|

अछाम : मेल्लेख गाउँपालिकाले अस्पताल भवन निर्माणका लागि आह्वान गरेकाे बाेलपत्र संशाेधन गरेकाे छ।

१५ शैयाकाे अस्पताल भवन निर्माणकाे ठेक्का सेटिङमा पार्न बोलपत्र आह्वान गरेको आरोप लागेपछि मेल्लेख गाउँपालिकाले साेमबार विद्युतीय बाेलपत्र संशाेधन गरेकाे हाे। 

मेल्लेख र रामाराेशन गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अनावश्यक शर्त राखेर बोलपत्र आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका थिए। त्यसबारे थाहाखबरले समाचार प्रकाशित गरेकाे थियाे।

कमिशन लिएर सीमित कम्पनीलाई ठेक्का पर्ने गरी बोलपत्र आह्वान गरेको भन्दै निर्माण व्यवसायीहरूले बोलपत्र सच्याउन मागसमेत गरेका थिए। दुवै गाउँपालिका अध्यक्षहरूले निर्माण व्यवसायी संघ अछाम र सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले बोलपत्र संशोधनको माग गर्दै सम्बन्धित पालिकाको ध्यानाकर्षणसमेत गराए थिए।

मेल्लेखले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने, मेडिकल ग्याँससहितको अस्पतालको आरसिसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेस गर्न सक्ने शर्त राखेको थियाे।

संशाेधनकाे सूचना

यस्तै एन्टी व्याक्टेरियल पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेस गर्न सक्ने शर्त पनि राखिएको थियाे। ती शर्त हटाएर एक हप्ताकाे समयावधि थपेर बाेलपत्र संशाेधन गरिएकाे मेल्लेख गाउँपालिकाका इन्जिनियर खडक धामीले बताए।

उनले प्रि बिडिङ बैठकमा निर्माण व्यवसायीले गरेकाे मागअनुसार बाेलपत्र संशाेधन गरिएकाे जानकारी दिए। 'राम्रो र गुणस्तरीय काम हाेस् भन्ने उद्देश्यले बाेलपत्रमा थप बुँदाहरू राखिएकाे हाे' धामीले भने,'अनुभवी र दक्ष व्यवसायीले ठेक्का पाउँदा काम गर्न सहज हुने तथा कार्यालयले खोजेको गुणस्तर प्राप्त गर्न सकिने भएकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्थाअनुसार प्राविधिक योग्यता मापदण्ड तोकिएको हाे।'

पुष २२ गते प्रकाशित गरिएकाे बाेलपत्रकाे अवधि फागुन १ गतेसम्मलाई थपिएकाे छ। रामाराेशनले भने यसबारेमा हालसम्म कुनै नयाँ निर्णय गरेकाे छैन। रामाराेशनले एक महिनाकाे अवधि राखेर बाेलपत्र आह्वान गरेकाे पुस ३० गते हाे।  

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.