साहित्य

किरिया बसेकी स्वास्नीमान्छे (कविता)
SHARES

बैशाख ८, २०७४

     

    लोग्नेको मृत्युमा
    किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
    तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरू
    गलत सावित हुन सक्छन्!

     

    तपाईं पत्याउनुस्, नपत्याउनुस्
    भर्खरै भेटेर आएकी हुँ मैले उनलाई
    उनको नयाँ अवतारसँग ठोक्किनु
    संसारको आठौँ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि
    किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरूमा
    हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखेँ!

     

    वर्षौदेखि
    लेउ लागेर बसेको मौनता
    छाया र प्रतिछायाका पूर्जाहरूमा मात्र उल्लेखित
    आफ्नो अस्तित्व
    किरिया बसेकी स्वास्नीमान्छेको अनुहारले भन्दै थियो-
    फुल्नु न फुलेछु 
    यतिका वर्ष केवल काँस भएर फुलेछु
    त्यही काँस पनि अन्त फुले त हुन्थ्यो
    केवल अचानो र अचानोका निस्वासहरूमा फुलेछु!

     

    बाचुञ्जेल सँगसँगै हिँड्थे उनीहरू
    र हामी सोच्थ्यौँ-
    आहा, कति मिलेको चखेवा–चखेवीको जोडी!

     

    त्यतिबेला सोचेनौँ- 
    लोग्ने किन सधैँ दाहिने, स्वास्नी देब्रे हिँड्थी?
    लोग्नेले हाँसोको स्टक नै रित्याएपछि
    स्वास्नी किन रहेलपहेल कच्याककुचुक परेको हाँसो हाँस्थी?
    सोचेनौँ
    त्यो छत थियो वा थियो कुनै बधशालाको अर्केष्टा?
    फालेर ओड्दै गरेको बकम्फुसे छाता 
    किन मन फुकाएर रुझिनँ ऊ कुनै झरीमा 
    र भन्न सकिनँ-
    ‘ओ, झरी! तँलाई जस्तै मलाई पनि अराजक हुन मन लाग्छ!’

     

    सोचेनौँ
    शयनकक्षका भित्ताहरूलाई छेडेर
    किन उनका गीतहरूले मितेरी गाँस्नै पाएनन्-
    उड्दै गरेका चरा र बग्दै गरेका नदीहरूसँग!

     

    सिमोन द बुआलाई सपनामा देख्नु
    केट मिलेट र नोरालाई पनि सपनामा मात्र भेट्नु
    योगमाया पनि 
    टुप्लुक्क कहिल्यै आइपुगिनन् उनको आँगनमा
    ‘घोचिरहने दुम्सीका काँडाहरूलाई 
    दुम्सीका काँडाहरू होइन शिवलिंग भन्दै पुज्नुपर्छ’ 
    भनेर सिकाइन् उनकी आमाले
    अलिकति त्यही सिकाइले रोक्यो
    चिमोटिरहने जिन्दगीलाई
    ‘साला जिन्दगी’ भन्दै मनपरी गाली गर्न पनि संस्कारले रोक्यो।

     

    कहिलेकाहीँ सेतो लुगा लगाउनु पनि
    रंगीन सपना देख्नलाई दिइएको अनुमति–पत्र जस्तै हुँदोरहेछ
    समयले उनलाई प्रथम पटक 
    आफ्नो जिन्दगीको चेकबुक आफ्नै हातमा थमाएको थियो।

     

    बिर्सेर यतिञ्जेलको सकस र शहीद जिन्दगी
    ५१ वर्षको उमेरमा
    उनी १५ वर्षे किशोरी जस्तै लागिन् मलाई
    अधिकांश सेतै फुलेको कपाल
    चाउरिएको छाला-बाथरोग-सुगर र ब्लड प्रेसर
    यी सबका बाबजुद
    काफ्काकी ग्रेगरी 
    कीराबाट भर्खरै मान्छेमा रूपान्तरण भएकी थिई।

     

    पहिलोपटक 
    ऊ आफैँले ज्वालामुखीमा डरलाग्दो हरफ लेखी-
    ‘मन्दिर
    मन्दिर नभएर पाइखाना हुन सक्छ
    सिंदूरको धर्का सिंदूरको धर्का नभएर
    स्वास्नीमान्छेको रगताम्य छादको लर्कन हुन सक्छ!’

     

    के तपाईं पनि
    किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदै हुनुहुन्छ?
    पर्खनु होस् 
    अनुमानको अलि फरक ग्राफ बोकेर जानुस्!
    लोग्नेको मृत्युमा
    किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
    तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरू 
    गलत सावित हुन सक्छन्!

सरस्वती प्रतीक्षा

पोखरामा रहेर साहित्य सिर्जना गरिरहेकी प्रतीक्षा युवा पुस्ताकी सशक्त्त स्रष्टा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • बिष्णु अधिकारी

    एक एथार्थ, तर आम मानिसले नसोचेको कुरा हो यो। रचना प्रगतिशील छ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]