मनोरञ्जन

एक अभिनेता जो आफ्नै आवाज फिर्तीको पर्खाइमा छन्
SHARES

बैशाख ४, २०७४

    काठमाडौं : ‘फिल्म लाइन’ छोड्ने कोसिस उनले नगरेका होइनन्, तर उनका प्रयासहरू सफल भएनन्। आज फर्केर हेर्दा उनलाई लाग्छ- ‘म अभिनयकै लागि जन्मिएको थिएँ।‘

    ०३७ सालमा दीपक पहिलो पटक काठमाडौं आएका थिए। बम्बैमा ‘हिरो’ बन्न नसकेको झोँक थियो। हिरो बन्ने सपनालाई तिलाञ्जलि दिएर लेवनान उड्ने योजनामा रहेका उनको भिसा लागिसकेको थियो। तर त्यही बेला लेवनानमा गृहयुद्ध सुरु भयो। त्यहाँ जाने उडान रद्द भयो।  

    उनलाई लाग्छ- खासमा उनी लेवनान जान रोकिएका थिएनन्, बरु अभिनयका लागि रोकिएका थिए, जुन उनको वास्तविक सपना थियो। त्यसपछिका दिनमा उनी यताउता भएनन्, आफ्नो सपनालाई पछ्याइरहे।

    सिंगो जीवन अभिनयमा खर्चेकोमा उनलाई कसैप्रति गुनासो पनि छैन। किनकि अभिनय उनका लागि अरूले रोजिदिएको बाटो थिएन। बुबा उनलाई भारतीय सेनामा पाइलट बनाउन चाहन्थे। अरूका पनि आआफ्ना अपेक्षाहरू थिए। बाबुसहित अरूले देखाएका कयौँ सम्भावना लत्याएर उनी रंगमञ्चको दुनियाँमा हामफालेका थिए।

    ५६ वर्षका अभिनेता दीपक क्षेत्रीले आफ्नो लामो अभिनय यात्रामा एउटा नमीठो अनुभूति भने गरे- कलाकार देशका गहनाचाहिँ होइन रहेछन्।

    ‘गहना हुन्थे भने यति उपेक्षा किन भाइ?’ दबिएको आवाजमा उनले प्रश्न गरे।

    उनीसँग विगतमा जस्तो दमदार स्वर छैन अाज, न त खाइलाग्दो शरीर नै। तर अभिनयको रहर भने ज्यूँका त्यूँ।

    ‘अब कसो ठीक नहोइएला र भाइ?’

    समस्या ठूलो पनि थिएन। पाँच लाख रूपैयाँ ठूलो पैसा पनि होइन। तर नभएपछि त्यही ठूलो हुने रहेछ।

    उपचारका लागि आवश्यक पाँच लाख रुपैयाँको समस्या बेहोरेर उनले पाँच वर्ष बिताए।

    दीपकका मित्रसमेत रहेका पत्रकार वसन्तप्रकाश उपाध्यायसँग हालै भएको एक भेट दीपकको उपचारमा ‘टर्निङ प्वाइन्ट’ बन्यो।

    ‘लेखेर केही हुन्छ र?’ शीर्षकमा वसन्तले फेसबुकमा दीपकको मार्मिक वास्तविकता उल्लेख गरी लेखेको सन्देशले धेरैको ध्यान तान्यो।

    उक्त भावुक परिवेशमा वसन्तले दीपकलाई सोधेका थिए- ‘केही लेखौँ है?’

    ‘तीसौँ वर्ष भयो तपाईंहरूले लेखिरहेको। लेखेर हामीलाई केही हुन्छ र भन्या?’ व्यंग्यमिश्रित दीपकको प्रश्नको जवाफमा वसन्तले फेसबुकमा आफ्ना साथीहरूलाई प्रश्न छोडे- ‘लेखेर केही हुन्छ कि हुँदैन?  

    अन्ततः लेखेर केही भयो।

    पाँच वर्षदेखि दीपकको स्वर-नलीमा पलाएको मासु काटिने भयो, जसले दीपकको ‘बोल्ड’ आवाज क्रमशः सुकाउँदै लगेको थियो। देश, विदेशबाट दीपकको उपचारका लागि सहयोग जुटिरहेको छ।

    सोमबारसम्म करिब २० लाख रूपैयाँभन्दा बढी रकम दीपकको उपचारका लागि जुटेको छ। मिडिया एनपी, ठूलो पर्दा, क्यानडा नेपाललगायतमा अपलोड गरिएका भिडियो हेरेपछि विश्वभरबाट सहयोगको बाचा गर्नेहरू थपिएका छन्।

    उनले ‘भिखारी’ घोषणा गरेको सरकारले पनि उपचारका लागि तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ।

    ‘पैसा जुट्यो भाइ, अब उपचारपछि आवाज फर्केला कि!’, उनी आशावादी देखिए।

    पाँच वर्षअघिको तीतो स्मरण

    दीपक ‘झोला’ फिल्मको सुटिङमा थिए। सुटिङ युनिट सबै टेन्टमै थिए। अचानक पानी पर्‍यो। स्वर भासिएझैँ लाग्यो उनलाई।

    ‘तर फिल्ममा वृद्धको भूमिका निभाउनुपर्ने। भासिएकै स्वर चाहिन्थ्यो, सामान्य नै ठानियो’, उनी भन्छन्, ‘तर पछि झनझन् बिग्रँदै गएपछि डराउन थालेँ।‘

    उनी अस्पताल पुगे। उपचारका लागि रकमको खोजी गरे। अहँ, कतैबाट जुटेन। चलचित्र कलाकर्मीहरूका संगठन, सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड, कहाँ कहाँ पुगेनन् उनी?

    सञ्चार मन्त्रालयमा तत्कालीन सञ्चारमन्त्री शेरधन राईलाई भेट्न पुगेका थिए उनी। आफ्नो निवेदन अध्ययन गरेपछि शेरधनले अर्थ मन्त्रालयमा लेखी पठाए।

    त्यसपछि उनले निष्कर्ष निकाले- ‘यिनीहरू त मभन्दा पनि भिखारी पो रहेछन्।’

    उनले जुन दिन सिंहदरबारमा आफ्नो उपचारका निवेदन दिएका थिए, त्यही दिन कांग्रेस नेतृ सुजाता कोइरालाले पनि उपचारका लागि निवेदन दिएकी थिइन्। एक सातापछि सरकारले सुजातालाई उपचारका लागि ५० लाख रूपैयाँ दियो तर उनको निवेदन सिंहदरबारको कुन कुनामा थन्कियो, उनलाई थाहा भएन।

    त्यसपछि उनी सिंहदरबार फर्केनन्। ‘तपाईंको पहुँच छैन र तपाईं कुनै दलमा लाग्नुभएको छैन भने सोच्नुस् भाइ बाँच्न गाह्रो छ’, बितेका ५ वर्षको तीतो अनुभव सुनाए दीपकले।

    अभिनयको भोक: दार्जिलिङदेखि बम्बै र काठमाडौँ

    सात वर्षको छँदा भानुजयन्तीका दिन दार्जिलिङमा जब उनले भानुभक्तको भूमिकामा अभिनय गरे, त्यतिबेला नै आफ्नो बालमस्तिष्कमा गहिरो छाप बसेको थियो। ७/८ कक्षादेखि अभिनयमा एकोहोरिएको उनको दिमाग झनझन् छट्पटिन थाल्यो।

    सन् १९७१ मा राजेश खन्ना अभिनित चलचित्र ‘आनन्द’ उनको जीवनमा अर्को मोड बन्यो।

    ‘जब मैले यो फिल्म हेरेँ। मैले संकल्प गरेँ कि म पनि हिरो नै बन्छु। यस्तै अभिनय गर्छु’, उनी सम्झन्छन्।

    बाह्र कक्षाको जाँच दिँदै गर्दा उनी घरका कसैलाई थाहा नदिई कलकत्ता पुगे। फिल्मी म्यागेजिन ‘स्क्रिन’मा छापिएको अल इन्डिया आर्टिस्ट कन्टेस्टको सूचना पढेपछि उनी त्यता हानिएका थिए।

    त्यहाँको स्क्रिनिङले उनलाई बम्बै पुर्‍यायो। तीन दिन तीन रातको यात्रापछि उनी बम्बै पुगे। करिब चार हजार जनामध्ये उनी पनि छानिए। तर बम्बै यात्रापछि केही समय उनको अभिनय यात्रा रोकियो। कारण थियो- पैसा।

    ‘मसँग १५ हजार रुपैयाँ मागियो। मसँग कहाँबाट हुनु त्यत्रो पैसा?’, पैसा नभएपछि उनले करिब चार वर्ष त्यहीँ अरू काम गरेर बिताए।  

    त्यसपछिको कुरा हो, लेवनान लहडको। लेवनानको यात्रा रोकिएपछि भने उनले आफ्नै सपनाको पछि दगुर्ने संकल्प गरे।

    दार्जिलिङबाट कलकत्ता, कलकत्ताबाट बम्बै र बम्बैबाट काठमाडौँको यात्रा सम्झेपछि उनले भने- ‘सायद मलाई काठमाडौँ नै लेखेको थियो भाइ।’

    सुरुमा रंगमञ्चमा लागेका उनी फिल्ममा पूर्णकालीन हुनुअघि उनी होटल अन्नपूर्णमा काम गर्थे। पछि नेपाल टेलिभिजनका सिरियलहरूमा खेले। उनले १५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। अधिकांश फिल्ममा खलनायकको भूमिकामा देखिएका उनको परिचय नै त्यही बन्यो।

    धेरै फिल्म त उनले आवश्यकताका कारण खेले। घरको भाडा, बच्चाबच्चीको पढाइ अनि व्यक्तिगत आवश्यकता। ‘चित्त बुझ्ने काम थोरै छन्’, उनी भन्छन्, ‘आवाज निस्केपछि फेरि गर्छु भाइ।‘

    उनले अभिनय गरेको ‘थोरै भए पुगिसरी’ उनी आफैँलाई मनपरेको सिरियल हो। पछिल्लो दिनमा अभिनय गरेका चलचित्रमा ‘झोला’ उनलाई असाध्यै मनपर्छ।  

    अहिले पनि केही फिल्म पाइपलाइनमा छन्। थाहा अभियानका प्रणेता रूपचन्द्र विष्टको जीवनमा आधारित फिल्म ‘रुदाने’मा उनी साइँला काकाको भूमिकामा अभिनय गर्दै छन्।

    एउटै कामना: आवाज देऊ

    उनले जीवनमा बचत गर्न जानेनन्। जानेको भए पाँच लाख रुपैयाँका लागि यो पाँच वर्ष यति पापड बेल्नुपर्ने थिएन।

    ‘मैले कहिल्यै भोलि सम्झिनँ। तलब आएकै दिनमा सकिन्थ्यो’, उनी स्वीकार्छन्, ‘लेट्स इन्ज्वोय (रमाइलौँ गरौँ) भन्यो। आजसम्म मसँग बैंक खातासमेत छैन।‘

    गत फागुन १८ गते उनको जन्मदिन थियो। उनले अभिनय गरेको फिल्म ‘राजारानी’को टिम केक बोकेर राति ११ बजे उनको घर आइपुग्यो। सबैले दीपकको उपचारका लागि सहयोग घोषणा गरे।

    ‘उठ्यो त भाइ दुई लाखजति। हुँदोरहेछ त।’

    चलचित्र पत्रकार संघले नेपालमा, निर्देशक सुरेश दर्पण पोखरेलको संयोजकत्वमा अमेरिकामा, संस्थागत/ व्यक्तिगत/सामूहिक पहलमा बेलायत र अन्य देशमा पनि उनका लागि सहयोग जुटिरहेको छ। 

    प्रा. डा. विमल सिन्हाले उनको उपचार गरिरहेका छन्। क्यान्सर नै भयो कि भन्ने चिन्ताले विरक्तिएका दीपक डाक्टरबाट ‘क्यान्सर नै चाहिँ नहुन सक्छ’ भन्ने जवाफ पाएपछि अलि हलुका भएका छन्। तर त्यसको निर्क्योल गर्न बाँकी नै छ।

    ‘साला ५६ वर्षमै इन्डस्ट्री छोड्नुपर्ने भयो भन्ने लागेको थियो। मेरो आवाज फर्किन्छ कि भाइ! त्यही आशामा छु’, अन्तिम आशा फेरि व्यक्त गरे दीपकले।

    तर स्वास्थ्यको कुरा न हो। उपचारमा यति नै लाग्छ भन्ने थाहा छैन। पैसा र परिस्थितिले साथ दिए विदेशमा उपचार गराएर भए पनि आवाज फर्काउने दीपकको धोको छ।  

    आफ्नो वास्तविक आवाज बिर्सिसकेको बताउँदै उनले अन्तिममा भने- ‘मनको गहिराइमा कुनै सपना देख्नुहुन्छ भने त्यो पूरा हुन्छ हुन्छ भाइ। सायद मेरो सपना पनि पूरा हुन्छ।‘


    अभिनेता दीपक क्षेत्रीको उपचारमा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने उनकी श्रीमती विपना बस्नेतको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर 01205060255820 मा आफूले सकेको रकम जम्मा गर्न सक्नुहुन्छ।

रविराज बराल

बराल २०७३ जेठदेखि २०७४ साउनसम्म थाहा खबरमा कार्यरत थिए।

इमेलः rabirajbaral@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]