|

  • अनिल खत्री-

गुल्मी : गुल्मीमा नेकपा एमाले र माओवादी केन्द्र आपसमा मिलेर चुनाव लड्ने भएका छन्। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाका विभिन्न पदहरु दुई पार्टी बाँडेर चुनावी मैदानमा उत्रिने जनाएका छन्।

एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिका प्रमुख, ६ वटा गाउँपालिका उपप्रमुख र २४ वटा वडा अध्यक्ष दिने सहमति भएको एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले बताए। कुल ९३ वडामध्ये बाँकी वडामा एमालेले अध्यक्ष पाउने सहमति भएको छ। सहमति अनुसार एमालेको अध्यक्ष भएको वडामा माओवादी केन्द्रबाट बहुमत सदस्य पाउने सहमति भएको छ।

दुई पार्टीको तालमेल अनुसार २ वटा नगरपालिका र ७ गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमति भएको छ । सहमति अनुसार माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिका पाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिरबहादुर कार्कीले बताए।

रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको बाहुल्यता रहेको छ भने मुसिकोट नगरपालिकामा नेकपा एमालेको बाहुल्यता रहेको छ। एकल चुनाव लडे गुल्मीमा नेपाली कांग्रेस र एमाले मुख्य प्रतिपर्धिका रुपमा आउँछन् भने तालमेल गरेर अगाडि बढे माओवादी केन्द्र निर्णयक अवस्थामा रहेको दलका नेताहरुको आँकलन रहेको छ।

कुनै ठाउँ एमाले बलियो र कुनै ठाउँ कांग्रेस बलियो रहेकोले त्यस परिणामलाई आफ्नो कोल्टामा ल्याउनको निम्ति पनि चुनावी तालमेल भएको एमालेका नेताहरुको दावी रहेको छ। जिल्लामा माओवादी केन्द्रले जित्नको लागि कुनै पार्टीसंग तालमेल गर्नुपर्ने अवस्थामा रहेकोले उसँग तालमेलको विकल्प नरहेको नेताहरुको भनाइ छ।

नेकपा एमाले र माओवादी केन्द्रको तालमेलपछि कांग्रेसका बलिया अखडा भत्काउने एमालेका नेताहरुको बुझाई छ। जिल्लामा माओवादी केन्द्र एमालेसंग नमिले कांग्रेससंग मिलेर भएपनि चुनावी तालमेल गरेर अगाडि बढ्ने सोंच बनाए पनि कांग्रेससंग नमिलेको माओवादीका एक  नेताले बताए। तीन क्षेत्रमध्ये गत २०७० सालको संविधानसभा निर्वाचनमा एमालेले एक सिट र कांग्रेसले दुई सिट जितेको थियो।

कुल मतमा भने थोरै मतले एमाले अगाडि देखिएको थियो। २०६४ सालको निर्वाचनमा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो स्थानमा रहेको थियो। निर्वाचनमा माओवादीले २ सिटमा विजय पाएको थियो भने एक सिटमा एमाले विजयी भएको थियो।  दुई पार्टीबीच चुनावी ऐक्यबद्धता भएपनि पार्टीभित्र एक्लै चुनाव लडनुपर्ने धारणा राख्ने नेता तथा कार्यकर्ता असन्तुष्ट भएका छन्।

हेर्नुस् सहमति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.