|

बाँके : नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टुंगो लगाएको छ। कोहलपुर नगरपालिका प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णाकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ। गाउँपालिका र नगरपालिकाबाट आएको सिफारिसका आधारमा जिल्ला कमिटीले एमालेको प्रदेश कमिटीमा सिफारिस गरेपछि प्रदेश कमिटीले उम्मेदवारको नाम टुंगो लगाएको हो।

त्रिभुवन मावि कोहलपुरको स्थायी शिक्षकको जागिर छोडेका रावत कोहलपुर गाविसको २ कार्यकाल अध्यक्ष भइसकेका छन्। उनी कोहलपुर क्षेत्रका परिचित नेता हुन्। उपप्रमुखका उम्मेदवार २३ वर्षीय चौधरी युवा नेताको रुपमा परिचित छिन्। कोहलपुर नगरपालिकामा थारु समुदायको बाहुल्यता रहेकोले एमालेले उनलाई उपमेयरको उम्मेदवार बनाएको हो।

खजुराको प्रमुखमा कक्षपति र उपप्रमुखमा विक

एमालेले बाँकेको सवैभन्दा चर्चित खजुरा गाउँपालिकाको अध्यक्षमा किस्मतकुमार कक्षपति र उपाध्यक्षमा एकमाया विकको नाम टुंगो लगाएको छ। कक्षपति एमाले बाँकेका प्रचार विभाग प्रमुख हुन्। उनी खजुरास्थित क्यान्सर अस्पतालका अध्यक्षका साथै व्यापारी हुन्।

कक्षपतिले खजुरा क्षेत्रमा क्याम्पस, खानेपानी, बैंक, वित्तिय संस्था स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उपाध्यक्षका उम्मेदवार विक एमाले बाँकेको कार्यसमिति सदस्य एवम् द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष हुन्। 

डुडुवाको प्रमुखमा पत्रकार खाँ एमालेको उम्मेदवार

मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको डुडुवा गाउँपालिका अध्यक्षमा एमालेले युवा नेता शकील अहमद खाँ र उपाध्यक्षमा कृष्णा पाण्डेलाई उम्मेदवार बनाएको छ। खाँ प्रेस चौतारी नेपाल बाँकेका उपाध्यक्ष हुन्। डुडुवा गाउँपालिकामा मधेसी र मुस्लिमको बाहुल्यता रहेकोले एमालेले मुस्लिम र मधेसीलाई अध्यक्षको उम्मेदवार बनाएको हो।

राप्ती–सोनारीमा चौधरी र बागवल

एमाले प्रदेश नं. ५ कमिटीको शनिबार अबेर राति सम्पन्न बैठकले बाँकेको सबैभन्दा ठूलो गाउँपालिका राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा तुल्सीराम थारु र उपाध्यक्षमा चमेली बागवललाई उम्मेदवार बनाएको छ। अध्यक्षका उम्मेदवार थारु एमाले बाँकेका जिल्ला कमिटी सदस्य हुन्। उपाध्यक्ष बागवल साविक फत्तेपुर गाविसका नाम चलेका एमाले कार्यकर्ता हुन्।

जानकीमा यादव र धिताल एमालेबाट भिड्दै

मधेसी क्लष्टरको रुपमा रहेको जानकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम पनि एमालेले टुंगो लगाएको छ। एमाले बाँकेका अनुसार अध्यक्षमा रामनिवास यादव र उपाधयक्षमा भूमिसरा धिताल जानकी गाउँपालिकाको एमालेको तर्फबाट उम्मेदवार घोषणा भएका छन्।

यादव जानकी गाउँपालिकाका समाजसेवी एवम् नाम चलेका ब्यक्ति हुन् भने धिताल साविक खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष पदम धितालकी पत्नी हुन्। धितालले आफू प्रमुखमा नउठेर आफ्नी पत्नीलाई उपप्रमुखको उम्मेदवार बनाएका हुन्।

नरैनापुरमा प्रमुख र उपप्रमुख यादव उम्मेदवार

एमालेले नरैनापुर गाउँपालिका अध्यक्षको उम्मेदवार विक्रम यादवलाई बनाएको छ।  सुनिता यादव उपाध्यक्षको उम्मेदवार भएकी छन्। विक्रम एमालेका वैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवका छोरा हुन्। सुनिताका ससुरा केहीदिन अघिमात्र ठूलो समूहका साथ एमालेमा प्रवेश गरेका थिए। सुनिताको परिवारको नरैनापुर गाउँपालिकामा राम्रो प्रभाव भएकोले एमालेले उनलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो।

बैजनाथमा रुचाल र विकलाई टिकट

बाँकेको बैजनाथ गाउँपालिकामा एमालेले मानबहादुर रुचाललाई अध्यक्ष र र शारदा विकलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। रुचाल एमालेमा लामो समयदेखि सक्रिय हुँदै आउनुका साथै उनी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट नौवस्ता गाविसबाट निर्वाचित भएका थिए।

अध्यक्ष हुँदाको वखत कुनै दाग नलागेका रुचाल बैजनाथ गाउँपालिकामा लोकप्रिय छन् भने, उपाध्यक्षका उम्मेदवार विक एमालेकी सक्रिय कार्यकर्ता हुन्।

नेपालगन्जको मेयरमा गुप्ता र सिद्धिकीको नाम सिफारिस

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारका लागि एमालेले नाम सिफारिस गरी केन्द्रमा पठाएको छ। एमाले बाँकेका अनुसार प्रमुखका लागि समशुद्धिन सिद्धिकी र विजय गुप्ताको नाम केन्द्रीय समितिमा पठाएको छ। भने उपप्रमुखका लागि शान्ति ढकाल र रचना श्रेष्ठको नामा सिफारिस भएको छ।

नाम सिफारिस भएका गुप्ता एमालेमा राम्रो पकड भएको नेता मानिन्छन्। उनी एमाले वाणिज्य विभागका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर ५ का इन्चार्ज समेत हुन्। एमाले राजनीतिका साथै उनी नेपालगन्जमा हार्डवेयरको ब्यवसाय सञ्चालन गर्दै आएका छन्। एमालेको नेपालगन्जमा भएको ५ औँ महाधिवेशन सफल बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

सिद्धिकी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। भारोत्तोलन खेलाडी समेत रहेका सिद्धिकी उपप्रमुख हुँदा नेपालगन्जको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.