|

विराटनगर : मधेसी मोर्चालाई सहभागी गराउने उद्देश्यअनुसार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयले मोरङका राजनीतिक दलहरुलाई राहत मिलेको छ।

निर्वाचन घोषणाको छोटो समयमै चुनावमा होमिनुपर्ने चटारोले पार्टीहरुले पर्याप्त तयारी गर्न नपाएको बताउँदै आएका थिए। यद्यपि सरकारले १ नम्बर प्रदेशलगायत ४ वटा मधेसको भूगोल सम्मिलित प्रदेशमा जेठ ३१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ। जसका कारण पार्टीहरुले उम्मेदवार छनोट, चुनाव प्रचार, भेला तथा बैठकका लागि पर्याप्त समय पाउने भएपछि राहत महसुस गरेका छन्।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले उम्मेदवारी छनोटका लागि एक महिना चुनाव सर्दा राहत भएको बताए। ‘पार्टीको आन्तरिक बैठकहरुमा सघन छलफलको समय पाइयो,’ लिम्बूले भने, ‘निर्वाचनको प्रचार प्रसारदेखि जनताको घरदैलोमा जाने योजना बनाउन पनि पाइने भो।’

कांग्रेसले निर्वाचनको मिति सरेसँगै उम्मेदवार छनोटको काम पनि स्थगित गरेको छ। ‘अहिले उम्मेद्वारको टुंगो लगाइहाल्ने चटारो नभएका कारण अरु नै छलफल र योजनामा केन्द्रित भएका छौं,’ लिम्बूले भने, ‘उम्मेदवार छनोटको काम भने अहिले स्थगित भएजस्तै भएको छ।’

यता, नेकपा एमालेले पनि उम्मेदवार छनोटको काम स्थगित गरेको छ। एमाले मोरङका अध्यक्ष विनोद ढकालले निर्वाचनको मिति नजिकिँंदै जाँदा माहोल बन्दै गएको अवस्थामा चुनाव रोकिँदा केही अन्योल जस्तो देखिएको बताए। ‘उम्मेदवार छनोटको काम स्थगित गरेका छौं,’ ढकालले भने, ‘मनोवैज्ञानिक रुपमा केही असर गरेको भए पनि समय पाउँदा तयारी पर्याप्त हुने देखिएको छ।’

नेकपा माओवादी केन्द्रले पनि निर्वाचनको मिति सरेपछि राहत महसुस गरेको बताएको छ। अधिकांश ठाउँमा उम्मेदवारको टुंगो लगाइसकेको माओवादीले बाँकी रहेका स्थानीय तहको उम्मेदवारको पनि टुंंगो लगाउँदै जाने तयारी गरेको माओवादी केन्द्र मोरङका संयोजक गोपी आछामीले बताए। ‘समय थप भएपछि योजनाबद्ध ढंगले काम गर्ने मौका पाइयो,’ आछामीले भने, ‘यसअघि समयको अभावले केही लथालिंग हुने अवस्था थियो।’

राप्रपाका केन्द्रीय सदस्य दिनेश साहले भने निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको कारण आफूहरुलाई खासै फरक नपरेको बताए। ‘सबै पक्ष चुनावमा आउने वातावरण बन्दा सबैतिर खुसी छाएको पक्कै हो,’ साहले भने, ‘हामीले तयारी भने सकेर बसेका छौं, अझै छलफल गर्ने मौका पाइएको छ।’

मधेसी मिल्दा अरुलाई झड्का

मधेसी मोर्चाका कतिपय घटकहरुले धमाधम पार्टी एकता गर्न थालेपछि मोरङका अन्य पार्टीले चुनावी परिणाम तलमाथि हुन सक्ने आंकलन गरेका छन्। नेपाली कांग्रेस मोरङका सभापति लिम्बूले मधेसी मोर्चाका कतिपय घटकहरुले एकता गरेपछि मधेसमा चुनावको परिणाम फरक पार्ने बताए।

‘मधेसी दलहरु एकताबद्ध हुँदै सशक्त ढंगले अगाडि आउँदा परिणाम सोचेजस्तो नहुन पनि सक्छ,’ लिम्बूले भने ।

माओवादी केन्द्रका मोरङ संयोजक गोपी आछामीले मधेसवादीहरु पनि सशक्त प्रतिस्पर्धीको रुपमा अगाडि आएको स्वीकार गरे। ‘चुनावी परिणाममा कति असर गर्छ भनिहाल्न सकिन्न,’ आछामीले भने, ‘यद्यपि प्रतिस्पर्धा धेरैतिर हुने देखियो, मधेसी दल पनि सशक्त हुने देखिन्छ।’

नेकपा एमालेका मोरङ अध्यक्ष विनोद ढकालले भने मधेसीको एकताले आफ्नो पार्टीलाई कुनै असर नगर्ने बताए। ‘एमालेलाई सबै मिल्दा पनि असर गर्दैन,’ ढकालले भने, ‘मधेसका दुई/चार पार्टी मिल्दैमा केही हुँदैन।’ राप्रपाका नेता दिनेश साहले भने मधेसी दल पनि बलियो प्रतिस्पर्धी हुने भएका कारण आफ्नो पार्टी बाहेकका ठूला पार्टीलाई असर गर्न सक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.