प्रमुख र उपप्रमुख भने अझै टुंगिएनन्

|

चितवन : नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार अझै टुंग्याउन सकेको छैन। जिल्लामा केन्द्रीय अनुसासन आयोगका संयोजक अमिक शेरचनको सहभागितामा शनिबार २९ मध्ये २५ वडाको अध्यक्ष तथा सदस्यहरु टुंग्याउँदै उसले नामावली सार्वजनिक गरेपनि महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको छलफल भने राम्ररी  शुरु हुनै सकेको छैन। सोमबारदेखि भने औपचारिक छलफल शुरु हुने जनाइएको छ।

कांग्रेस र एमालेले आकांक्षीहरुको नाम नै सार्वजनिक गरेर छनोट चरण अन्तिममा पुर्‍याएको भए पनि माओवादी केन्द्रले भने छलफल नै शुरु नभएको बताएको छ। पोलिटव्यूरो सदस्य तथा जिल्ला सह ईन्चार्ज घनश्याम दाहालले वडाहरुको उम्मेदवार टुंगो लागेकाले अब नगर प्रमुखको छलफलमा लाग्ने र वैशाख १५ सम्ममा टुंग्याउने बताउँछन्।

हालै पार्टी एकीकरणबाट माओवादी केन्द्रमा आएका रामबहादुर थापा बादलको घर र हालका प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्ड कै घर समेत भरतपुर महानगरपालिकामा नै परेकाले उनीहरुका लागि ठूलो प्रतिष्ठाको लढाई बनेको छ।

नेता घनश्याम दाहाल अविनास उत्साहजनक र उभार देखिएको भन्दै  पार्टीप्रतिको आकर्षण बढेको दावी गर्छन्। माओवादी केन्द्रमा सम्भावित उम्मेदवार भने खुलेर आउन सकेका छैनन्। तैपनि सम्भावित उम्मेदवारहरु ५, ७ जनाको नाम बाहिर आएको छ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रहेकी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल महानगरको प्रमुखमा उठ्ने चर्चा पछिल्लो समयमा व्यापक भएको छ। माओवादीका एक नेताले अन्यको हकमा धेरै विवाद भएकाले रेणु आएमा सबै शान्त हुने र सम्भावना पनि बलियो रहेको जनाए।

माओवादी केन्द्रबाट भरतपुर महानगरको प्रमुखमा पहिलो संविधान सभा सदस्य बनेका नारायण दाहाल, अर्का नेता सूर्य सुवेदी पथिक, घनश्याम दाहाल, अविनास, ठाकुर ढकाल, मित्रराज दवाडी, नारायणसिंह कुँवरको नाम चर्चामा छ। यसअघि नारायण दाहाल र  पथिक अग्रपंक्तिमा थिए। तर अब रेणु दाहालको सम्भावना बढ्दै गएको छ। 

यद्यपी रामबहादुर थापासँगै माओवादी केन्द्रमा वैद्य नेतृत्व छाडेर आएका पथिक पनि बलियो उम्मेदवार हुन्। यही वैशाख ११ गतेबाट भने औपचारिक रुपमा महानगरको प्रमुख र उपप्रमुखमा छलफल शुरु हुने माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य नारायण आचार्य बताउँछन्।

एक गाउँ र २ नगरमा टुंगियो उम्मेदवार

मओवादी केन्द्रले ईच्छाकामना गाउँपालिका र कालिका नगरपालिका तथा राप्ती नगरपालिकामा  उम्मेदवार टुंग्याएको छ। माओवादी केन्द्रले दिएको जानकारी अनुसार कालिका नगरपालिका प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामाको नाम टुंग्याइएको महाधिवेशन आयोजक समितिका सदस्य नारायण आचार्यले जानकारी दिए।

यस्तै ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमा सावित्री सिलवालको नाम तय गरिएको छ। राप्तीमा रामचन्द्र पाठकलाई प्रमुखको उम्मेदवार बनाइएको छ।

अन्य नगरपालिकाको हकमा भने छलफल चलिरहेको र केही दिनमा टुंग्याउने माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले जानकारी दिए। वडा तहमा भने आइतबार नै धेरै ठाउँको नाम टुंग्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.