|

 

विश्वस्त छ थर्पुडाँडा

कुनै याम

फर्कनेछन् यहीँ बाटो जानेहरू…

 

परदेशी प्रतीक्षामा वृद्ध वरको रूख

पाहुना पैतालाहरूलाई

कुन अभिप्साले पस्किरहेछ पल्लव मुस्कान?

 

गुनासो गर्छ वृद्ध वरको रूख

थकानको पत्रमा सियालसित गरेको सन्धि

च्याते कति डाँडा काटिजानेहरूले

 

तै, छाडी जानेहरूलाई

बिदाइको हात हल्लाउँदै

उसका अर्धानु पातहरू

छम्किरहेछन् आँसुको हरियो जोखना

साकेला भाकामा-

'दाइ कान्छौ, दाइ कान्छौ,

लाऊँ माया भन्छौ, गैहाल्छौ

सोइ सोइला हो, हुर्रा हा हा!'

 

विश्वस्त छ

यही पुरिएको बराजुको विश्वास

कि दरसन्तानहरू जानेछैनन् बसाइँ

या उनीहरूको (जो बसाइँ गइसके)

पीरो यादमा रुनेछैन अब यहाँको माटो

 

बरु, बोकेर रुमानी सपना

नानीहरूको

उहिले जस्तै आउनेछन् कर्‍याङकुरुङको जन्ती

फुल्नेछन्

अभावका मन्जरीहरूमा सहका थुँगाहरू

जसको निख्खर वासनालाई

चुम्नेछ प्रथमत:

भित्र मूलचुलाबाट शिली टिप्दै निस्केर

अदिवासी धूँवाले।

(चन्द्र रानाहँछाको कवितासंग्रह 'थिबिया चराको गीत'बाट।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.