|

लुम्बिनी : हिन्दू धर्मको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले भैरहवामा संस्कृति रक्षा दौड गरिएको छ। हिन्दू स्वयंसेवक सङ्घ नेपाल भैरहवाले विगत पाँच वर्षदेखि आयोजना गर्दै आएकोे संस्कृति रक्षा दौडलाई यसपटक पनि निरन्तरता दिएको हो।

नयाँ वर्ष २०७४ को स्वागतार्थ आयोजना गरिएको रक्षा दौड राष्ट्र, राष्ट्रियता र सांस्कृतिक स्वाभिमान रक्षाका लागि आयोजना गरिएको हिन्दू स्वयंसेवक सङ्घले जनाएको छ। 

भैरहवाको लुम्बिनी रोडस्थित लुम्बिनी गेटबाट सुरु भएको दौड बुद्ध चोक, मिलन चोक, आँखा अस्पताल, बैंक रोड, नारायणपथ हुँदै पाँच किलोमिटर दूरी पार गर्दै पुनः सोही स्थानमा आएर सम्पन्न भएको थियो।

 दौड कार्यक्रमको उद्घाटन गर्दै हिन्दू स्वयंसेवक सङ्घका राष्ट्रिय प्रचारक बेदप्रकाश उपाध्यायले धर्म संस्कृति रक्षाका लागि युवा अगाडि बढ्नुपर्ने बताए। संस्कृति जोगाउन र विक्रम संवत्को महत्व दर्शाउन दौड आयोजना गरिएको उनले बताए।

सयौँ युवा स्वयंसेवक सहभागी भएको सो दौडमा अजय कुर्मी प्रथम, सत्येन्द्र यादव द्वितीय र मोहम्मद रफिक तृतीय भएका थिए। उनीहरुले क्रमशः रु ११ हजार, रु ७ हजार एक सय र रु ५ हजार एक सय पुरस्कार प्राप्त गरे। कार्यक्रममा भर्खरै नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति एसोसिएट सदस्यमा निर्वाचित भएका सिद्धार्थ ग्रुपका सञ्चालक राजेश अग्रवाललाई सम्मान गरियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.