|

झापा: रुद्र–गौरी–श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा स्थापित विभिन्न चार विधाका पुरस्कार आज झापाको विर्तामोडमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको छ।
समाजमा विभिन्न क्षेत्रमा काम गरेर योगदान पुर्‍याउने चार जना व्यक्तित्वलाई सम्मान गरिएको हो। २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले वितरण गर्दै आएको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कारबाट यस वर्ष झापा गौरादहमा रहेको माहारानी झोडा साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको छ। उक्त पुरस्कारको राशी एक लाख एक हजार १११ रुपैयाँ रहेको छ। उक्त सहकारी महिलाहरूले मात्र स्थापना गरेका हुन्। सहकारीमा १५ सय महिला सेयर सदस्य रहेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन्। 

यस्तै गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार मकवानपुरको हेटौँडामा रहेको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी एक लाख एक हजार १११ रुपैँया रहेको छ। उक्त समाज नेपालका चार स्थानमा सञ्चालनमा रहेको समाजका अध्यक्ष रामजी अधिकारीले बताए।

सोही राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पुराना पत्रकार तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रदान गरिएको छ। 

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार काठमाडौँकी सृष्टि महर्जनलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी ५१ हजार १११ रुपैयाँ रहेको छ। 
सन् २०१२ देखि निरन्तर वितरण गर्दै आएको उक्त पुरस्कार सन् २०१५ मा भने भूकम्पका कारण वितरण हुन सकेको थिएन। यो पुरस्कार सन् २०१६ का उत्कृष्ठ व्यक्तित्वहरूलाई प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कार्यक्रमका विशिष्ट अतिथि सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए।

पुरस्कार संस्थापक संरक्षक श्रीप्रसाद ओलीको पहलमा एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरी वितरण गर्न थालिएको हो। २०६८ सालदेखि नै यी पुरस्कार वितरण गर्ने श्रीप्रसाद ओलीको उद्देश्य भए पनि उनको २०६८ माघमा निधन भएपछि स्थगित भएर वि.सं. २०७० बैशाख १६ गते पहिलो पटक वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै पुरस्कार छनोट समितिका प्रतिनिधि पत्रकार तथा सामुदायिक रेडियो अभियन्ता रघु मैनालीले नेपालमा रहेका यस्ता प्रतिभालाई छनोट गर्न पाउनु आफूहरूको भाग्य भएको बताए। समाजमा रहेर निरन्तर समाज सेवामा हुनेलाई सम्मान गर्ने प्रतिष्ठानको कार्य अतुलनीय रहेको पनि मैनालीले बताए। 
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला) ले पछिल्लो समय कृषिमा विषादीको अत्यधिक प्रयोग हुने भएको बताउँदै यसलाई निरुत्साहित गर्न यस्ता खाले सम्मान आवश्यक पर्ने बताए। उनले समाज परिवर्तनमा अतुलनीय भूमिका खेल्ने व्यक्तित्वलाई सम्मान गरेकोमा प्रतिष्ठानलाई धन्यवादसमेत दिए।

कार्यक्रममा बोल्दै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पितृको स्मृतिमा पुरस्कार वितरण गर्नु धेरै राम्रो काम भएको बताए। यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यस पटकको पुरस्कार समाजका तारालाई वितरण गरिएको भन्दै पुरस्कार छनोट समितिलाई धन्यवाद दिए। उनले भाषा र साहित्य क्षेत्र सँगसँगै कृषि र समाजिक कार्यमा योगदान गर्ने ओली परिवारको यो कदमको प्रशंसासमेत गरे।

कार्यक्रमको अवसर पारेर प्रतिष्ठानले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार–सहारा उपचार कोषमा २१ हजार १११ रुपैयाँ सहयोग गरेको छ। प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई सो रकम हस्तान्तरण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.