|

ताप्लेजुङ : मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्। जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन्। अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उनी विगतका दिन सम्झिरहन्छिन्।

‘खानेकुरा लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौं‚’ उनले भनिन्‚ ‘तर अहिले घरघरमै आइपुग्दा अचम्म लागेको छ।’

विगतमा दुई दिन पैदल हिँडेर माइती गएकी फक्ताङलुङ गाउँपालिका–६ फेम्बूकी बेलिता लिम्बूलाई सोमबार बिहान आफ्नो माइतीमा आमा सिकिस्त बिरामी भएको खबर भयो। उनी आफ्नो जन्म दिने आमालाई भेट्न सोमबार बिहानै घर नजिकैबाट गाडी चढिन्। १० घण्टा गाडीमा यात्रा गरेपछि उनी माइतीघरमा आमालाई भेट्न सिरिजंगा गाउँपालिका–६ मामाङ्खे पुगिन्। उनले भनिन्‚ ‘पहिले त ठूलो जंगल र पहाड पार गर्दै जानुपर्ने भएकाले बाटामा खाजा, खाना पहिले नै तयार गरेर आफैँले बोकेर ४७ घण्टा पैदल हिँडेपछि माइती पुगिन्थ्यो।’

दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुई पटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङ्लुङ गाउँपालिका–६ का दावा शेर्पा आजभोलि किनमेलका लागि सदरमुकाम पुग्न छाडिसके। अहिले उनकै घरआँगनमा सडक पुगेको छ। दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पुर्‍याइदिन्छ।

गत वर्षसम्म गाडी चढ्न र दैनिक आवश्यकताका सामग्री लिन सिरिजंगा गाउँपालिका–६ मामाङ्खे गाउँका मानिस खाम्देम्बेसम्म एकदिनसम्म पैदल हिँडेर पुग्नुपर्थ्यो। गत सातादेखि मामाङ्खे गाउँमा सडक पुगेको छ। लामो समयपछि मामाङ्खे गाउँमा सडक पुग्दा गाउँबासी खुशी भएको सिरिजंगा–६ का वडाध्यक्ष सुखराज लिम्बूले बताए। सिनाम–सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंगासम्म सडक पुर्‍याउने प्रदेश १ सरकारले परिकल्पना गरेको छ। त्यसैले सिनाम–सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक हुँदै नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंगा सडकखण्डका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड दश लाख रूपैयाँ बजेट विनियोजन गरेको र काम भइरहेको वडाध्यक्ष सुखराजले बताए।

गत साता सिरिजंगा–६ मामाङ्खे गाउँ सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङका सबै वडामा सडक पुगेको छ। साठी वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो। गत साता मात्र सिरिजंगा–६ वडाको सिमानामा सडक प्रवेश गरेपछि जिल्लाका सबै वडामा सडक पुगेको हो। यसरी तीन तहका सरकारका सक्रियतामा दुर्गम र सहरी क्षेत्र सडक सञ्जालले जोडिँदै गएका छन्। ताप्लेजुङका गाउँगाउँ सडक सञ्जालमा जोडिएसँगै विस्तारै सुगममा रुपान्तरण हुँदै गएका छन्। मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको आगामी असारमा पाँचवर्षे कार्यकाल सकिँदै छ।

ताप्लेजुङका नौ स्थानीय तहमा कुल ६१ वडा छन्। अहिले सबै वडा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ। मिक्वाखोला–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको छ। मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको बताए।

स्थानीय तहले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिकता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो। जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दिनचर्यामा सहजता आएको छ। जिल्लाका सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा गाडीका लागि टिकट काउन्टर खुलेको छ। सदरमुकामदेखि विभिन्न गाउँगाउँमा दैनिक सार्वजनिक ट्याक्सी लाग्ने गरेको छ। कच्ची र साँगुरो बाटो भएकाले ठूलो सीटका बस भने जान सकिरहेका छैनन्।

आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ। मेरिङ्देन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड–दमक– विराटनगर बस सेवा सञ्चालन भइरहेको छ। सिरिजंगा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड–दमक–विराटनगर बस सेवा सञ्चालन भइरहेको छ। सिदिङ्वा गाउँपालिका केन्द्रदेखि पनि अन्य जिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले जिल्लामा १७६ योजना छनोटमा पारेकामा २० सडक आयोजना थिए। प्रदेशकै गौरवको आयोजनाअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि पाथीभरा याङ्वरक र सिरिजंगा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको आधार शिविरसम्म पुग्ने पर्यटकीय सडक आयोजना निर्माण भइरहेको छ। सो सडक आहिले सिरिजंगा–६ मामाखे गाउँमा निर्माणाधीन छ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङ्लुङ– ७ ओलाङ्चुङ्गोला मित्र राष्ट्र चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ। ओलाङ्चुङ्गोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ। उता सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडक चीनसँग जोडिन २ किमी मात्र बाँकी रहेको उत्तर–दक्षिण राजमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी माधव पौडेलले बताए।

राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर अहिले चीनको सीमावर्ती क्षेत्रमा प्रवेश गरेको छ। चीन र भारतलाई जोड्ने कोरिडोरअन्तर्गत नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङ्चुङ्गोला क्षेत्रमा काम भइरहेको छ। कोरिडोरको अन्तिम साधारण मार्ग खोल्ने काम भइरहेको छ। आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए। तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोरले जोडिने छ।

चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङ्चुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किमी लम्बाइ ट्रयाक चीनको निर्माण कम्पनीले दुई वर्षअगाडि नै खोलिसकेको छ। सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर हुँदै ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङ्चुङ्गोलाका सुकेपानी र मगावाबीचमा अहिले काम भइरहेको छ। अहिले काम भइरहेको ठाउँदेखि गैरीपाटी पुग्न दुई किमी रहेको आयोजनाका सूचना अधिकारी पौडेलले बताए।

कोरिडोरले भारतको जोगबनीदेखि प्रदेशको राजधानी विराटनगर हुँदै भारत र चीनसँग प्रत्यक्ष सडक सञ्चालनले जोड्ने सूचना अधिकारी पौडेलले बताए। चतारादेखि ओलाङ्चुङ्गोलासम्ममा २३० किमी पर्छ। ओलाङ्चुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किमी पर्छ। तमोर कोरिडोरको जम्मा २५४ किमी पर्छ। यसमा २५४ किमीमा चोतारादेखि टिप्पताला नाकासम्म पर्छ। प्रदेश १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किमीमा चतरा पर्छ। तीन सय १४ किमीले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ।

ओलाङ्चुङगोला हुँदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ। धनकुटाको मूलघाटबाट खन्न शुरु गरिएको सो सडकको अहिले ताप्लेजुङ हुँदै नेपाल ¬चीन सिमाना ओलाङ्चुङ्गोलासम्ममा काम भइरहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए।

तीन ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट तमोर कोरिडोर निर्माण अघि बढाइएको थियो। सबै ब्लकमा पहिलो काम ट्रयाक खुलाइएको थियो। अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङ्गोलाको सुकेपानीदेखि गैरीपाटीसम्मको दुई किमी काम मात्र बाँकी रहेको पौडेलले बताए। करिब १८० किमी लम्बाइको सो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट–माझीटार –ताप्लेजुङ छिचोलेर ओलाङ्चुङ्गोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ। सो सडकखण्डमा विभिन्न आकारका १० पुल निर्माण हुने क्रममा रहेको आयोजनाले जनाएको छ।

२०६५ सालमा तमोर कोरिडोर निर्माण शुरु भएको थियो। त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो। ‍२०६७ सालमा सो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषणा गरी निर्माण अघि बढाइएको छ। भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ। सो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ। सो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ।

तमोर कोरिडोरले प्रदेश १ को समृद्धिको ढोका खोल्ने सञ्चारकर्मी वसन्त लिम्बूले बताए। अहिले पाँचथरको जोरसालदेखि धनकुटाको मूलघाट हुँदै प्रदेशको पर्यटकीय क्षेत्र भेडेटार, धरान, प्रदेश राजधानी विराटनगर हुँदै नेपाल र भारतको नाका जोगबनीसम्म दैनिक यातायात सञ्चालन हुँदै आएको छ। रमणीय दृश्यावलोकन गर्नका साथै छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा तमोर कोरिडोर पर्दै गएको लिम्बूले बताए।

पाँचथरको माझीटारदेखि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—३ थिबा खोलासम्म ६० किमी ग्राभेलका लागि ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ। ग्राभेल हुनेबित्तिकै ताप्लेजुङका समुदायलाई राहत मिल्ने छ। साथै ताप्लेजुङ जिल्लाको पर्यटन विकास र प्रवर्द्धनमा फड्को मार्ने ताप्लेजुङ जिल्लाबासीले विश्वास लिएका छन्।

विगतका दिनमा यातायात नहुँदा जनतालाई विशेषतः बिरामी हुँदा समयमै अस्पतालसम्म पुर्‍याउन समस्या झेल्नु थियो। गाउँमा सडक नपुग्दा डोकामा बोकी दुई/चार दिन पैदल हिँडेर अस्पतालसम्म पुग्नुपर्ने समस्या थियो। समयमै अस्पताल पुर्‍याउन नस्कदा गाउँबासी धेरैले ज्यानसमेत गुमाउने परेको फुङ्लिङ नगरपालिका– ११ का टेकबहादुर विष्टले बताए। विगतमा आवश्यक खाद्य सामग्री ढुवानी गर्न धेरै समस्या थियो। अहिले भन विस्तारै गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै सहजता भएको विष्टले बताए। गाउँगाउँमा सडक पुगेसँगै आठ स्थानीय तहले आफ्नो गाउँपालिकाभित्रका समुदायलाई एम्बुलेन्स सेवासमेत दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.