|

हेलम्बु : हेलम्बुको चनौटेमा रहेको पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले चनौटेमा निर्माण भएको बेलिब्रिजको पुल आज उद्घाटन गरेका हुन्।

गत असार १ को बाढीले सामान्य क्षति पुर्‍याएको पुल साउन १६ र १७ को  बाढीले बगाएको थियो। हेलम्बु गाउँपालिका २ र ७ जोड्ने उक्त पुल नेपाली सेनाले बनाएको हो।

पुल बगाएपछि हेलम्बु गाउँपालिका राष्ट्रिय राजमार्गबाट सम्बन्ध विच्छेद भएको थियो भने गाउँपालिकाकै केही वडा र मेलम्ची नगरपालिकाको केही वडा समेत पालिका केन्द्रबाट सडक सम्पर्कविहीन भएका थिए।

मेलम्ची बाढीका कारण पुल र सडकमा क्षति पुग्दा राष्ट्रिय गौरवको योजना मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्न समेत सकिएको थिएन। बाढीले क्षति पुर्‍याएपछि आयोजना पुनर्निर्माण समेत हुन सकेको छैन।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भीरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो।

करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ। ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन रहेको छ।

बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेहोर्दै आएका स्थानीय बासिन्दालाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि जान सजिलो भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.