माइती भन्छ : परिवारले बेपत्ता पार्‍यो

|

लहान : सिरहाको नरहा बलकवा घर भई लहान नगरपालिका ३ बस्दै आएकी २२ वर्षीया एक विवाहित महिला सम्पर्कविहीन भएपछि माइती पक्षले परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ।  

लहान- ३ का सञ्जीव यादवकी श्रीमती गायत्रीकुमारी यादव ४८ दिनदेखि सम्पर्कविहीन छिन्। पति सासु, ससुरा, देवर मिलेर गायत्रीलाई बेपत्ता पारेको माइती पक्षको दाबी छ। छोरीलाई बेपत्ता बनाएको भन्दै गत चैत १८ गते इलाका प्रहरी कार्यालय लहानमा अपहरण तथा शरीर बन्धकको जाहेरी लिएर गएको भए पनि प्रहरीले दर्ता नगरेको गायत्रीका बाबु राममूर्ति यादवले बताए।  

तर इलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक हिराबहादुर पाण्डेले बेपत्ता भएकी गायत्रीका पति सञ्जीव यादवलाई २५ दिन अघि पक्राउ गरी हिरासतमा राखेको जानकारी दिए। उनले गायत्री बेपत्ता भएलगत्तै ससुराले प्रहरीमा खोजतलासका लागि उजुरी हालेको बताए। प्रहरीले दुवै पक्षका मानिस र प्रहरी परिचालन गरी भारत र नेपालका सम्भावित ठाउँमा खोज्न पठाउने योजना रहेको जनाएको छ। 

राममूर्तिले छोरीकी ससुरा राजकिशोर यादव, सासु अनितादेवी यादव, पति सञ्जीव, देवर शम्भु यादवले र अन्य चार जनाको सहयोगमा गायत्रीलाई बेपत्ता बनाएको आरोप लगाएका छन्। लहान–३ का राजकिशोर यादवसँग २०७० असार १५ गते विवाह गरेकी गायत्रीले वर्ष दिनपछि छोरी जन्माइन्। छोरी जन्मिएलगत्तै ‘छोरा पाउन नसक्ने अलच्छिनी’ भन्दै पतिसहित सासु, ससुरा लगायतबाट छोरी प्रताडित हुनु परेको उनको भनाइ रहेको छ।  

आफूमाथिको निरन्तरको कुटपिट र यातना सहन नसकेपछि उनले २०७३ पुस १७ गते सिरहा जिल्ला अदालतमा अंश मुद्दा समेत हालिन् तर प्रहरीले राजनीतिक दबाबमा द्विपक्षीय छलफल गराएर ‘अब त्यस्तो हुँदैन’ भन्दै फकाएर पाँच दिनपछि नै मुद्दा झिक्न लगाएको राममूर्तिले बताए। 

त्यसपछि पनि छोरीमाथि कुटपिट, यातना नरोकिएको थाहा पाएपछि भेट्न जाँदा नदिएको गुनासो गर्दै उनले भने ‘छोरीलाई त्रास देखाएर भारत बिहारको मधुवनी जयनगर थानाअन्तर्गत पर्ने शिलानाथ बडही पुर्याएकोसम्म थाहा पाएँ।’ ‘ज्वाइँका मामा पर्ने किशोरी यादवको घरमा लुकाएर राखेको सूचना आएपछि त्यहाँबाट पनि अन्यत्र लगेछन्’ उनले भने ‘मेरी छोरीलाई बेपत्ता बनाउन संलग्न रहेकालाई कानुनी दायरामा ल्याई चाँडै कारबाही गरियोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.