|

इलाम : पर्यटकिय नगरी सुर्योदयमा छैटौ अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिप आयोजना हुने भएको छ। नेपाल सितोरियो कराते संघ इलामको आयोजनामा वैशाख १५ गतेबाट १७ गतेसम्म पुरानो शसस्त्र क्याम्पमा प्रतियोगिता हुनेछ।

फिक्कलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी गराइएको हो। प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेशका ४ सय बढी खेलाडीहरु  सहभागी हुँदैछन्। प्रतियोगितामा पुरुषतर्फ २० देखि ७५ केजीमाथी तौल समुहका १३ विधा,  महिलातर्फ २५ देखि ६५ केजी तौल समुहमा ११ विधा र  कातामा २ वटा विधाका १०० वटा मेडलका लागी प्रतिस्पर्धा हुनेछ।

प्रत्येक तौल समुहमा २ जना खेलाडीहरु छनौट गरी अन्तिम प्रतिस्पर्धा गराइने नेपाल सितोरियो कराते संघ इलामका अध्यक्ष योगेश चाम्लिङ्ग राईले बताए। अन्तर्राष्ट्रिय स्तरमा सहभागी जनाएका इलामे खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिता सम्पन्‍न गर्न १० लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको चाम्लिङ्गले जानकारी दिए। प्रतियोगिता सम्पन्‍न गर्न चौधरी ग्रुपको नेपाल आइस, जिल्ला समन्वय समिती, स्थानिय कलकारखाना, मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन समिति, सुर्योदय होटल व्यवसायी संघले सहयोग गर्ने आयोजकले जनाएको छ।

खेल पर्यटनको माध्यमबाट इलामलाई चिनाउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। २०४७ सालमा इलाममा पहिलो पटक अन्तर्राष्ट्रिय आमन्‍त्रण कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.