|

चितवन : स्थानीय तह निर्वाचनका लागि चितवनका राजनीतिक दलहरु अन्तिम गृहकार्यमा लागेका छन्। यद्यपी वडातहमा भने करिब करिब उम्मेदवार छनोट भइसकेको तीनवटै दलले जनाएका छन्।

नेपाली कांग्रेस चितवनले यहाँको ईच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा मुख्य दुई पदमै उम्मेदवार टुंगो लगाएको सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार ईच्छाकामनाको अध्यक्षमा गीता गुरुङ र उपाध्यक्षमा कृति श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।

यस्तै राप्ती नगरपालिकाको प्रमुखमा किरणभूषण सिंह वली र उपप्रमुखमा अनिता मैनालीको नाम टुंग्याएको सभापति श्रेष्ठले जानकारी दिए। अन्य प्राय सबै वडाहरुको अध्यक्ष छान्ने काम पनि कांग्रेसले करिब टुंग्याएको छ। ‘केही स्थानमा बाँकी छ अरु वडा अध्यक्ष लगभग टुंगियो,’ कोषाध्यक्ष शंकर कँडेलले भने।

कांग्रेस श्रोतका अनुसार माडी नगरपालिकामा क्षेत्रबाट नाम टुंगिएर आएपनि जिल्लामा उजुरी परेकाले रोकिएको छ। अन्य नगरपालिका र महानगरको विषयमा छलफल चलिरहेको कांग्रेस चितवनले जनाएको छ।

कांग्रेसका अनुसार भरतपुर महानगरमा २२ जनाले आकांक्षा देखाएका भए पनि शनिबारबाट छलफल शुरु हुँदैछ। कालिका नगरपालिकामा १२, खैरहनीमा ५ र रत्ननगरमा ५ जनाको नाम सिफारिस छ।

एमालेको भोलिसम्म टुंगिने

यता नेकपा एमाले चितवनले पनि उम्मेदवार छनोट अन्तिममा पुर्‍याएको पूर्व जिल्ला अध्यक्ष तथा नेता कृष्ण खनालले जानकारी दिए। उनका अनुसाई ईच्छाकामना गाउँपालिकामा सिफारिस आएका मध्य नारायण अधिकारीको नाम लगभग पक्कापक्की जस्तै भएको छ।

शुक्रबार रातीसम्ममा भएपनि सबैको नाम तय गर्ने उनले जानकारी दिए। एमाले चितवनका अनुसार ईच्छाकामना गाउँपालिकामा ६ जनाको सिफारिस छ। यस्तै कालिका नगरपालिकामा ५, रत्ननगरमा ८, खैरहनीमा १३, राप्तीमा ६ तथा माडी नगरपालिकामा ८ जनाको सिफारिस छ। यस्तै भरतपुर महानगरमा ८ जनाको नाम सिफारिस छ। ‘नगर महानगरको साँझसम्ममा टुंगो लाग्छ खनालले भने 'वडा तहको करिब सकिएको छ।’

माओवादीले शनिबार सार्वजनिक गर्ने

यता नेकपा माओवादी केन्द्रले उम्मेदवार छान्ने अन्तिम तयारी गरेको जनाए पनि १५ गते भित्रमा सार्वजनिक गर्ने पोलिटव्युरो सदस्य घनश्याम दाहालले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रको मेयर जिल्ला पार्टीले र अन्यको प्रदेशले उम्मेदवार टुंग्याउँछ।

वडा तहको लगभग उम्मेदवार तय भएको र शनिबार सार्वजनिक गरिने दाहालले जानकारी दिए। दलका नेताहरुले चैत २८ गते नै सार्वजनिक गर्ने भनेपनि सकस परेपछि दोस्रो मिति वैशाख ७ समेत नाघेको छ।

जिल्लामा अहिले भरतपुर महानगरपालिका सहित रत्ननगर, खैरहनी, राप्ती, माडी, कालिका नगरपालिका छन् भने ईच्छाकामना गाउँपालिका छ। ७ स्थानीय तहमा ७ जना प्रमुख र ७ जना उपप्रमुख, ९८ वडामा ९८ वडाध्यक्ष तथा सदस्यहरु ३९२ जना गरेर ५०४ निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए। जिल्लामा कुल ३ लाख १३ हजार २ मतदाता छन्। ३७६ वटा मतदान केन्द्र तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.