काठमाडौं : शिलाबहादुर मोक्तान नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो। उनलाई नचिन्ने र उनको गीत नसुन्ने संगीतप्रेमी सायदै होलान्। 'कहिलेकाहीँ मलाई पनि हेरिदेऊ है फर्केर', 'माथि-माथि शैलुङ्गेमा' जस्ता गीतमा संगीत भरेर सांगीतिक यात्राको सुरुवातमै चर्चामा आएका शिलाबहादुरले अहिलेसम्म सयौँ गीतमा संगीत भरेका छन्। उनै शिलाबहादुर मोक्तानलाई भेट्न हामी अनामनगर पुग्यौँ।
अनामनगरस्थित 'म्युजिक नेपाल'को कार्यालयमा भेटिए मोक्तान। उमेरले पाँच दशक पार गरे पनि उनी हेर्दा लक्का जवान जस्ता देखिन्थे। म्युजिक नेपालको कार्यालय रहेको घरको पहिलो तलामा दुई कोठाभित्र रेकर्डिङ स्टुडियो छ। त्यही स्टुडियोमा बसेर हामी गफिन थाल्यौँ।
कुराकानी उनको बाल्यकाल र सांगीतिक यात्राबाट सुरु भयो। उनले आफ्नो जन्म सुनदा, नालिन्चौरमा भएको बताए। उनी १६ वर्षको हुँदादेखि नै संगीतमा लागेका रहेछन्। उनले आफूलाई संगीतमा अब केही गर्नुपर्छ भन्ने लागेपछि १८ वर्षको उमेरमा गुरु जेशी राईसँग संगीत सिक्न थालेको सुनाए। भन्छन्, 'आफूभन्दा अग्रजको गीत गाउँदागाउँदै अब आफू पनि गाउनुपर्छ भन्ने लाग्यो र संगीत सिक्न थालेँ।'
उनी गुरुसँग हप्तामा एक पटक संगीत सिक्न जान्थे। संगीत सिक्दै गर्दा उनले अल इण्डिया रेडियोमा स्वर परीक्षा दिए, सफल पनि भए। उनी त्यस समयलाई सम्झँदै भन्छन्, 'त्यो बेला कहाँ अहिलेको जस्तो समय थियो र! हामी त गीत सुन्नलाई कि त रेडियो नेपाल नै बजाउनुपर्थ्यो कि त अल इण्डिया रेडियो नै।' त्यस बेला गीत रेकर्डिङ गर्न पनि भारत जानुपर्ने कुरा सुनाए मोक्तानले।
संगीत सिक्दै गर्दा प्रेम अनि विवाह
उनको विवाह पनि सांगीतिक छ। उनले गायिका कुन्ती सुन्दाससँग विवाह गरेका छन्। शिलाबहादुर संगीत सिक्न गुरुकहाँ जान्थे। गुरु जेशीसँगै संगीत सिक्न कुन्ती पनि आइपुगिन्। त्यो समय २०३७/०३८ सालतिरको थियो, जतिबेला शिलाबहादुर युवावयमा हिँड्दै थिए। शिलाबहादुर भन्छन्, 'पहिलो भेट औपचारिक जस्तो थियो। सामान्य चिनजान भयो तर नाम त पहिल्यै सुनेको थिएँ।'
एकै ठाउँमा संगीत सिक्ने भएकाले शिला र कुन्तीको भेटघाट बढ्दै गयो। गुरु जेशी राईको छत्रछायामा संगीत सिक्दै गर्दा कुन्ती र शिलाबहादुरले एकअर्कालाई माया गर्न थालेको पत्तै पाएनछन्। 'एकअर्कालाई मनपराएको कुरा भन्नै परेन। कसरी कसरी आफैँ भयो माया', त्यो पल सम्झँदै हाँस्दै शिलाबहादुर भन्छन्, 'हाम्रो आँखा-आँखैमा लभ पर्यो।'
त्यसबेलासम्म शिलाबहादुर आफैँ गीत सृजना गर्ने, गीतमा लय भर्नेजस्ता कामहरू गर्न थालिसकेका थिए। अब चाहिँ काठमाडौँ गएर गीत रेकर्ड गराउनुपर्छ भन्ने लागेर उनीहरू दुवै काठमाडौँ छिर्ने विचार गरे र छिरे पनि। कुरा २०३९ सालतिरको हो। यो जोडी भारतको दार्जिलिङबाट काठमाडौँ छिर्यो अनि यतै विवाह पनि गरे। स्मरण रहोस्, उनले त्यस बेला अन्तरजातीय विवाह गरेका थिए।
त्यसबेला नै अन्तरजातीय विवाह गरेका उनलाई खासै समस्या नभएको बताउँछन्। 'हामी विवाह गरेको दुई महिनापछि घर फर्कियौँ', मोक्तान भन्छन्, 'दुई महिनापछि घर जाँदा जे हुनु थियो भैसक्यो भनेर घरबाट पनि खासै समस्या भएन।' उनीहरूका दुवै परिवारले यस कुरालाई स्वीकारेपछि समाजको त डरै भएन उनीहरूलाई। तर समाजमा पनि खासै समस्या नभएको शिलाले बताए।
काठमाडौँमा सुरुका दिन
काठमाडौं छिर्नेबित्तिकै उनीहरू दार्जिलिङमै हुँदा चिनजान भएकी गायिका मीरा राणाकहाँ पुगे। मीराले नै उनीहरूलाई एउटा कोठा भाडामा मिलाइदिइन्। काठमाडौँ आएको केही दिनमै कृष्णमान डंगोलको सहयोगमा उनीहरू जागिरमा लागे। शिला भन्छन्, 'उहाँ (कृष्णमान)ले कुन्तीलाई 'कल्चर होम'मा जागिर लगाइदिनु भएको थियो भने मलाई 'अमर आदर्श विद्यालय'मा संगीत पढाउन लगाइदिनुभयो।' उनीहरूलाई काठमाडौँमा टिक्न खासै गाह्रो भएन।
उनीहरूले त्यसबेला महिनामा लगभग १२ सय रुपैयाँ कमाउँथे। कोठा भाडा जम्मा दुई सय रुपैयाँ थियो। खानलाई दुई सय रुपैयाँ भए पुगिहाल्ने। उनले खर्च गरेर बचेको पैसा सबै भिडियो हेरेर सक्ने बताए। भन्छन्, 'त्यसबेलाको समय एकदमै रमाइलो थियो। असनको गल्लीगल्ली सबै याद छ अझै।' भिडियो हेर्नलाई कुन्ती र शिला सधैँ असनका घरहरूमा चहार्थे रे!
दिनभर खुला चौर र रत्नपार्कको वरिपरि बसेर बदाम खाएका दिनहरू पनि उनको मस्तिष्कमा ताजै छन्। सम्झन्छन्, 'कहिलेकाहीँ त दिनभर काम हुँदैनथ्यो, त्यो समय हामी खुला चौर जान्थ्यौँ र त्यहीँ बदाम, सुन्तला खाएर दिन कटाउँथ्यौँ।' यी दिनमा उनीहरूको प्रेम अझ गाढा भएको महसुस गरे रे उनीहरूले।
परिवार नै सांगीतिक
२०३९ सालमा वैवाहिक बन्धनमा बाँधिएको यो जोडीका अहिले दुई छोरी छन्। छोरी शीतल र सुवानी पनि संगीत क्षेत्रमै परिचित नाम हुन्। उनीहरूले पनि संगीत क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाइसकेका छन्।
शिलाबहादुर संगीतमा लागेका व्यक्ति, श्रीमती कुन्ती मोक्तान आफैँमा संगीतकर्मी त्यति मात्र नभएर छोरीहरू पनि संगीतमै। साँच्चिकै शिलाबहादुरको परिवार सांगीतिक छ। घरका सबै सदस्य संगीतमा हुँदा आफूलाई पनि काम गर्न सहज हुने शिला बताउँछन्।
छोरीहरूको संगीतिक यात्राको विषयमा शिला भन्छन्, 'छोरीहरूलाई पहिला त आफूले नै संगीतमा जोड गरियो तर अहिले फ्रि छन्, जे गर्न मन लाग्छ त्यही गरून्।' परिवारमा दुवै जना संगीतमा लागेकाले पनि छोरीहरूमा संगीतमा चासो बढेको थियो। छोरीहरूले सानैदेखि जिङ्गल गाउँथे। शिला भन्छन्, 'छोरीहरू सानो छँदा मैले ठूली छोरीलाई भ्वालेन र सानी छोरीलाई पियानो बजाउन सिकाएको थिएँ।'
घरको काम गर्न शिलाबहादुर पनि एकदमै जाँगरिला छन्। उनी भान्सादेखि अन्य काम गर्न पनि अघि सरिहाल्छन्। उनलाई बाहिर जाँदा बाटोमा केही नयाँ परिकार देखे घरमा आएर बनाउन मनलाग्छ रे! 'म बाहिर केही परिकार देखेँ भने घरमा आएर त्यो परिकार बनाउन कोसिस गर्छु। त्यो गर्दा रमाइलो नै हुन्छ', उनले भने।
संगीतले नै दिलायो घर र गाडी
शिलाबहादुर र उनको परिवार अहिले काठमाडौँको बौद्धस्थित निजी निवासमा बस्छन्। उनी आफू अहिले गाडी पनि चढ्न्। भन्छन्, 'मलाई यो सब संगीतले नै दिएको हो।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।