१)
फुलेर लालीगुराँस बनै ढाकियोस्
चम्केर चन्द्र-सूर्य इज्जत राखियोस्
आयो है आयो नयाँ वर्ष पोहोरझैँ
यस वर्ष शान्ति पनि सँगै डाकियोस्।
२)
सुखद क्षण सम्हाल्न पनि बेरै भैसकेछ
जीवनको घाम टाउकोनेरै भैसकेछ
सम्झनुपर्ने नि कति हो कति जीवनमा!
यसरी नहाँसेको नि धेरै भैसकेछ।
३)
कोइली सम्झिएर दैलोमा काग राख्दा लाजैमर्नु भो
देश ब्यूँझाउन शहीदको रगतको दाग राख्दा लाजैमर्नु भो
अति भयो, देश र परदेशको अर्थ थाहा नहुने कुलङ्घारले
आफ्नै देशमा, देश खारेजीको माग राख्दा लाजैमर्नु भो।
४)
आकाशले सबै काला अनि सेता बादल धोएको छ
कोही मरिमरी हाँसेको त कोही बेस्सरी रोएको छ
यो उज्यालोले पक्कै परिवर्तन ल्याउने छ जीवनमा
आज आनन्दले सागर र सागरले क्षितिज छोएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।