|

काठमाडौँ : शहीद रत्नकुमार वान्तवा वाङ्मय पुरस्कार पहिलो पटक लेखक तथा पत्रकार सचित राईलाई प्रदान गरिएको छ। ‘आँखा’ विकास पत्रिकाद्वारा शहीद वान्तवाको नाममा स्थापित उक्त पुरस्कार अनुसन्धानमूलक कृति ‘माङखिम’का लागि पत्रकार राईलाई प्रदान गरिएको हो। पुरस्कार राशि नगद पाँच हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ। 

राजधानीमा शनिबार पाँचथर स्रष्टा मञ्चसँग संयुक्त रूपमा आयोजित कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक डा. देवी क्षेत्री दुलालले कौशिला थापा र लीलादेवी दुलालको स्मृतिमा शहीद रत्नको नाममा वाङ्मय पुरस्कार स्थापना गरेको जानकारी गराए। 

रत्न–बम स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका डा. दुलालले भने, ‘शहीद रत्नले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानलाई अनुसन्धानमूलक कृति ‘माङखिम’मार्फत उजागर गरिदिनुभएकोमा युवास्रष्टा तथा पत्रकार राईलाई पुरस्कृत गरिएको हो।’ पत्रकार राईका ‘माङखिम’सहित कवितासंग्रह ‘अर्को भ्रम’लगायत कृति प्रकाशित छन्। 

राईलाई साहित्यकार डा. तुलसी भट्टराईले ताम्रपत्र र सम्पादक डा. दुलालले नगद पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा साहित्यकार प्रा. राजेन्द्र सुवेदीले रत्नसँग आफूले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्यापन गरेको सुनाए। इलामको चमैता गाविसमा २००८ साल चैत २७ गते जन्मिएका वान्तवा पञ्चायतविरुद्ध लाग्दा २०३५ चैतमा २७ गते नै २७ वर्षको उमेरमा प्रहरीद्वारा मारिएका थिए। उनलाई सरकारले झण्डै ३८ वर्षपछि गत वर्ष शहीद घोषणा गरेको थियो। 

पत्रकार राईले नेपाली समाजमा उनको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको उल्लेख गर्दै पुरस्कारले थप जिम्मेवारीबोध गराएको बताए। ‘माङखिम’मा रत्नसहित २००७ सालको क्रान्तिका कमाण्डर रामप्रसाद राई, महिला आन्दोलनका अगुवा सरस्वती राई, राष्ट्रिय विभूति फाल्गुनन्ददेखि जोसमनी सन्त परम्पराका अगुवा शशिधर, सन्त ज्ञानदिलदासलगायत व्यक्ति तथा विषयका फरक पाटो समेट्ने प्रयत्न गरेको उनको भनाइ थियो। ‘मैले समाजका देखेका विषयलाई दस्तावेजीकरणको प्रयाससम्म गरेको हुँ’, राईले भने, ‘यद्यपि, मेरो कामलाई मूल्यांकन गरी पुरस्कृत गरिदिनुभएकोमा आभारी छु।’ 

कार्यक्रममा पाँचथरका स्रष्टा गुरुङ रामप्रकाश समथिङले लेखेका २२ वटा औपन्यासिक कृति सामूहिक रूपमा लोकार्पण पनि गरिएको थियो । साहित्यकारहरू प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, प्रा. राजेन्द्र सुवेदी, डा. भक्त राई, डा. कुलराज निरौलालगायतले ती कृतिको विमोचन गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.