|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै ठूला दलहरुका स्थानीय नेताहरुमा ‘चुनावी सरगर्मी’सुरु भएको छ। सबैजसो राजनीतिक दलहरुले आफ्नो संगठन बलियो बनाउन वडा भेला तथा कार्यकर्तासँग भेटघाटलाई तीब्रता दिन थालेका छन्।

विशेष गरेर ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई भेट्ने, वडागत भेला गर्ने काममा तल्लिन हुन थालेका छन्। ठूला पार्टीका नेताहरुले वडाध्यक्ष छनोट गर्ने काममा व्यस्त छन्। चुनाव आफ्नो पक्षमा पार्नको लागि कार्यकर्ता भेला गर्दै कार्यकर्ताहरुलाई चुनाव लक्षित कार्यक्रम गर्नको लागि निर्देशन दिन थालिसकेका छन्।  

९ गाउँपालिका र ३ नगरपालिकामा ठूला दल नेतृत्व हत्याउने दाउमा छन्। सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा नेतृत्व आफ्नो पक्षमा पार्न दलहरु सक्रिय बनेका छन्। १० वटा गाविस जोडिएर बनेको नगरपालिकामा दलहरु अहिले भेला र कार्यक्रमहरु गरिरहेका छन्। यो नगरमा १४ वडा छ ।

कांग्रेसको सुधारिएको दावी

नेपाली कांग्रेसले पनि अहिले अगुवा कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्य तीब्र पारेको छ। जिल्लाको क्षेत्र नं. २ मा पर्ने यो नगरपालिकामा कांग्रेसलाई केही कमजोर मानिन्छ। तर, अहिले धेरै ठाउँ सुधार भइसकेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति टंक कार्की बताउँछन्। ‘नगरपालिका भित्रका इर्खु, कदमबास, सानोसिरुवारी, साँगाचोकमा कांग्रेसको राम्रो पकड छ,’ कार्की भन्छन्, ‘स्याउले, कुविण्डे, पीपलडाँडामासमेत राम्रो सुधार भएको छ।' उनले नगरपालिकाभित्र केही वडाहरु जित्नेसमेत दावी गरे।

नेपाली कांग्रेसबाट यो नगरपालिकाको प्रमुखमा धेरै आकांक्षी छन्। साँगाचोकका केशवराज गिरी र सानोसिरुवारीका यज्ञ दंगाल प्रमुख दाबेदार हुन्। दंगाल नगरपालिकाका समितिका सभापतिसमेत हुन्। ‘चुनावलाई हल्का रुपले लिनुहुँदैन, जित्नेलाई सपोर्ट गर्नुपर्छ,’ उनी भन्छन्, ‘जनप्रिय उम्मेदवारका लागि हाम्रो प्रयास हुनेछ।'

कांग्रेसका केही कार्यकर्ताले कार्की नै उम्मेदवार हुनुपर्ने माग राखेका छन्। तर कार्की भने यो पटक अरु नै उम्मेदवारलाई मौका दिने बताउँछन् । कांग्रेसले क्षेत्र नं २ मा उम्मेदवार चयन गर्न कार्कीकै संयोजकत्वमा एउटा समिति गठनसमेत गरेको छ। ‘अरुले सोचजस्तो छैन, अब यो नगर र क्षेत्रमै कांग्रेस शक्तिशाली भएर आएको छ,’ उनले भने, ‘कार्यकर्ताहरुलाई चलायमान बनाउनको लागि पार्टीले विभिन्न गतिविधिहरुलाई अघि बढाइरहेको छ।’

एमालेमा आकांक्षी धेरै, सापकोटाको बलियो सम्भावना

दुई दशकअघिको स्थानीय चुनावमा हाल नगरपालिकाभित्र रहेका साविकका पाँच गाविसमा अध्यक्ष जितेको एमाले यो पटक कम्तीमा दश स्थानमा जित्ने रणनीतिका साथ अगाडि बढेको छ। २०५४ को स्थानीय निर्वाचनमा एमालेले बतासे, पीपलडाँडा, चौतारा, ठूलोसिरुवारी र इर्खुमा वडा अध्यक्ष जितेको थियो।

सांगठानिक रुपमा अगाडि देखिएको एमालेले मेयरसमेत आफ्नो पक्षमा पार्ने दावी गर्दै आएको छ। एमाले प्रचार विभाग प्रमुख यज्ञ सापकोटाले चुनाव लक्षित पहिलो चरणको कार्यक्रम भइसकेको जानकारी दिए। ‘नगरमा मात्रै हैन जिल्लामा पनि एमालेको जनलहर व्यापक छ,’ उनले भने, ‘धेरै स्थानमा जित हासिल गर्छौ भन्ने आशा छ।' उनले पहिलाको स्थानीय तहको निर्वाचनको तुलनामा निकै राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । ‘पहिला जितेको स्थानमा यो पटक पनि हामीले जित्छौं,’ सापकोटाले दावी गरे।

यो नगर प्रमुखमा एमालेका पूर्व सांसद सुभाष कर्माचार्य उम्मेदवार हुन चाहेका छन्। कर्माचार्य अहिलेसम्म मौन छन् । उनले आफू उम्मेदवार हुने/नहुनेबारे केही बोलेका छैनन्। कर्माचार्य मौन रहिरहँदा एमालेबाट सोम सापकोटालाई टिकट थमाउने  पक्कापक्की रहेको एमालेका एक नेताले बताए। एमालेका बादल तामाङ, ईश्वरीप्रसाद श्रेष्ठ, यज्ञ सापकोटा, इन्द्र नेपाल नगर प्रमुखको आकांक्षी छन्।

नेतृत्व आफ्नै पोल्टामा पर्ने माओवादीको दाबी

माओवादी केन्द्र यो नगरपालिकामा नेतृत्व आफ्नो पोल्टामा पार्न जनप्रिय उम्मेदवार छनोटमा पनि लागेको छ। पार्टीले नगरका धेरै वडामा आफ्नो पकड भएको दावी पनि गरिरहेको छ। 'हामीले सबै वडामा भेला गरिसकेका छौं,’ नेता माधव सापकोटाले भने, ‘उम्मेदवार छनोटमा मापदण्ड बनाएर निर्वाचन व्यवस्थित गर्न पार्टीले भूमिका निर्वाह गर्नेछ।' उनले निर्वाचन परिचालन कमिटी निर्माण गरेर यो चुनावमा नगरका बहुसंख्यक वडा आफ्नो पक्षमा पार्ने दावी गरे।

यो नगरमा माओवादी केन्द्रबाट माधव सापकोटा, अमानसिंह तामाङ, युवराज दुलालको नाम चर्चामा छ। माओवादी केन्द्र कदमवासका नेता रेशम गिरी पनि आफूलाई पार्टीले यो नगर प्रमुखको लागि टिकट दिनुपर्ने दाबी गर्दै आएका छन्। ‘पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा उत्रिन्छु,’ उनले भने

राप्रपा दरिलो भएको दाबी

चौतारा साँगाचोकगढी नगरपालिकामा राप्रपा पनि ठूलो प्रतिष्पर्धी हो। दुई दशकअघिको स्थानीय निर्वाचनमा साविकको दश गाविसमध्ये पाँचमा राप्रपाले अध्यक्ष जितेको थियो। अहिले पनि राप्रपाले १४ मध्ये कम्तीमा ६ वडा आफ्नो पक्षमा हुने दावी गर्दै आएको छ।

अहिले राप्रपाले यो नगरमा गौरातीबाट घर दैलो अभियान सुरु गरिसकेको छ। कार्यकर्ता भेटघाट, उम्मेदवारका आकांक्षीलाई गाउँ जान पार्टीले निर्देशन दिइसकेको केन्द्रीय सदस्य एवं नगरका अध्यक्ष पुष्कर ढुंगेलले जानकारी दिए। ‘बिग्रिएको ठाउँमा निकै सुधार भएको छ,’ उनले भने, ‘पहिलाको निर्वाचनको भन्दा धेरै राम्रो हुने पक्कापक्की भएको छ।' स्थानीय निर्वाचन २०५४ मा राप्रपाले यो नगरमा गाभिएको साविक स्याउले, सानोसिरुवारी, साँगाचोक, कदमबास र कुविण्डेमा जित हात पारेको थियो। अहिले इर्खु, पीपलडाँडा, बतासेमा निकै सुधार भएको ढुंगेलले बताए।

साना दल पनि तयारीमा 

नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतले वडा तहमा आन्तरिक भेला गरिरहेका छन्। साना दल सबै मिलेर ठूलासँग प्रतिष्पर्धा गर्नेसमेत केही दलका नेताले बताउँदै आएका छन्। जिल्लामा चुनावी स्पर्धामा २० दलले भाग लिन पाउनेछन्। त्यसमध्ये चार ठूला दलबीचको समीकरण भने रोचक हुने देखिएको छ। प्रमुख यी चार दलसहित अन्य साना दलले पनि नगरपालिकामा चुनाबी माहोल तताइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.