|

काठमाडौं : सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौँडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को २० करोड रुपैयाँ लागतमा सेन्टर स्थापना भएको हो। सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्नेछ।

हेटौँडाको हुप्रचौरस्थित नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो। सेन्टर निर्माणका लागि नेपाल आदर्श कम्पनीलाई जिम्मा दिइएको थियो। काम सुरु गरेको १८ महिनामा भवन निर्माण सम्पन्न भएको हो। डाटा सेन्टरको भवन निर्माण निर्धारित समयमै सकिएको कम्पनीका इन्जिनियर कृष्णगोविन्द खामलीले बताए। दैनिक ५० जनादेखि ८० जनासम्म कामदार खटाएर समयमै निर्माण सम्पन्न गरेको खामलीले जानकारी दिए। निर्माण कम्पनीले सरकारलाई भवन हस्तान्तरण गर्ने तयारी गरिरहेको इन्जिनियर खामलीले बताए।

सूचना संग्रहालयको रूपमा काम गर्ने

हेटौँडामा निर्माण भएको डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो। तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिला भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक अनुप बास्कोटाले बताए। कोइकाले नै सबै निर्माण पूरा गरेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ।

सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करिब ३७ करोड रुपैयाँ लग्नेछ । २० करोड रुपैयाँमा भवन निर्माणमा र बाँकी प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो। नेपालका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा र दातृ निकाय कोइकाका प्रमुख योङ आ गोले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौतापत्रमा इन्जिनियरहरूका लागि तालिमको व्यवस्था गरिने, संरचना निर्माणका लागि जग्गा नेपाल सरकारले उपलब्ध गराउने तथा जनशक्ति र कार्यालय राख्ने व्यवस्था मिलाउनेलगायत छ।

सिंहदरबारको डाटा सेन्टर प्रभावकारी बन्ने

सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको सरकारी एकीकृत डाटा केन्द्र प्रभावकारी ढंगले सञ्चालनमा आउन नसकेको प्राविधिकहरूले बताएका छन्। डाटा सेन्टरलाई प्रभावकारी सञ्चालनका निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौँडामा डाटा सेन्टर निर्माण गरेको सेन्टरकी कार्यकारी निर्देशक पुनिता उपाध्यायले बताइन्।

मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट नहोस् भनेर रिकभरी साइट बनाएको हो। यस्ता साइटहरू मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौँडालाई रोजिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.