बताए।

राजनीतिक दलबीच देखिएको विश्वासको संकटलाई अन्त्य गर्न सबै राजनीतिक दल राज्यपक्ष पनि जिम्मेवार हुनुपर्ने भन्दै उनले निकासको लागि पार्टी सभापतिसँग पहल गर्न लागेको बताए।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको पक्षमा माहोल बनाउन भनेर वैशाख ३ गते दुई नम्बर प्रदेशको जनकपुरमा आमसभा गर्ने घोषणा गरेको छ। 

जनकपुरमा आजै आमसभा गर्ने पार्टीको पूर्व निर्धारित योजना दुई नम्बर प्रदेशका नेता र सांसदको दबाबमा वैशाख ३ गतेलाई सारिएको थियो। कांग्रेसले झापामा पाँच गते आमसभा गर्ने निर्णय सार्वजनिक गरिसकेको छ भने ६ नम्बर प्रदेश र चार नम्बर प्रदेशमा आमसभास्थल तोक्न बाँकी छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.