|

दमक : प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मधेसी मोर्चालाई निर्वाचनमा आउन आग्रह गरेका छन्। वैशाख ३१ गते हुने निर्वाचन कुनै पनि शक्तिले विथोल्न नसक्ने उनले बताए। 

झापाको बिर्तामोडमा भएको वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन तथा बृहत जनसभामा उनले मधेसी मोर्चाकै  सहमतिमा  दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको बताए। 'संशोधन विधेयक र निर्वाचन दुबै अस्विकार गर्ने मोर्चाको निर्णयले मलाई आश्चर्य चकित बनाएको छ, दोश्रो संशोधन विधेयक मोर्चाकै सहमतिमा दर्ता गरेको हो। तर उहाँहरु किन पछि हट्नु भएको हो। उहाँहरुलाई कसले चलाएको छ, यो बुझ्नै गाह्रो भो।'

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी परिणामको डरका कारण निर्वाचनबाट नभाग्न सबै दललाई आग्रह गरे। 'जनताले लामो संघर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न पनि निर्वाचन अपरिहार्य छ, यसले जित्छ वा उसले जित्छ भन्‍ने डरका कारण निर्वाचनबाट पछि हट्नु ऐतिहासिक भूल हुनेछ,' उनले भने। 

उनले निर्वाचन विरोधी खेलको प्रतिरोध गर्ने जनतालाई आग्रह गरे। दाहालले इतिहासमै पहिलोपटक जनतालाई अधिकार सम्पन्न बनाउने र गाउँ-गाउँमा सिंहदरबारको अधिकार पुर्‍याउने लक्ष्यसहित स्थानीय तहको निर्वाचन हुन लागेको बताए।

' केही साथिहरुले २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन भन्नु भएको छ। यो त इतिहासमै पहिलो पटक हुन लागेको हो।  यो निर्वाचन कुनै पञ्च वा गाविसको निर्वाचन होईन।  यो त जनतालाई सार्वभौम बनाउने निर्वाचन हो, त्यसैले २० वर्ष पछि हुन लागेको भनेर भ्रम नछर्नुहोस्,' प्रधानमन्त्रीले भने। 

उनले माोर्चाले चुनाव बहिष्कार गरेको खण्डमा ठुलै मुल्य चुकाउनुपर्ने चेतावनी दिए। 'यतिको लचिलो सरकार भेट्नु हुन्न। तपाईहरु भोलि (शुक्रबार) को वार्तामा आएर सहमतिमा आउनुहोस्, होइन भने तपाईहरुले ठूलै मुल्य चुकाउनु हुनेछ। तपाईहरुको ऐतिहासिक भूल हुनेछ।

कार्यक्रममा उनले पहिलो पटक प्रदेशको सीमा र संख्यामा समेत सुझाव दिने गरी आयोग बनाउने प्रस्ताव पछिल्लो संशोधन विधेयकमा उल्लेख गरिएको बताए।

माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले माओवादीकै कारण अहिलेको परिवर्तन संभव भएको बताए। 'गणतन्त्रका लागि  हामीले आन्दोलन गर्दा  बयलगाढा चडेर अमेरिका पुगिदैंन भन्नेहरु नै अहिले धेरै गणतन्त्रवादी बन्न खोजेका छन्,' उनले भने। 

उनले निर्वाचनपछि माओवादी नम्बर एक पार्टी बन्‍ने दाबी गरे। कार्यक्रममा माओवादी केन्द्रका एक नम्बर प्रदेश इञ्चार्ज गोपाल किराँतीले एमालले वैैशाख ३१ को निर्वाचन नचाहेको आरोप लगाए। ' अहिले हाम्रा नेताहरुलाई एमालका नेताहरुले असोजसम्म निर्वाचन सार्न दबाब दिइ रहेका न्, हामी यस्तो हुन दिदैनौँ, कुनै पनि हालतमा निर्वाचन हुन्छ, एमालेले हार स्वीकार्न नसकेर निर्वाचन सार्न दबाब दिएको हो,' उनले भने। 

उनले मधेसी मोर्चा, विप्लव माओवादी र नयाँ शक्तिले निर्वाचन हुन दिन्‍न भन्नु स्वभाविक रहेको दाबी गरे। 'गौर हत्या कण्डका हत्यारा उपेन्द्र यादव, माओवादी आन्दोलनबाट भागेका बाबुराम र जगंल छिरेका विप्लवले चुनाव भाड्न खोज्नु आश्चर्य होईन, तर एमालेले चुनाव सार्नुपर्छ भन्नु आश्चर्य भयो,' उनले भने।

कार्यक्रममा सुचना  तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले स्थानीय तहको निर्वाचन माओवादीले अभ्यास गरेको जनसत्ता र जनसरकारको वैधानिक रुप भएको दाबी गरे। उनले निर्वाचन रोक्ने खेलमा  केही तत्व लागेको भए पनि निर्वाचन भएरै छाड्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.