|

  • पेमा लामा-

काभ्रे :  वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न काभ्रेपलाञ्चोकका ८ जना शिक्षकले पेशाबाट राजीनामा दिएका छन्। शिक्षा कार्यालयमा घरेलु कारण देखाउँदै राजीनामा दिएका उनीहरुको भित्री उद्देश्य भने  निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार हुने देखिएकोछ।

कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्ममा ८ जना शिक्षकले राजीनामा पेश गरेका छन्।  ‘घरायसी कारण देखाएर राजीनामा दिन आउनेको संख्या बढ्दैछ' दाहालले भने, ‘झण्डै ८/१० दिन भित्रमा ८ जनाले राजीनामा पेश गरेका छन्।'

 हिमालय मावि बनेपाकी शिक्षिका निर्मला श्रेष्ठ, बज्रयोगिनी प्रावि महादेवस्थानका रामहरि नेपाल, सञ्जीवनी मावि धुलिखेलका रामकुमार तखाछे, बागदेवी मावि सल्लेभुम्लुका रमेशराज खरेल, गणेश निमावि चलाल गणेशस्थानका प्रेमकुमार तामाङ, भैरव मावि च्याम्राङवेशीका वालकृष्ण फुयाँल, स्वेतगणेश प्रावि पनौतीका तीर्थमाया प्रधान र कुशादेवी माविका रमेश पौडेलले राजीनामा दिएका छन्।

ती मध्ये निर्मला श्रेष्ठ बनेपा नगरपालिकाको उपप्रमुका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बन्न पेशाबाट राजीनामा दिए हुन्।  ‘म आकांक्षी हुँ, पार्टीले क्लियर त गरेको छैन, तर पनि उम्मेदवारी बन्न म पनि समक्ष छु, त्यसैले किन नलड्ने?’ आकांक्षी धेरै भएकाले ती मध्ये यही हो भनेर प्रष्ट चाहिँ भएको छैन' श्रेष्ठले भनिन्, ‘वडा, नगर, क्षेत्र हुँदै आएका सिफारिसहरुलाई जिल्ला तहमा आएर अन्तिम छनौट हुन बाँकी रहेकाले भयो नै भन्न सकिदैन, तर नछोड्ने हो।’

कुशादेवी माविका प्रधानाध्यापक समेत रहेका रमेश पौडेल पनौती नगरपालिकाको प्रमुखका दाबेदार हुन्। नेकपा एमालेबाट उनको उम्मेदवारी सिफारिस भएको छ। ‘म पनि उम्मेदवारको लागि योग्य ब्यक्ति हुँ, त्यसैले मेरो पनि दावी मेयरमा छ'  पौडेलले भने, ‘पार्टीले कतिको योग्य देख्छ थाहा छैन, तर पनि दावी छोड्दिन'  उनले भने।

अरु धेरै आकांक्षीहरु भएकाले वडा, नगर, क्षेत्र र जिल्ला हुँदै प्रदेश कमिटीले मात्रै निर्णय गर्ने भएकाले प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए। उनले निर्वाचनकै उमेदवारीको लागि राजीनामा दिएको नभएर आफूले दशैं अगाडिदेखि नै सोच बनाइरहेको बताए। ‘म पहिलादेखि नै राजीनामा दिने सोँचमा थिएँ, यो चाहिँ निर्वाचन पनि नजिक आएको र राजीनामा पनि दिने काम संयोग पर्न गयो' पौडेलले भने।

उता पनौती नगरपालिकामा एमालेबाट उपप्रमुखको उम्मेदवारको लागि शिक्षण पेशाबाट राजीनामा दिएका तीर्थमाया प्रधानले आफू उम्मेदवारको लागि योग्य भएको बताएका छन्। ‘म पनि योग्य छु उपमेयरको लागि, त्यसैले पेशाबाट राजीनामा दिएर माहोलमा होमिएको छु' प्रधानले भनिन्। उनको पनि नाम उपप्रमुखमा सिफारिस भएको एमालेले जनाएको छ।

त्यस्तै बेथानचोक गाउँपालिकाको प्रमुखको उम्मेदवारको लागि शिक्षण पेशाबाट राजीनामा दिएर प्रेमकुमार तामाङ लागिपरेका छन्। एमाले पार्टीको तर्फबाट प्रमुखको दावी गरेका तामाङले सो गाउँपालिकाबाट पार्टीभित्रै अन्य ४ जनासंग टिकटको लागि प्रतिस्पर्धा गरिरहेका छन्।

अन्य शिक्षकहरु गाउँपालिका र नगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारको दावेदारको लागि राजीनामा दिएर लागिपरेका हुन्। शिक्षण पेशाबाट राजीनामा दिएर निर्वाचनको उम्मेदवार भन्न लागेको शिक्षकहरु नेपाली कांग्रेस र नेकपा एमालेसंग आवद्ध रहेकाहरु छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.