|

लहान : नेपाल पत्रकार महासंघको जिल्ला शाखामा अवैधानिक हस्तक्षेप बन्द गरी विधानसम्मत रुपले अधिवेशनको मागसहित महासंघको केन्द्रीय कार्यालयमा पछिल्ल्लो चार दिनदेखि धर्नामा बस्दै आएका सप्तरीका पत्रकारहरुको अविलम्ब माग सम्बोधन गर्न जिल्लाका पत्रकारहरुले शनिबार दिउँसो सदरमुकाम राजविराजमा र्‍याली निकालेका छन्।

महासंघको सप्तरी शाखाका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, पूर्वजिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य शम्भुकुमार झा, अनीलकुमार अनलको नेतृत्वमा राजविराज १ स्थित जिल्ला शाखा परिसरबाट निस्किएको र्‍यालीले बजार परिक्रमा गरेको थियो। र्‍यालीमा जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो।

को को छन् धर्नामा

महासंघको सप्तरी शाखाको तीन वर्षअघि सम्पन्न आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रकाश खतिवडाको कार्यशैलीको पहिलो वर्षदेखि नै जिल्लाका बहुमत पत्रकारहरुले विरोध गर्न थालेपछि जिल्लामा विवाद बढेको हो। अध्यक्ष खतिवडासँग बहुमत पत्रकारहरुको तीक्तता यतिसम्म बढ्यो कि, सक्रिय पत्रकारहरुकै सदस्यता नवीकरण सिफारिससमेत रोकेर आफ्नो वरिपरिका ४० जनालाई एकलौटी ढङ्गले नयाँ सदस्यता सिफारिस रोकेपछि जिल्लाका पत्रकारहरु महासंघको केन्द्रीय कार्यालयमा धर्ना बस्न बाध्य भएको कार्यबाहक अध्यक्ष श्रवण देवले बताए।

धर्नामा कार्यबाहक अध्यक्ष देवसहित जिल्ला सहसचिव सुधा देव, कार्यसमिति सदस्य राजकुमार पासवान, बृजमान तामाङ, चन्दन यादव, भूषण सिंह, पूर्वजिल्ला अध्यक्ष व्यासशंकर उपाध्याय, वैद्यनाथ यादव, अवधेशकुमार झा, जितेन्द्र खड्गा, जितेन्द्र झा ‘जितु’ सहित १६ जना बसेका छन् ।

के हो विवाद

कार्यबाहक अध्यक्ष देवले विधानअनुरुप जिल्ला शाखाले गरेका कामकाज अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब जिल्ला शाखाको अधिवेशन गराउनुपर्ने र रोक्का गरिएका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग गरेका छन्। शाखा अध्यक्ष खतिवडामाथि जिल्लाका बहुमत पत्रकारहरुले आर्थिक अनियमितताको आरोपसहित छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको भए पनि सुनुवाइ नभएपछि जिल्ला शाखाको राजविराज १ स्थित कार्यालयको मूल गेटमा तालबन्दी गरिएको थियो।

त्यसपछि शाखाका आठ जना पूर्वअध्यक्षहरु संलग्न रहेको छानबिन टोली गठन गरी  सुझावसहित दिएको निर्देशन पालना गर्न अध्यक्ष खतिवडाले प्रतिबद्धतासमेत जनाएका थिए तर, पुनः निर्देशन उल्लङ्न गर्न थालेपछि जिल्लाका बहुमत पत्रकारहरुले उनीमाथि अविश्वासको प्रस्ताव पारित गर्दै विशेष साधारणसभामार्फत शाखा उपाध्यक्ष श्रवणकुमार देवलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी तोकेको थियो।

त्यसअघि, महासंघ सप्तरी शाखाका पूर्वजिल्ला अध्यक्षहरुले शाखाको विवाद समाधान नगरी यथास्थितिमा गरिने अधिवेशन गर्दा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी केन्द्रीय समितिले लिनुपर्ने चेतावनी दिएका थिए। सप्तरी शाखाका निवर्तमान अध्यक्ष धीरेन्द्रप्रसाद साहसहित पूर्वअध्यक्षहरु शिवहरिप्रसाद भट्टराई, विष्णुकुमार मण्डल, वैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा र व्यासशंकर उपाध्यायले चैत २७ गत विज्ञप्ति जारी गर्दै जिल्ला शाखाको अधिवेशन गर्नुपूर्व विवादको समाधान गर्न माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.