|

दमक : उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले चुनाव बहिष्कार गर्ने कठोर निर्णय नगर्न मधेसी मोर्चालाई आग्रह गरेका छन्। जनताको अधिकार गाउँ गाउँमा पुग्न लागेको भन्दै चुनाव बहिष्कार नगर्न थापाले मधेसी मोर्चालाई आग्रह गरेका हुन्। 
राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार झापाको दमकमा गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै मन्त्री थापाले पछिल्लो चरणको वार्ताबाट मोर्चा सकरात्मक भएको भन्दै निर्वाचनमा मोर्चा सहभागी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिले देश नै निर्वाचनमय भएको छ, अब नाकाबन्दी गरेर बन्दुक बोकेर जंगल पसेर जनतालाई दुख दिने बेला छैन।’ नेकपा एमालेलाई पनि लचिलो हुन आग्रह गर्दै उनले भने, ‘मोर्चासँगै एमाले पनि लचिलो हुनुपर्छ, एमालले जे कुरामा पनि हठ गर्न हुँदैन।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्षसमेत रहेका थापाले वैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा पनि नसर्ने दाबी गरे । उनले भने, ‘अब निर्वाचन रोकिँदैन, मोर्चा पनि निर्वाचनमा आउनुपर्छ, हिजोको मोर्चासँगको वार्ता सरकरात्मक भएको छ, यदि मोर्चा निर्वाचनमा सहभागी भएमा निर्वाचन दुई चरणमा हुन सक्छ तर, निर्वाचन सर्दैन, मधेसी दलको तयारीका लागि केही स्थानमा निर्वाचन जेठभित्रै गर्ने गरी सार्न सकिन्छ।’ 
अब देशको भविष्य जनताको हातमा रहेको उनले बताए। उनले भने, ‘देशको भविष्य अब जनताको हातमा छ, तपाईंहरुले चाहानुभयो भने देशमा जे पनि हुन सक्छ, तपार्इंहरुले चाहनुभयो भने गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता खारेज पनि हुन सक्छ, त्यसैले अबको निर्वाचनमा तपाईंहरुले सोचेर अघि बढ्नुपर्ने हुन्छ।’ 
२० वर्षपछि कर्मचारीतन्त्रको अन्त्य हुँदै जनताले अधिकार प्राप्त जनप्रतिनिधि चुन्ने यो चुनावलाई कसैले पनि विथोल्न नहुने उनले बताए। उनले राप्रपाले पनि आलोचनात्मक सर्मथनमा नै संविधान स्वीकार गरेको बताए। उनले भने, 
‘हामीले पनि यो संविधानलाई पूर्ण रूपमा समर्थन गरेका छैनौं, हाम्रो पनि आलोचना छ, तर देशबाट राजनीतिक अस्थिरता सधैका लागि अन्त्य गर्न हामीले आलोचनात्मक समर्थन गरेका हौं, हामी निर्वाचनमार्फत हाम्रा कुरा जनतामाझ लान्छौं, त्यसले मधेसी मोर्चालाई पनि म आफ्ना कुरा निर्वाचनमार्फत जनतामाझ लान सुझाव दिन्छु।’
 मोर्चाको केही मागलाई चुनावअघि सम्बोधन गर्ने र केही चुनावपछि गर्ने सर्तमा मोर्चालाई निर्वाचनमा आउन उनले आग्रह गरे। उनले भने, ‘सबै माग एकै पटक पूरा हँुदैन, केही माग अहिले पूरा गर्ने समझदारी गरेर जाऊँ केही माग निर्वाचन पछि सम्बोधन हुन्छ।’ 
अहिलेको संविधान धेरै लचिलो रहेको भन्दै उनले भने, ‘यो संविधान धेरै लचिलो छ, जनमत लिएर जति पटक पनि संशोधन गर्न सकिन्छ।’ उनले सबै पक्षलाई प्रजातान्त्रिक मूल्यमान्यतामा रहन आग्रह गर्दै भने, ‘लोकतन्त्रमा जनमतका कदर गर्नुपर्छ, त्यसैले यो संविधानको कार्यन्वयनका लागि तीन तहको निर्वाचन आवश्यक छ, निर्वाचन भएन भने देशनै गम्भीर संकटमा पर्छ।’
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाले हिन्दू राष्ट्रको माग गरेर अरू धर्मलाई उपेक्षा गर्न नखोजेको बताए। उनले भने, ‘हामीले हिन्दू रष्ट्रको माग गरेर अरू धर्मलाई उपेक्षा गर्न खोजेका होइनौं, हामी सबै धर्मको सम्मान गर्छौँ तर सनातन धर्मको आधारमा नेपाल हिन्दु राष्ट्रनै हुनुपर्छ।’ 
उनले देशमा राजनीतिक अस्थिरताले जताततै विकृति मौलाएको बताए।

उनले भने, ‘दश वर्षे कथित माओवादी आन्दोलन त्यसपछि दश वर्ष राजनीतिक अस्थिरता त्यस कारण देशमा विकृति मौलाएको छ, देशमा रोजगारका बाटा छैनन्, युवा शक्ति विदेशिनु परेको छ।’ उनले पटक–पटक अरू पार्टीलाई हेरेको भन्दै एक पटक राप्रपालाई हेर्नसमेत आग्रह गरे। कार्यक्रममा पार्टीका सहमहामन्त्री राम थापा, महिला नेत्री कोमल ओली लगायतले बोलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.