|

ताप्लेजुङ : कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो।

कञ्चनजंघा हिमालभन्दा धेरै पर्यटक फक्ताङलुङमा जाने गरेको तथ्यांङ्क छ। कञ्चनजंघा हिमशृङ्खलामा नै रहेको यस हिमालको उचाइ ७७१० मिटर रहेको छ।

केही अघिसम्म विदेशी पर्यटकले फक्ताङलुङ हिमाललाई (जन्नु) हिमालको रुपमा चिनेका यस हिमालमा फाटफुट विदेशी पर्यटक अवलोकनमा लागि पुग्ने गर्दथे। कञ्चनजंघा हिमालको उत्तरी आधार शिविरको बाटोअन्तर्गत हजारे वा खम्बाचेनबाट बिहान पुगेर पैदलरुपमा फर्केर आउन सकिन्छ फक्ताङलुङ हिमालको आधार शिविरबाट। यस हिमालको पहिलो आरोहण प्रयास सन् १९६२ मा भएको थियो।

फक्ताङलुङ हिमालको पहिचान अन्य हिमालका तुलनामा फरक रहेको छ। यहाँ विगत लामो समयदेखि धार्मिक पर्यटक पनि फाटफुट आएर दर्शन गरी फर्कने गर्दथे। किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थलको रुपमा अहिले यस स्थललाई किरातीहरूले मारुम्तेम्बे, पारुम्बेतेम्बे भनेर धार्मिक स्थलका रुपमा पूजाआजा गरी बर्सेनि दर्शनका लागि तीर्थ आउने गर्दछन्। यस हिमालको फेदीलाई अहिले धार्मिकस्थलको रुपमा परिचित गर्ने र त्यस स्थानमा भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै यहाँ आउने धार्मिक पर्यटक ह्वात्तै बढेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताए।

पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दीपक ताप्मादेनका अनुसार फक्ताङलुङ हिमालको फेदीमा रहेको धार्मिकस्थल ४५०० मिटरको उचाइमा भएकाले जुनसुकै मौसममा यहाँ पुग्न सम्भव हुँदैन। त्यसैले पर्यटकीय मौसम असोजदेखि मंसिरसम्म र फागुनदेखि वैशाखसम्म यहाँ जाने उपयुक्त मौसम हो। ताप्लेजुङ सदरमुकामबाट एक दिनको मोटरबाटो भएर लेलेपको सेकाथुम पुगिन्छ। यहाँबाट सामान्यतः तीन दिनको पैदल यात्रामा फक्ताङलुङ पुग्न सकिन्छ।

यस धार्मिक तथा मनोरम प्राकृतिकस्थलमा बर्सेनि हजारौँ किरात धर्मावलम्बी पुग्ने गर्दछन्। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत भारतको विभिन्न क्षेत्रबाट, भुटान, हङ्कङ, बेलायतजस्ता देशबाट नेपाली मुलका धर्मावलम्बी आउने अध्यक्ष ताप्मादेनले बताए। दृष्यावलोकन र मनोरञ्जनका लागि आउने विदशी र स्वदेशी पर्यटकको पछिल्लो समयमा बढ्न थालेको उनले बताए।

विस्तारै यसको प्रचारप्रसार भएको, साथै नेपालीको पनि घुमफिरमा रुचि र समय दिन थालेकाले अहिले यहाँ आउने पर्यटकको सुरुआत मात्रै भएको र आगामी दिनमा यस फक्ताङलुङलाई धार्मिक र प्राकृतिक पर्यटकीय हव बन्न सक्ने अध्यक्ष ताप्मादेनले बताए।

अहिलेसम्म कति पर्यटक र धर्मावलम्बी यस स्थानमा आए तथा वर्षमा कति आउँछन् भनेर कसैले तथ्यांक राखेको पाइएको छैन। कञ्चनजंघा संरक्षण क्षेत्रको पर्यटन चेकपोष्ट घुन्साका कर्मचारी टासी तेञ्जिङ शेर्पाका अनुसार अहिलेसम्म विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको भए तापनि स्वदेशी पर्यटकको तथ्यांक राख्ने व्यवस्था नभएकाले नराखिएका बताउँछन्। उनका अनुसार  गत दुई वर्षबाट विदेशी पर्यटक कञ्चनजंघा आएको भन्दा झण्डै दोब्बर पर्यटक धार्मिकरुपमा यस फक्ताङलुङमा आउने गरेका छन्। विगतको आर्थिक वर्ष २०७६/७७ मा ६०८ जना विदेशी पर्यटक कञ्चनजंघामा आएका थिए भने आव २०७७/७८ मा कोरोना महामारीका कारण ४३ जना मात्र पर्यटक यस क्षेत्रमा आएको पाइन्छ।

फक्ताङलुङ हिमालमा आउने पर्यटक तथा धर्मावलम्बीको लागि अहिले धमाधम आवश्यक भौतिक पूर्वाधार पनि बन्ने क्रम जारी रहेको छ। अहिले उक्त स्थानमा धर्मावलम्बीलाई खान तथा बस्नका लागि भक्तशाला निर्माण भएको छ। गुरुआश्रम पनि निर्माण भएको छ। खान बस्नका लागि थप संरचना बनाउनका लागि र निजी लगानीमा होटल, चिया पसल पनि सञ्चालनको लागि थप कानुनी जटिलता फुकाएर सेवा सुविधा प्रदान गर्नका लागि प्रयास भइरहेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताए।

अबको केही वर्षमा यस क्षेत्रमा धार्मिक पर्यटकको चाप थामी नसक्नु हुने भएकाले यस क्षेत्रको सेकाथुम, लामाटा, ठाङ्गेम, ग्याब्ला, फले, घुन्सा, हजारे, खम्बाचेनका होटल तथा चिया पसल व्यवसायीले पनि लगानी बढाएर सेवा क्षमतामा वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ।

स्थानीय तह, कञ्चनजंघा संरक्षण क्षेत्र, पवित्र कुम्भकर्ण धार्मिकस्थल संरक्षण समिति र स्थानीयको सहकार्यमा यस क्षेत्रमा सञ्चार, विद्युत्, सहज बाटो, स्वस्थ्य सेवा, आवश्यक भौतिक संरचनाको निर्माण तथा प्रचारप्रसार गरेमा यस क्षेत्रको स्थानीय समुदाय, सरोकारवाला निकाय सबैको लागि उदाहरणीय धार्मिक पयर्टन क्षेत्र बन्नेमा शंका छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.