राप्ती साहित्य पुरस्कार एटमलाई, राप्ती सिर्जना पुरस्कार 'नङ्ग्याइएकी द्रौपदी'लाई

|

दाङ: यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई दिइने भएको छ। त्यस्तै, राप्ती सिर्जना पुरस्कार ‘नङ्ग्याइएकी द्रौपदी’ खण्डकाव्यका लागि श्रीधर पौडेललाई प्रदान गर्ने निर्णय भएको छ।

राप्ती साहित्य परिषद् पुरस्कार छनोट समितिको बैठकले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरूका लागि र अभिनन्दनका लागि स्रष्टाहरू छनोट गरेको हो। उक्त अभिनन्दन तथा पुरस्कारहरू परिषद्को आगामी जेठ १३ र १४ गते घोराहीमा हुने ४१औं स्थापना दिवस तथा १३औं अधिवेशनका अवसरमा प्रदान गरिने परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

अध्यक्ष खनालका अनुसार छनोट समितिको बैठकले यस वर्ष नन्दहरि साहित्य पुरस्कार दाङका कुलराज राजभण्डारीलाई, विष्णु–नुमा साहित्य पुरस्कार रोल्पाकी विमला डाँगी ‘विकलता’लाई, डोमादेवी साहित्य पुरस्कार रोल्पाकै लोक आलोकलाई र ऋषि–लक्ष्मी साहित्य पुरस्कार दाङका अर्जुन पौडेल ‘अर्जुन सर’लाई दिने निर्णय गरेको छ। 

त्यसैगरी देवीचन्द्र साहित्य पुरस्कार दाङका गोपाल भुसाल ‘अभिलाषी’लाई, अपामुकुन्द प्रज्ञा पुरस्कार सूर्य बीसीलाई, गोपालचन्द्र प्रज्ञा पुरस्कार प्रद्युम्न पोख्रेललाई, गोमा देवकोटा कला पुरस्कार कमला भारतीलाई र हरिप्रसाद–मीना पाण्डेय कलासाहित्य पुरस्कार रेशम बीसीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष खनालले बताए।  

खोपीलाल हुकुमादेवी छन्द पुरस्कार रुकुमकी सिर्जना शर्मालाई, पण्डित कपिलमुनि भक्तकुमारी शिवाकोटी स्मृति पुरस्कार लीला गम्भीर थारूलाई, पद्मप्रसाद–रूपसा प्रज्ञा पुरस्कार प्रकाश केसीलाई, तिलका–तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार सल्यानका डा. मधुसूदन लामिछानेलाई, चक्रपाणि–लक्ष्मी–लोकेश्वरी स्मृति छन्द पुरस्कार दाङका डिल्लीराज श्रीधरलाई र दिलसरी–दल अतिरिक्त पुरस्कार प्युठानका भावेश भुमरीलाई दिने निर्णय गरिएको पनि खनालले जानकारी दिए।

सोही अवसरमा राप्ती क्षेत्रमा साहित्यिक विकास र सिर्जनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुका साथै परिषद्मा पद्माकुल हाँस्यव्यङ्ग्य पुरस्कार स्थापना गर्ने प्युठानका वरिष्ठ साहित्यकार भुपेन्द्र सुवेदीलाई अभिनन्दन गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ।

छनोट समितिको संयोजकमा परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार नारायणप्रसाद शर्मा, सदस्यहरूमा उत्तमकृष्ण मजगैयाँ, सुशील गौतम, टीकाराम उदासी र शारदा शर्मा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.