|

हङकङ : ‘याहु इङ्क.’ले चुनौतीपूर्ण स्थिति भएको भन्दै चीनमा आफ्ना सबै सेवा बन्द गरेको जनाएको छ।​

याहुले भनेको छ, ‘नयाँ कानुनका कारण चीनमा काम गर्न निकै चुनौतीपूर्ण भएकाले हाम्रा सबै सेवा १ नोभेम्बरदेखि चीनको मुख्य भूमिमा बन्द गरेका छौँ।’

याहुका कैयौँ सेवा चीनको ‘डिजिटल सेन्सरशिप’द्वारा यसअघि नै बन्द गरिएको छ।

चीन सरकारले घरेलु ठूला कम्पनीसहित सूचनाप्रविधि सम्बन्धी कैयौँ कम्पनीलाई नियन्त्रण गर्न थालेको छ। यसकै दबावका कारण याहुले यस्तो निर्णय लिएको बताइएको छ।

उपयोगकर्ता (युजर) को अधिकार र स्वतन्त्र एवं स्वतन्त्र इन्टरनेट सेवाका लागि प्रतिबद्ध भएको बताउँदै कम्पनीले यस्तो अवस्थामा सेवा दिन नसकिने जनाएको हो।

चीनले आफ्नो देशमा सञ्चालित कम्पनीले राजनीतिक रूपमा संवेदनशील वा अनुपयुक्त सामग्री एवं शब्दमा रोक लगाउन माग गर्छ।

अमेरिका र चीन सरकारबीच सूचनाप्रविधि तथा व्यापारका लागि विवाद भइरहेका वेला याहुले यस्तो कदम उठाएको हो।

चीनमा निजी सूचना संरक्षण कानुन लागू भएपछि याहुले यस्तो निर्णय गरेको हो।

उक्त कानुनले चिनियाँ अधिकारीले मागेका वेला चीनमा काम गर्ने कम्पनीले आफ्ना तोकिएका सबै तथ्याङ्क बुझाउनुपर्छ।

यसबाट पश्चिमी देशका कम्पनीलाई चीनमा काम गर्न कठिन भएको छ। भनेको नमाने चीनले कम्पनी नै बन्द गरिदिन्छ‚ चीनको माग पूरा गरे उनीहरूका देशमा दबाव सहनुपर्छ।

यसै विषयलाई लिएर याहुले सन् २००७ मा अमेरिकी सांसदहरूको कडा आलोचना खेप्नुपरेको थियो।

याहुले चीनमा विरोधको आवाज उठाउने दुईजना चिनियाँको तथ्याङ्क सरकारलाई बुझाएको थियो। यसपछि उनीहरूलाई जेल सजाय दिइएको थियो।

सूचनाप्रविधिको अर्को अमेरिकी कम्पनी गुगलले केही वर्षअघि नै चीनमा आफ्नो सेवा बन्द गरेको थियो। 

‘माइक्रोसफ्ट’ को पेशागत सञ्जाल ‘लिङ्क्डइन’ले पनि गत महिना चीनमा आफ्नो साइट बन्द गर्ने घोषणा गरेको थियो।

यसको साटो उसले ‘जब बोर्ड’ बनाउने बताएको थियो। याहु अमेरिकामा दर्ता भएको विश्वव्यापी इन्टरनेट कम्पनी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.