|

इलाम : अधिकार प्राप्त स्थानीय तहको नेतृत्व चयन गर्न वैशाख ३१ गते निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिंदै जाँदा दलहरुले उम्मेदवार छान्न आन्तरिक तयारी तीब्र पारेका छन्। नेताहरु नेतृत्वका लागि आकांक्षा राख्दै उम्मेदवार बन्न दलभित्र लविङ गरिरहेका छन्।

स्थानीय निकाय नेतृत्वविहीन भएको १९ वर्षपछि हुन लागेको निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरु कसरतमा छन्। कतिपय आकांक्षी भने टिकटका लागि प्रयत्नशील छन्।

इलाम सदरमुकाम रहेको इलाम नगरपालिकाको चुनावमा उम्मेदवार  आकांक्षीहरुको संख्या उल्लेख्य छ। ४८ हजार ५ सय ३६ जनसंख्या रहेको इलाम नगरपालिकामा ३१ हजार ८८ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद काफलेले बताए।

पुनर्संरचनापछि इलाम नगरपालिकामा गोदक, सोयाक, बरबोटे, सुम्बेक, पुवामझुवा, साखेजुङ गाविसका सवै वडा तथा माइपोखरी, साङरुम्बा र सिद्धिथुम्का केही वडाहरु पनि समेटिएको छ। यसको क्षेत्रफल १७३.३२ वर्गकिलोमिटर रहेको छ।

कांग्रेसबाट जिल्ला सभापतिकै चर्चा

इलाम क्षेत्र नम्बर ३ मा पर्ने इलाम नगरपालिकामा नेपाली कांग्रेसबाट दोश्रो संविधानसभामा केशव थापाले निर्वाचित भएका थिए। यस अर्थमा पनि इलाम नगरपालिकालाई नेपाली कांग्रेसको पकड क्षेत्रको रुपमा आंकलन गरिएको छ। नगरपालिका प्रमुखमा कांग्रेसबाट जिल्ला सभापति हिमालय कर्मचार्यको नाम चर्चामा छ। कर्माचार्य दोश्रो संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग पराजित भएका थिए।

कर्माचार्यसँगै महासमिति सदस्य केदार थापा, विष्णु लिम्बु दाहाल, पार्टी सचिव खगेन्द्र देवानको पनि चर्चा छ। पूर्व जिल्ला सचिव राजेन्द्र शर्माले पनि नगर प्रमुखमा दावी गरेका छन्। नेपाली कांग्रेसका सभापति कर्माचार्यले लामो समयपछि स्थानीय तहको निर्वाचन भएकाले पनि आकांक्षीहरु बढी भएको बताए। ‘उम्मेदवार छान्ने प्रक्रिया क्षेत्रीय स्तरसम्म पुगेका छौं। एक साताभित्र सबै उम्मेदवारको छिनोफानो लाग्ने छ। औपचारिक नाम घोषणा भएको छैन’ उनले भने।    

एमालेबाट पूर्व मेयरको चर्चा

नेकपा एमालेबाट इलाम नगरपालिका प्रमुखमा जिल्ला सचिव एवं पूर्व नगर प्रमुख महेश बस्नेतको नाम चर्चामा छ। २०५४ सालको स्थानीय चुनावमा निर्वाचित भएका बस्नेतजस्तै सचिवालय सदस्य कृष्ण श्रेष्ठ, जिल्ला कमिटी सदस्य धिरेन चेम्जोङ, गणेश राईले पनि त्यसै पदमा आकांक्षा राखेका छन्।

नेकपा एमालेका सचिव महेश बस्नेतले औपचारिक रुपमा उम्मेदवारको विषयमा कुरा नभएको बताए। अनुमानका भरमा मात्रै कसैले नाम चर्चामा ल्याएको उनको टिप्पणी छ। ‘यो प्रक्रियामा पार्टीले कुनै काम थालेको छैन’ सचिव बस्नेतले भने ‘बाहिर अनौपचारिक रुपमा मात्र नाम चर्चामा आएका हुनसक्छ।’

माओवादी केन्द्रबाट नगर इन्चार्जको सम्भावना

नेकपा माओवादी केन्द्रबाट नगर इन्चार्ज प्रभास शर्माले नगर प्रमुखमा दावी गरेका छ्न्। त्यस्तै जिल्ला सह–इन्चार्ज टीका घिमिरे, कार्यालय सचिव जीवन शर्मा समेत आकांक्षी रहेको छन्। माओवादी केन्द्र इलाम नगर कमिटीले शनिबार प्रभास शर्मालाई नगर प्रमुखमा प्रस्ताव गरेर जिल्ला कमिटीमा पठाएको छ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज धिरेन शर्माले उम्मेदवारको आकांक्षी  बढिरहेकाले वैशाख ३ गते जिल्ला सचिवालको बैठक बसेर उम्मेदवारको टुङ्गो लगाइने बताएका छन्।

राप्रपा लगायत अन्य दलको उम्मेदवारको विषयमा धेरै चर्चा भएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष हरि श्रेष्ठले बैशाख ४ गते जिल्ला समितिको बैठक बसेर नगर प्रमुखको उम्मेदवार चयन गर्ने बताए। श्रेष्ठले भने ‘अहिले हामी चुनावी गृहकार्यमा लागेका छौं। ४ गते बैठक बसेर उम्मेदवारको विषयमा निश्कर्ष निस्कनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.