|

चितवन : चितवनको सौराहाका सागर गिरी, जो वाइल्डलाइफ फोटोग्राफीमा अब्बल छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले उनलाई नेपालका हरेक निकुञ्जमा वन्यजन्तुका तस्बिर लिनका लागि अनुमति दिएको छ। करिब २ वर्षदेखि उनी नेपालका निकुञ्ज र आरक्ष चहार्दै हिँडेका छन्। 
बाघको खोजीमा धेरै पटक जंगलमा भोकभोकै बसेका उदाहरण छन् उनीसँग। भन्छन्, ‘अझै चित्त बुझ्दो फोटो लिनै पाएको छैन।’ 

हुन त उनले खिचेका तस्बिरहरु दुर्लभ खालका छन्। बाघ, गैंडा, चरा, चित्तल, मृग, भालु, निलगाइलगायत वन्यजन्तुका विभिन्न कोणका फोटा छन्। बर्दियामा त उनले जुद्धै गरेको बाघको तस्बिर लिएका छन्। उनीसँग प्रेमिल चराका तस्बिर छन् भने वन्यजन्तुका मिटिङका तस्बिर झन् आकर्षक देखिन्छन्। संरक्षणकर्मी डोमा पौडेल सागरले खिचेका वन्यजन्तुका तस्बिर हेर्दा आनन्द लाग्ने प्रतिक्रिया दिन्छिन्।
उड्दै गरेका चराका आकर्षक तस्बिरले मन तान्छ। खेल्दै गरेका मयुर, डुल्दै गरेका गैंडाले मनै दंग पार्छ। उनका लागि एउटा गाडी छ, जुन गाडी निकुञ्जमा घुम्न पाउँछ। नेपालकै लागि थोरैले प्रयोग गर्ने अत्याधुनिक क्यामेरा छ उनीसँग। उनका बुबा टीका गिरी चरा विज्ञ हुन्। सौराहामा पर्यटन व्यवसाय पनि छ उनको। ‘फुर्सदको समय पर्यटन क्षेत्रमा हुन्छु, नत्र धेरै जसो वाइलाइफ फोटामै दिन बित्छ सागरले भने मलाई यसैमा आनन्द छ।’
उनले संरक्षणमा चेतना फैल्याउँदै फोटोको पनि महत्व छ भनेर दर्शाउन आफूले प्रयास थालेको बताए। वन्यजन्तु सप्ताहको अवसरमा उनका फोटाहरु सौराहामा प्रदर्शन गरियो। प्रदर्शनमा आएका धेरैले फोटो किनेर लगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.