|

 चितवन : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले चितवनमा ५ सय ४ जना निर्वाचित हुँदै छन्। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाको एक महानगरपालिका ५ वटा नगरपालिका र एउटा गाउँपालिका गरी ७ तहमा ५ सय ४ जना निर्वाचन हुन लागेका हुन्।

निर्वाचित सदस्यहरुबाट पुनः मतदान गरी दलित वा अल्पसंख्यकबाट २० जना पछि निर्वाचित हुने प्रावधान रहेकाले कुल ५ सय २४ जना स्थानीय निकायमा छानिने जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए।

‘वैशाख ३१ मा ५ सय ४ जनाका लागि निर्वाचन हुन्छ, ढकालले भने, निर्वाचित प्रतिनिधिहरुले दलित वा अल्पसंख्यकका लागि पुनः मतदान गरेर २० जना निर्वाचित गर्नेछन्।’ निर्वाचन भएको १५ दिनभित्रमा मतदानबाट उनीहरुलाई ल्याइसक्नुपर्ने प्रावधान रहेको उनले बताए। चितवनको ६ वटा नगर र महानगरको मेयर उपमेयरमा १२ जना तथा एउटा इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष २  गरी मुख्य पदमा १४ जना निर्वाचित हुनेछन्।

यस्तै, जिल्लाको ९८ वटा वडामा ९८ जना वडा अध्यक्ष चयन हुनेछन् भने हरेक वडामा ४ जनाका दरले ३ सय ९२ जना वडा सदस्य निर्वाचित हुने कार्यालयले जनाएको छ। चार सदस्य मध्य एक जना दलित पर्ने गरी हरेक वडामा २ महिला सदस्य अनिवार्य हुने व्यवस्था छ।

वैशाख ३१ को निर्वाचनमा उनान्तिस वडा रहेको भरतपुर महानगरमा कुल १ सय ४७ जना निर्वाचित हुने छन्। यस्तै १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा ८२, तेह्र वडा रहेको खैरहनी नगरपालिकामा ६७, तेह्र वडा रहेको राप्ती नगरपालिकामा ६७ जना निर्वाचित हुन्छन्।

एघार वडा रहेको कालिका नगरपालिकामा ५७ तथा ९ वडा रहेको माडी नगरपालिकामा ४७ जना निर्वाचित हुने जनाइएको छ। यस्तै ७ वडा रहेको ईच्छाकामना गाउँपालिकामा ३७ जना निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिए।

जिल्लामा कुल लाख १३ हजार मतदाता

निर्वाचन आयोजले दिएको अन्तिम नामावलीअनुसार चितवन जिल्लामा कुल ३ लाख १३ हजार २ मतदाताले यसपालिको स्थानीयतहको निर्वाचनमा मतदान गर्दै छन्। जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार मतदाताको अन्तिम नामावली आइसकेको र आवश्यक तयारी तीव्र पारिएको छ। जिल्लामा १ सय ६१ मतदानस्थलमा ३ सय ७६ वटा मतदानकेन्द्र तोकेर काम भइरहेको छ।

 जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको कार्यालयले जनाएको छ। जिल्लामा मतदाता शिक्षाका लागि ३ सय ७६ जना स्वयंसेवक समेत परिचालन गरिएको ढकालले जानकारी दिए।यता, चितवनका राजनीतिक दलले भने उम्मेदवार छान्ने क्रम तीव्र पारेका छन्। जिल्लामा २४ राजनीतिक दलले पार्टी दर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.