|

काठमाडौं : संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा केन्द्र सरकारले स्थानीय चुनाव गर्न खोज्नु नै गलत भएकाले आफूहरुले विरोध गरेको बताए।

आइतबार संघीय गठबन्धन र मधेसी मोर्चाको आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय चुनाव प्रदेश सरकारले गर्नुपर्ने भन्दै केन्द्र सरकारले गर्न नहुने दावी गरे। 'संविधान नै गलत बनाइएको छ। स्थानीय चुनाव केन्द्र सरकारले गर्ने होइन। प्रदेश सरकाले गर्नुपर्ने काम केन्द्र सरकारले गर्न खोजेको छ' उनले भने 'त्यसैले पहिला केन्द्रीय संसदको चुनाव गर्ने। त्यसपछि प्रदेशको चुनाव गर्ने, त्यसपछिमात्रै प्रदेशले स्थानीय तह चाहिन्छ कि चाहिँदैन भन्ने निर्क्योल गर्छ र चुनाव गर्छ।'

यादवले संविधानले स्थानीय तहलाई बढी अधिकार दिएकोमा पनि विरोध जनाए। स्थानीय तहको चुनावको विरोधमा आफूहरु लाठी जुलुस लिएर जाने यादवले बताए। 'अहिले टाउकोले हिँड्न खोजेको सरकारलाई खुट्टाले हिँड भन्न खोजेको हो' उनले भने।

स्थानीय निर्वाचनमा सेना परिचालन भयो भने सैह्य नहुने यादवले चेनावनी दिए। 'त्यसको जवाफ जनताले दिनेछन्। कुनै पनि लोकतान्त्रिक देशमा चुनाव सेना परिचालन गरेर हुँदैन।' विगतमा राजाले प्रत्यक्ष शासन गर्दा पनि चुनावमा सेना परिचालन नभएको भन्दै उनले गणतन्त्रमा झन् सेना परिचालन हुन नसक्ने बताए।  

संविधान संशोधन विधेयकको किन विरोध?

नेता यादवले सरकारले आफूहरुसँगको छलफलमा भन्दा बेग्लै संशोधन विधेयक ल्याएकाले मान्य नभएको बताए। 'सरकारले वार्तामा हामीसँग एउटा कुरा गर्‍यो, तर दर्ता गर्ने बेलामा अर्कै दर्ता गर्‍यो' उनले भने 'कांग्रेसले मानेन एमालेले मानेन भनेर भनिरहेका छन्।'

यादवले अघिल्लो संविधानसभाको राज्य पुनर्संरचना आयोगले दिएको म्यान्डेट अनुसार प्रदेश विभाजन गर्नुपर्ने माग गरे। 'हामीले ७ प्रदेश मानेका छैनौं र यो संविधान पनि मानेका छैनौं। संविधानमा हामीलाई स्वीकार्य हुने केही विषय त राखिएका छन्। तर संविधान मानेका छैनौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.