|

जनकपुरधाम : ठेकेदारको लापरबाहीका कारण जनकपुरका सडकहरु हिलाम्य भएपछि स्थानियवासी समस्यामा परेका छन्। एकीकृत सहरी विकास आयोजनाअन्तरत ठेकेदारले नाला निर्माणका लागि बाटो खनेर जथाभावी छाडिदिएपछि सामान्य पानी पर्दा पनि सडक हिलाम्य भएर सर्वसाधारण समस्यामा परेका हुन्।

रिङरोड परिक्रमा सडकलगायत अन्य बाटोहरु खनेर जथाभावी छाडिदिएपछि बालबालिकाहरुलाई क्याम्पस जानसमेत समस्या भोग्नुपरिरहेको राजर्षि जनक क्याम्पसमा बि.एड. तेस्रो वर्षमा अध्ययनरत छात्रा सुजिता कुमारी महतोको भनाइ छ।

ठेकेदारले नाला निर्माणको क्रममा सडक खनिदिएको र आयोजनाले पनि सडक बनाउन अहिलेसम्म कुनै चासो नदेखाएका कारण अषाढ महिनामा वर्षा लागेपछि समस्या झनै बढेर जाने चिन्ताले स्थानियवासीलाई पिरोल्न थालेको छ। एसियाली विकास बैंकको झन्डै एक अर्ब ऋण तथा अनुदान सहयोगमा सञ्चालीत एकिकृत शहरी बिकास आयोजनाको निर्माण कार्य सुरु भएको एक बर्ष भन्दा बढि समय बितिसके पनि ठेकेदारले अहिलेसम्म नाला निर्माणको कार्य १५ किलोमिटर पनि गर्न सकेको छैन।

सन २०१८ फरबरी महिना भित्र ३२ किलोमिटर नाला र ९ किलोमिटर भन्दा बढि कालो पत्रे सडक निर्माणका लागि राजधानीको शर्मा निर्माण कम्पनीले ठेक्का कबुल गरेपनि समयमा पूरा नहुने निश्चित रहेको छ।

रेल्बे स्टेसनदेखि भानुु चोक, मालपोत कार्यालयदेखि राराब क्याम्पस, बिषहरा चोकदेखि क्यामपस चोक लगायतका स्थानमा नाला बिछ्याउने क्रममा बाटो खनेर जथाभावी छाडिदिएका कारण निकै समस्या भोग्नुपरिरहेको छ।झण्डै १ अर्बको लगानीमा थालिएको सडक र नाला निर्माणको कार्य पनि सुस्तगतिमा भइरहेको छ।

निर्माण कार्य सुरु भएको एक वर्षभन्दा बढी समय बितिसके पनि ठेकेदारले ३२ किलोमिटर नाला निर्माण गर्नुपर्नेमध्ये अहिलेसम्म १४ किलोमिटर मात्र भएको एकिकृत सहरी विकास आयोजनाले जनाएको छ। विभिन्न कारणबस काम ढिलो हुन गएको एकिकृत सहरी विकास आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले स्वीकार गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.