|

भारत प्रशासित कश्मीरको कुपवाडास्थित एक सेनाको क्याम्पमा हतियारधारीले आक्रमण गर्दा ३ सैनिकको मृत्यु भएको छ। हातहतियार र गोलाबारुदको भण्डार रहेको क्याम्पमा गरिएको हमलाको प्रतिकारमा परी दुई आक्रमणकारी मारिएका छन्। स्थानीय समयअनुसार बिहीबार बिहान ५ बजे सैनिक क्याम्पमा हमला गरिएको थियो।

मारिने सैनिकमध्ये एक अधिकृत रहेका छन्, अन्य दुई जना जवान हुन्। ५ जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।

भारतीय सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले उक्त आक्रमण अप्रत्यासित रहेको बताएको बीबीसीले लेखको छ। कालियाले आक्रमणकारी मारिएको र बाँकीको खोजतलास चलिरहेको बताएका छन्।

कुपवाडा सैनिक क्याम्प पाकिस्तानसँगको सीमाना नजिकै रहेको बताइएको छ।

श्रीनगरमा ९ अप्रिलमा भएको उपचुनावपश्चात उक्त क्षेत्रमा हिंसा भड्किएको थियो। जहाँ ७ प्रतिशतभन्दा कम मत खसेको थियो। त्यतिबेला भएको हिंसामा सुरक्षाबलले चलाएको गोलीबाट कम्तिमा १० जनाको मृत्यु भएको थियो।

उक्त चुनाव र स्थानीयको मृत्युपछि कश्मीरमा हिंसा भड्किएको छ। इन्टरनेट सेवामा रोक लगाइएको छ। विरोध प्रदर्शनको डरले विद्यालयहरु बन्द छन् भने विद्यार्थी पनि सैनिकहरुमाथि ढुंगामुढामा उत्रिएका छन्।

गतवर्ष कश्मीरको उडीमा रहेको सैनिक क्याम्पमा हमला भएको थियो। जसमा १९ भारतीय सैनिकको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.