|

चितवनः चितवनका चोक–चौतारा, चियापसल, दोकान तथा होटलहरुमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ। बिहान चियाको चुस्कीसँगै सुरु हुने निर्वाचन सम्बन्धीका छलफल र बहसहरु राति सुत्ने बेलासम्मै निरन्तर हुने गरेको छ। यहाँको भरतपुर, नारायणगढ, रत्ननगर, माडी, पर्सा, भण्डारा, खैरहनीलगायत क्षेत्रका चोक–चौतारामा दुई जना भेट हुनेबित्तिकै निर्वाचनकै बहस हुने गरेका छन्।

रत्ननगरको एक चियापसलमा आएका चन्द्रकान्त न्यौपाने चोक चौतारा र चियापसल मानिसको जमघट हुने भएकाले पनि चुनावी छलफल गर्न सजिलो हुने बताउँछन्। ‘हरेक पार्टीका कार्यकर्ता चिया पिउन आउँछन्, अनि छलफल हुन्छ, सबैको कुरा सुन्दा चुनावमा कुन दलका योजना कस्ता छन् भन्ने पनि थाहा हुन्छ’ उनले भने।

रत्ननगरको बकुलहरमा रहेको दूध डेरीमा चियापसल छ। यो पसलमा प्राय चिया खानेको भीड हुन्छ । उनीहरु सबै निर्वाचनकै विषयमा बहस गरिरहेका भेटिन्छन्। अर्का स्थानीय शिव शर्मा पौडेल कहीँ नभेट्ने मान्छे पनि चिया चौतारोमा भेटिने भएकाले आउन मन लाग्ने बताउँछन्।

चोक र चौतारोमा अहिले उठ्ने उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा कसले टिकट पाउला भनेर बहस चर्काे छ। टिकट पाउने सम्भावना भएका, पाएका र अलि राजनीतिमा बढी सक्रिय भएकाहरु अहिले पार्टी कार्यालय, गाउँमा चुनावी प्रचार तथा नेताहरुले खटाएको स्थानमा क्रियाशील हुन थालेका छन्। जो राजनीतिमा निष्क्रिय र शुभचिन्तक मात्रै छन्, टिकट नपाउने सम्भावनाका र पार्टीबाट रुष्ट भएकाहरु भने चोक चौतारामा भेटिन्छन्।

उनीहरु सबै चुनावी जोड घटाउमै दिन बिताउँछन्।  महिला अधिकारकर्मी शान्ति अधिकारी यो बेलामा दलले चुनावी प्रचार तीव्र पारेकाले पनि गाउँघरमा मान्छे भेटिन मुस्किल हुने तथा चोक चौतारा र चियापसल उपयुक्त ठाउँ हुने उल्लेख गर्छन्।

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लामा यो निर्वाचनमा ३ हजार ३ सय ७० जनशक्ति परिचालन हुँदै छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी कार्यालय सहयोगी र स्वयंसेवक गरी यसरी कर्मचारी खटाउन लागिएको हो। गाउँगाउँमा टोली खटाइएकाले मतदाता शिक्षाको काम तीव्र गतिमा भइरहेको ढकालले बताए।

चितवन जिल्लामा यसपटक नयाँ संरचनाअनुसार एक महानगर, ५ नगरपालिका र १ गाउँपालिका छन्। चितवनबाट निर्वाचनमा ३ लाख १३ हजार २ मतदाताले कुल ५०४ जना जनप्रतिनिधि छान्दै छन् भने उनीहरुबाट मतदान गरी थप २० जना प्रतिनिधि आउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.