|

पोखरा : पोखरास्थित चर्चित मणिपाल शिक्षण अस्पतालले मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको छ। कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो।

कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो। 'हामी उपचार गर्न सक्दैनौं भनेर घाइतेलाई लिनै मानेनन्', वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए, 'डाक्टरहरू आन्दोलनमा छन् भनेर त्यहाँका सिनियर व्यक्ति नै आएर भने।' त्यसको केही समयमा एयरपोर्टलगायत ठाउँका एम्बुलेन्स बोलाएर घाइतेलाई पोखराकै अरू अस्पतालमा लगिएको जानकारी उनले दिए।

मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा ९, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो। मणिपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. बीएम नागपालले डाक्टरहरूको आन्दोलनका कारण इमर्जेन्सीमा समेत बिरामी लिन नसकेको बताए। उनले भने, '३/४ महिनादेखि डाक्टर आन्दोलनमा छन्, इमर्जेन्सी उहिल्यैदेखि बन्द छ, कसरी उपचार गर्न सक्नु ?'

डाक्टरहरूको आन्दोलन सुल्झाउन जिल्ला र क्षेत्रीय प्रशासन हुँदै स्वास्थ्यमन्त्री र त्यसभन्दा माथि ध्यानाकर्षण गराउँदा पनि केही हुन नसकेको गुनासो डा. नागपालले गरे। 'आजको घटना यहाँको आन्दोलन सुल्झाउन कतैबाट पहल नहुँदाको नतिजा हो', उनले भने। डाक्टर आन्दोलनको निकास निकाल्न काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल मात्र नभएर प्रधानमन्त्रीसमेत गुहारिसकेको तर कतैबाट केही नभएको नागपालले दुःख व्यक्त गरे। काममा नियमित रहेका केही भारतीय र नेपाली वरिष्ठ डाक्टरबाट बहिरंग सेवा मात्रै चलाउन थालेको थुप्रै समय भएको उनले बताए।

आन्दोलनमा रहेका एक डाक्टर दीपक कोइरालाले त्यत्रो ठूलो दुर्घटनाका घाइतेलाई आन्दोलनले ठप्प अस्पतालमा विना पूर्वजानकारी लैजानु नै गल्ती भएको बताए। उनले भने, 'हामी नभए पनि त्यहाँ काम गरिरहेका डाक्टरले घाइतेको उपचार गर्नुपर्थ्यो, किन गरिएन भन्ने प्रश्नको जवाफ मणिपाल व्यवस्थापनले दिनुपर्छ।' अस्पतालजस्तो महत्वपूर्ण क्षेत्रमा माग राखेर गम्भीर बिरामीको उपचार नै नगर्नु डाक्टरको नैतिकता हो कि होइन भन्ने उनले बताएनन्।

स्थायी गरिनुपर्ने, तलब वृद्धि गरिनुपर्नेलगायत माग राखेर मणिपालका ३५ जनाभन्दा बढी नेपाली डाक्टर तीन महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन्। आन्दोलनले मणिपाल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी र अस्पताल पुग्ने बिरामी दुवै मर्कामा परेका छन्। मणिपालको आन्दोलनको निकास निकाल्न श्रम, प्रशासनलगायत कार्यालयमार्फत स्थानीयस्तरमा भएको पहल सफल भएको छैन। केन्द्रीय स्तरबाट पनि ठोस पहल नभएको अभिभावक, स्थानीय र मणिपाल व्यवस्थापनको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.