काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ।
यस्तो बेलामा एमाले उपाध्यक्ष डा.भीम रावलले त्यसलाई चुनौती दिएका छन्।
काठमाडौंमा आज (आइतबार) पत्रकार सम्मेलन गरेर उनले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
पार्टीको आन्तरिक विवादका कारण विभाजनको मार खेप्दै केन्द्रदेखि प्रदेशसम्मको सत्ता गुमाएको एमालेले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि रावलको उम्मेद्वारी घोषणाले सर्वसम्मति कठिन बनाइदिएको छ।
तर कतिपयले भने रावलको उम्मेद्वारीलाई वरिष्ठ उपाध्यक्ष पदका लागि बार्गेनिङ गरेको हो कि भन्ने अर्थमा पनि लिएका छन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देखि एमालेसम्मको अन्तरसंघर्षमा माधवकुमार नेपाललाई साथ दिएका रावल पार्टी विभाजनमा भने उनलाई साथ नदिने भन्दै अन्तिम समयमा एमालेमै बसेका थिए।
उनी पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक पनि मानिन्छन्। ओली नै सर्वसम्मत अध्यक्ष हुनुपर्ने आवाज उठिरहेका बेला रावलले फेरि त्यसलाई चुनौती दिएका छन्।
‘मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइरहन अघि बढ्ने संकल्प गरेको छु,’ पत्रकार सम्मेलनमा रावलले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लिखित र अनुल्लिखित वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा ०७८ साल मंसिर १०-१२ गते चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
पार्टी विभाजनका बेला नेता नेपालसँग नगएका अन्य नेताहरू पनि ओली नै सर्वसम्मत अध्यक्ष भनिरहेका छन्।
अब उनीहरूले रावललाई अध्यक्षमा साथ दिने देखिँदैन। उनीहरू उल्टै व्यक्तिगत रूपमा अध्यक्ष ओलीलाई रिझाएर पार्टीमा अहिलेकै आफ्नो स्थिति सुरक्षित राख्ने दाउमा छन्।
तर, रावल एक्लै अध्यक्षमा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि रावलले अध्यक्ष ओलीसँग आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउन प्रस्ताव गरेको कुरा आइरहेको थियो।
सायद वरिष्ठ उपाध्यक्षमा ओलीको सकारात्मक सन्देश नपाएपछि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेर बार्गेनिङ गरेको हुनसक्ने आशंका धेरैको छ।
यसलाई भने रावल सकारात्मक नै मान्छन्।
थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै रावलले यो विषय मान्छेको आफ्नो दृष्टीकोण भएको बताए।
‘मैले पार्टी अध्यक्षमा उम्मेद्वारी दिएको छु। यसलाई बुद्धिजीवी, पत्रकार अन्य पर्यवेक्षक, समीक्षकले आ–आफ्नो किसिमले समीक्षा गर्नुहोला। ती प्रत्येक व्यक्तिका समीक्षा, धारणा मैले खण्डन गरिरहनु पर्ने देख्दिनँ,’ रावलले भने । उनले ती सबैको सम्मान गर्ने बताए।
अझै पनि सर्वसम्मत गर्न ओली पक्षको जोड
अहिलेकै स्थितिमा एमालेलाई सत्ता गठबन्धन ठूलो चुनौती बनेको छ। मुख्य ५ दल एकातिर छन् भने एमालेले ती दलसँग आगामी चुनावमा प्रतिस्पर्धा गर्नु छ।
यो गठबन्धन चुनावसम्मै गए एमालेलाई ठूलो असर पर्ने छ। पार्टीकै विवादले विभाजनका मार खेपेकाले पनि सर्वसम्मत नेतृत्व चयन गरेर एक खालको सन्देश दिन खोजिएको हो।
रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि पनि संस्थापन पक्ष अझै सर्वसम्मत गर्नुपर्नेमा जोड दिन्छ।
ओलीपक्षीय नेता सुवासचन्द्र नेम्बाङ वर्तमान अवस्थामा पार्टीको नेतृत्व सर्वसम्मतै भए राम्रो हुने बताउँछन्।
‘अहिले पनि म भन्छु–सर्वसम्मत भएको राम्रो हो। यदि त्यसो भयो भने त्यसले पार्टीलाई अहिलेको सन्दर्भमा चुनौतीको अवस्था राम्रो हुन्छ,’ उनले भने।
उनले सर्वसम्मतिको कोशिश गर्ने बताए। 'तर निर्वाचन हुन सक्छ भनेर हामीले भोटिङ मेसिनको पनि व्यवस्था गरेका छौँ। त्यससम्बन्धी तालिम आदी पनि गरिसकेका छौँ।’
पूर्वमाओवादी नेता के भन्छन् ?
एमालेको पदाधिकारी बन्नका लागि पनि आकांक्षी नेताहरूको भीड छ।
त्यसमा पनि माओवादीबाट आएका नेताहरूको व्यवस्थापन गर्न पनि उत्तिकै जटिल र चुनौतीपूर्ण छ।
तर, नेतृत्वका लागि चुनाव हुने अवस्थामा तपाईंहरू कसरी अघि बढ्नुहुन्छ भन्ने पश्नमा पूर्व माओवादी नेता मणि थापाले जे भए पनि अन्त्यमा सर्वसम्मतिमै जाने जवाफ दिए।
उनले सर्वसम्मतिको प्रयास कायमै राख्नु पर्नेमा पनि जोड दिए। ‘पार्टीको मूल लाइन आइसकेको छैन। त्यसो हुनाले हाम्रो हैसियत के हुने भन्ने अहिले केही भन्न मिल्दैन। पार्टीलाई एक ढिक्का बनाएर सर्वसम्मतिको आधारमा जे निर्णय हुन्छ, त्यो स्विकार्न हामी तयार छौँ। हाम्रो भिन्नै कुनै माग छैन,’ उनले थाहाखबरसँग भने।
रावलको उम्मेद्वारी सांकेतिक मात्र : विश्लेषक
लामो समय एमालेको नेतृत्व गरेका नेता नेपालको आडभरोसामा पार्टीको आन्तरिक राजनीतिमा माथि उक्लिएका रावललाई १० औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न लाग्दा कसैले पनि दरिलो साथ दिएका छैनन्।
राजनीतिक विश्लेषकहरूले पनि रावलको उम्मेद्वारी सांकेतिक मात्र हुने टिप्पणी गरेका छन्।
राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बराल लोकतान्त्रिक व्यवस्थामा रावलले घोषणा गरेको उम्मेद्वारी साधारण रूपमा लिएको बताए।
‘ओलीजीका पक्षका मान्छेले उहाँलाई सर्वेसर्वा र कसैले विवाद नगर्ने नेताका रुपमा उभ्याउन खोजेका थिए। त्यसमा भीम रावलले अध्यक्षमा लड्न उम्मेद्वारी दिनुभयो। उहाँको उम्मेद्वारी सिम्बोलिक मात्रै हुन्छ,’ बरालले भने।
पार्टीभित्र लडाइँ, संघर्ष गरिरहनु पर्छ भन्ने रावलको सोचलाई आफूले सामान्य तवरमा नै लिएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।