|

काठमाडौं : सत्तारुढ दल र मधेसी मोर्चाबीच २ चरणमा निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दल र मधेसी मो्र्चाबीच सहमति जुटेको हो। 

फास्ट ट्रयाकबाट संविधान संशोधन गरेर निर्वाचनमा जाने प्रतिवद्धता सरकारले जनाएपछि मोर्चा सहमतिमा आएको हो। मोर्चाले भनेअनुसार परिमार्जनसहित संविधान संशोधन गर्न सरकार तयार भएपछि मोर्चाका नेताहरुले आन्दोलन फिर्ता लिने प्रतिवद्धता सत्तारुढ दलसँगको बैठकमा व्यक्त गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले भने संविधान संशोधन नभएसम्म आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन्। 'हामीले आन्दोलन छाडेको छैन्। आज सरकारले व्यक्त गरेको सहमति पालना गर्दै फास्ट ट्रयाकबाट संविधान संशोधन गर्छ भने हामी भोली बैठक बसेर आन्दोलन स्थगित गर्ने निर्णय लिन्छौ,' बैठकपछि उनले भने।

सत्तारुढ राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले दलहरुबीच वैशाख ३१ गते पहिलो चरणको तथा जेठको अन्त्यसम्म दोस्रो चरणको निर्वाचन गर्ने सहमति बनेको बताए। 'ढिलामा जेठ ३१ गतेसम्म दोस्रो चरणको निर्वाचन गर्ने र त्यसका लागि निर्वाचन आयोगमार्फत समन्वयको वातावरण मिलाउने सहमति भएको छ,' तामाङले भने। 

राष्ट्रिय जनता पार्टीका नेता केशव झाले प्रदेश नम्बर १,२,५ र ७ को चुनाव जेठ अन्त्यसम्म तथा ३,४ र ६ को चुनाव वैशाख ३१ गते हुने सहमति बनेको बताए। सरकारले भोली नै मन्त्रीपरिषद् बैठकबाट संविधान संशोधनमा हुने परिमार्जनबारे निर्णय लिनेछ।

उनले सरकारले तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप्‍ने विषयमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले निर्णय गर्ने र त्यसपछि मात्रै आन्दोलन फिर्ता हुने बताए। 

स्रोतका अनुसार भोली नै मन्‍‍त्रीपरिषद् बैठकले संविधान संशोधन विधेयकमा परिमार्जन गर्ने निर्णय गर्दैछ। त्यसपछि उपेन्द्र यादव र महन्थ ठाकुर समेतको उपस्थितमा भोली सरकार र मोर्चाबीच मुख्य बुँदामा हस्ताक्षर हुने र मोर्चाले आन्दोलन फिर्ता गर्ने सहमति बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.