|

चितवन : यही वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका धेरैजसो मतदाता कुनै दल विशेष भन्दा पनि राम्रो सामाजिक छवि भएका र विकासप्रेमी उम्मेदवारलाई भोट दिने तयारीमा छन्।

निस्वार्थी र राम्रा नेता छानिएमा गाउँ तथा नगरको विकासले फड्को मार्ने भन्दै मतदाताहरु राम्रालाई भोट दिनुपर्ने बताउँछन्। वुद्धिजिवी गंगाधर खराल जनतासँग घुलमिल हुन सक्ने, विकासप्रेमी व्यक्ति र राम्रा व्यक्ति नै चुनावका लागि उपयुक्त हुने बताउँछन्। खराल भन्छन् ‘आज चुनाव जितेर पनि उही रुपमा, जसरी भोट माग्दा जनतालाई हेरेको थियो, जितेपछि पनि त्यसैगरी हेर्ने व्यक्ति चाहिन्छ।’ उनले चरित्र राम्रो भएको व्यक्तिलाई छान्न सके उपयुक्त हुने सुझाव दिए।

विगतमा चुनाव जितेपछि नेता गाउँमा फर्केर पनि आएनन् भन्ने गुनासो व्याप्त छ। चितवनको विकट सिद्धिका अतिसिमान्तकृत समुदायका सुब्बा चेपाङको अनुभव पनि त्यही छ। ‘अब हामीलाई सहयोग गर्ने, विकास गर्ने मान्छेलाई नै भोट दिने हो', सुब्बा चेपाङ भन्छन्।

चितवनमा दलका नेताहरु भने उम्मेदवार छान्ने र प्रचारप्रसारमा तिब्रता दिने काममा व्यस्त भएका छन्। चितवनको रत्ननगरका एकजना वडाध्यक्षको उमेद्वार स्वयंले नै आफ्नो चुनावी नारा  ‘हाम्रालाई होइन राम्रालाई जिताउँ’ भनेर राखेका छन्।

नेपालमा स्थानीय तहको निर्वाचन नभएको २ दशक भयो। त्यसैले धेरैका लागि यो निर्वाचन नयाँ छ। त्यसमाथि संघीय संरचना अनुसारको निर्वाचन भएकाले पनि विल्कुलै फरक छ।

अधिकार गाउँतहमा आउने बेलाको निर्वाचन भएकाले अझै यो पालीको चुनाव महत्वपूर्ण र आशा गर्ने खालको रहेको भरतपुरकी शान्ति अधिकारी बताउँछिन्। उनी पनि राम्रा उम्मेदवारलाई चुन्न सके विकासले फड्को मार्ने बताउँछिन्। चितवन जिल्लामा एक महानगर, एक गाउँपालिका र ५ नगरपालिका छ। ३ लाख १३ हजा र२ मतदाताले कुल ५०४ जना निर्वाचित गर्ने छन्।

 यसपालिको निर्वाचन संघीय संरचना र राज्य पुनर्संरचना पछिको पहिलो भएकाले अधिकार गाउँतहमै आएको छ। त्यसैले पनि राम्रा उमेद्वार छान्नु अति आवश्यक हुने स्थानिय प्रकाश भट्टराई बताउँछन्। ‘जो आएपनि विकास हुनुपर्‍यो'  भट्टराईले भने 'आएका उम्मेदवारमध्ये सबैभन्दा उपयुक्त जो हुन्छ, जसले काम गर्न सक्छ उसैलाई जिताउन सके विकास हुने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.