|

विराटनगर :  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन गरेर सरकारले निर्वाचनको वातावरण तयार गरे आफूहरूले निर्वाचनमा भाग लिने बताएका छन्।

विराटनगरमा सोमबार राष्ट्रिय जनता पार्टी मोरङले गरेको पत्रकार भेटघाटमा बोल्दै ठाकुरले सरकारले पुराना सहमतिको कार्यान्वयन गर्दै संविधान संशोधन गरेमा निर्वाचनको वातावरण बन्ने र आफूहरुले पनि भाग लिने बताएका हुन्।

हँसिलो मुद्रामा पत्रकार माझ प्रस्तुत भएका उनले सरकारले संविधान संशोधन गरेपछि आफूहरूले निर्वाचनका लागि कार्यक्रम प्रस्तुत गर्ने र दल पनि निर्वाचन आयोगमा दर्ता गर्ने जानकारी दिए। नेता ठाकुरले केही दिनका लागि मतदाता नामावली दर्ता गर्ने समय पनि थप गर्नुपर्ने आफूहरूको माग रहेको र त्यसबारे निर्वाचन आयोगसँग वार्ता गरिने बताए। उनले हाल ३१ जेठ भनेर दोस्रो चरणको निर्वाचनको मिति मात्र तोकेको तर सरकारले संविधान संशोधन नगरेको र आयोगले निर्वाचन कार्यक्रमहरू पनि प्रस्तुत नगरिसकेकोले आफूहरूले माग पूरा नभएमा निर्वाचनमा भाग लिने सम्भावना भने नरहेको जानकारी गराए।

नेता ठाकुरले सरकारले भनाइमा मात्र निर्वाचनको वातावरण बनाए पनि संविधान संशोधन नगरेसम्म चुनावको वातावरण बन्नै नसक्ने बताए। ‘सरकारले संविधान संशोधन गरोस् र मुद्दाहरु फिर्ता गरोस् निर्वाचनको वातावरण तयार हुन्छ,’ ठाकुरले भने। उनले सरकारले निर्वाचनको वातावरण बनाउने विश्वास दिलाएकोले आफूहरूले आन्दोलन तत्काल स्थगित गरेको तर वातावरण तयार नभएमा पुनः सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

अध्यक्ष मण्डलका सदस्य ठाकुरले मधेस शब्द हटाउँदैमा आफूहरु मधेसीको नेता नहुने र मधेस र मधेसीको हितमा काम नगर्ने भ्रम नपाल्न आग्रह गरे। उनले देशभरका उत्पीडितका लागि एक भएर राष्ट्रिय जनता पार्टी निर्माण गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.