|

  • पेमा लामा-

काभ्रे : खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिंगनपुरका स्थानीय वर्षौंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन्। गाउँभरि नै खानेपानीको अभाव रहेका कारण गाउँको बीचमा रहेको एउटा इनारबाट निस्केको पानी बाँडेर जीवन गुजार्दै आइरहेको उनीहरु बताउँछन्।

स्थानीय पार्वती श्रेष्ठ भन्छिन्, ‘हामी त दिनको एक गाग्री पानीको भरमा घर चलाइरहेका छौं’ ‘गाउँभरिकै एउटा मात्रै इनार, त्यसमा पनि कम पानी आउने गरेको कारण गाउँभरिको सबैलाई भाग लगाउँदा एक/एक गाग्री मात्रै पुग्छ’ श्रेष्ठले भनिन्, ‘त्यही एक गाग्री पानीको भरमा हाम्रो घरको जीविका चलाउनु परिरहेको छ।’

अर्का स्थानीय अभिमन्यु ढुंगानाले गाउँभरिमा नै अर्को पानीको स्रोत नभएका कारण आपूmहरु त्यही एउटा इनारको भरमा सिंगो गाउँले आश्रित हुनुपरेको बताए। ‘गाउँभरि नै कतै पनि पानीको अर्को स्रोत छैन, यही भएको इनारबाट जम्मा भएको पानी सबैलाई बाँडेर चलाउने हो’ ढुंगानाले भने, ‘त्यो पनि ढिला आउनेले त कहिल्यै पानी नै पाउँदैन, रित्तै गाग्री बोकेर घर फर्कनु पर्छ ।’ घरबाट ईनार आईपुग्न आधा घण्टा लाग्छ, त्यसमा पनि लाईनमा बसेर पालो कुर्दै एक गाग्री पानी बोकेर लान घण्टौं लाग्ने उनको भनाई छ ।

उनका अनुसार सो इनार सिङ्गो गाउँभरिकै प्राण धान्ने केन्द्र भएकोले पानीको जोहो गर्नकै लागि ताल्चा लगाएर राखेको हुन्छ । सधैंभरि पानीको सुरक्षा र अभावपूर्ति गर्नका लागि सबै गाउँले त्यही इनारको पानीको भरपर्नुपर्ने भएकाले पनि ताल्चा लगाएर राख्नुपरेको अर्का स्थानीय भगवती ढुंगाना बताउँछिन्। उनका अनुसार उक्त इनार हरेक दिन बिहान दूई घण्टा मात्रै खुला हुन्छ।

‘दिन र रातभरि जम्मा भएको पानी भोलिपल्ट बिहान दुई घण्टा गाउँले बाँडेर खान्छौं’ भगवतीले भनिन्, ‘त्यो पनि विद्यालय खुलेको दिन त पाँच गाग्री पानी विद्यालयको लागि छुट्याएर मात्रै हामी गाउँलेले बाँडेर लान पाउँछौं।’ ‘इनारमा भएको पानी सकिएपछि दुई घण्टा तल खोलाको पानी लिन जानुको विकल्प छैन’ उनले भनिन्।

सो इनारबाट त्यहाँका ३५ घरधुरी आश्रित छन्। उनीहरु भन्छन् ‘हामी गाउँलेहरुको लागि खानेपानीको निकै नै दुःख छ’ ‘हामीलाई कसैले पनि सहयोग गर्दैन’ उनीहरुले थपे, पल्लो गाउँमा यसपालि मात्रै दुई वटा इनार बनाइदिएको छ, हाम्रो लागि न त संघ÷संस्थाले हेर्छ न नगरपालिकाले नै।’ त्यसरी खानेपानीको जोहो गर्दै आएका झिंगनपुरबासीले वस्ताुभाउको लागि दुई घण्टा लगाएर तल खोलाबाट पानी ओसार्नुपर्छ। उनीहरु भन्छन्, हाम्रो त वर्षौंदेखि यसरी नै जिविका चल्दै आएको छ’ ‘के गर्नु अरू विकल्प पनि छैन’ उनीहरुले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.