|

काठमाडौं : बढ्दो ध्वनि प्रदुषणलाई कम गर्ने उद्देश्यले काठमाडौं, भक्तपुर र ललितपुरका सडकहरुमा गरिएको हर्न निषेधको प्रभाव सकारात्मक पर्न थालेको छ। वैशाख १ गतेदेखि यो नियम कार्यान्वयनमा आएसँगै काठमाडौंसहित तीन जिल्लाका सडकमा सवारी साधनले अनावश्यक रुपमा हर्न बजाउन छाडेका छन्। अनावश्यक रुपमा हर्न बजाउनेलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रवक्ता ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले बताए।

मल्लका अनुसार नियम कार्यन्वयन भएको १५ दिनमा २६ सय गाडी सय गाडी कारबाहीमा परेका छन् र कारबाहीमा परेका सवारी साधनबाट १३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ। हर्न बजाएर कारबाहीमा पर्नेमा मोटरसाइकल बढी रहेका छन्। 

काठमाडौं महानगरपालिकाले हर्न निषेध गरेको दिनदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी लोकेन्द्रबहादुर मल्लले आफ्नो गाडीमा हर्न र साइरन बजाउन छाडेका छन्। उनी भन्छन् ‘साइरन हर्न भनेको अति आवश्यक परेको ठाउँमा मात्र प्रयोग गर्ने चिज हो, छ भन्दैमा अनावश्यक रुपमा यसको प्रयोग गर्नु नियमको उलंघन हो र नियम उलंघन गर्नेलाई कारबाही हुन्छ।' 

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेल हर्न निषेधको अभियान सफल हुँदै गएको बताउँछन्। 'नो हर्न काठमाडौं उपत्यकालाई स्वच्छ बनाउने अभियानको एउटा सुरुवात हो। यो अभियानले सबैलाई फाइदा नै गरेको छ, चाहे पैदलयात्री होउन् वा बसमा सवार यात्रु' पौडेलले भने। उनको बुझाइमा सवारी साधन चलाउने भनेको ड्राइभरको दिमाग, हात, कान, आँखा र खुट्टाले हो, हर्नले होइन।

१० लाख भन्दा बढी सवारी साधन र ३० लाख भन्दा बढी मानिस रहेको काठमाडौंको कोलाहल वातावरणलाई शान्त बनाउने अभियान अन्तर्गत हर्न बजाउन निषेध गरिएको कार्यकारी अधिकृत पौडेलको भनाइ छ। 'मैले यसलाई नयाँ बर्ष सँग जोडेको थिएँ' उनले भने 'यसमा मिडियाले पनि साथ दिएको छ। पत्रिका, टेलिभिजन, रेडियो र अनलाइनमा कतिले सामाचारको माध्यमले र कतिले कार्टुन बनाएर व्यंग्यात्मक ढंगले प्रचार गर्नुभएको छ।'

हर्न बजाउन निषेध गर्ने नियमको प्रचार प्रसार गर्न समाजमा राम्रो छवि बनाएका कलाकारहरुको सहभागितामा मोटरसाइकल र्‍याली गर्ने महानगरपालिकाको योजना छ। 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बनाइसकेका कलाकारको साथमा नो हर्नको व्यानर सहित म आफै पनि मोटरसाइकल चलाएर र्‍याली निकाल्ने योजना छ' कार्यकारी अधिकृत पौडेलले भने।

कतिपयले काठमाडौंका सडकहरु भत्किएका र कतिपय ठाउँमा ट्राफिक चिह्नहरु पनि मेटिएकाले अहिलेकै अवस्थामा हर्न बजाउन निषेध गर्नु उपयुक्त नहुने बताएका छन्। महानगरपालिकाले भने ट्राफिक प्रहरी र सडक सम्बन्धी काम गर्ने निकायसँगको सहकार्यमा सडक सुधार गर्ने बताएको छ। व्यवस्थित लेन प्रणली, र जेब्रा क्रसिङको ठाउँ थप्ने महानगरपालिकाको योजना रहेको पौडेलले बताए। हर्न बजाउन नपाइने नियम पूर्ण रुपमा कार्यान्वयन भएमा ६० प्रतिशत दुर्घटना कम हुने कार्यकारी अधिकृत पौडेल बताउँछन्। 'यदि नो हर्न अभियानले यसरी नै सफलता पाउदै जाने हो भने काठमाडौं उपत्यकाको सवारी दुर्घटना ६० प्रतिशत घटने छ' उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.