|

काठमाडौं : संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शुक्रबारको बैठकमा सत्तारुढ नेकपा एमालेसँग सहमति नभए संसद खोलेर बहुमतीय ढंगबाट अगाडि बढ्ने तयारी गरेका छन्। 

शुक्रबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले बिहीबार राखेको प्याकेज प्रस्तावमा छलफल गर्ने र सहमति नभए संसद्को कार्यसूचि अनुसार बैठक अघि बढाउन सभामुखलाई आग्रह गर्ने कांग्रेस–माओवादीले तयारी गरेका हुन्। संसदको कार्यसूचिमा अहिले सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने रहेको छ। 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस नेता पौडेलले अघि सारेको प्रस्तावमा एमालेले छलफल गर्न सकिने जनाएकाले शुक्रबार १२ बजे सो प्रस्तावमाथि सहमतिको प्रयास गरिने बताइन्। ‘पौडेलजीको प्रस्तावमा एमालेले छलफल गर्न सकिने संकेत दिएको छ, आज १२ बजे छलफल हुन्छ, आजको छलफलमा पनि सहमति नभएमा माओवादी केन्द्र बहुमतीय ढंगबाट अघि बढ्छ’ थाहा खबरसँग भुसालले भनिन्।

उनले शुक्रबार दिउँसो २ बजेबाट संसद बैठक नसर्ने दावी समेत गरिन्। माओवादी–कांग्रेसले बहुमतीय ढंगबाट सदन सुचारु गर्न सभामुखलाई आग्रह गरिने प्रवक्ता भुसालको भनाई छ। 

त्यसैगरी कांग्रेस नेता बालकृष्ण खाँणले शुक्रबार बस्ने शीर्ष दलको बैठकमा सहमति नजुटेको खण्डमा बहुमतीय ढंगबाट अघि बढ्ने स्पष्ट पारे। ‘शुक्रबार १२ बजे बस्ने तीन दलको बैठकमा सहमति नभएमा संसदको कार्यसूचि अनुसार संसद बैठक अघि बढ्छ’ कांग्रेस नेता खाँणले थाहाखबरसँग भने। 

अविश्वासको प्रस्तावलाई संसदको कार्यसूचि अनुसार अघि बढाउन सरकारसँग सहमति खोज्ने नाममा माओवादी–कांग्रेसले शुक्रबारदेखि नपर्खने उनको भनाई छ। 

पौडेलले पहिले बजेट आश्रित विधेयक पारित गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने, नयाँ प्रधानमन्त्रीको चुनाव गर्ने, मिल्न सक्नेजति दलहरुले सरकार बनाउने र संविधान कार्यान्वयन गर्ने प्याकेज प्रस्ताव गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.